भारत र वेस्ट इन्डिज सुपर एटमा

न्युयोर्क । आइसिसी टी–२० विश्वकप समूह ‘सी’को वेस्ट इन्डिज ‘सुपर ८’ मा प्रवेश गरेको छ । बिहीबार बिहानको खेलमा न्युजिल्यान्डविरुद्धको खेलमा १३ रनको सानदार जित निकाल्दै वेस्ट इन्डिज ‘सुपर ८’ मा पुगेको हो । अर्को खेलमा अमेरिकालाई हराउँदै भारत पनि सुपर एटमा प्रवेश गरेको छ ।

वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३६ रनमा समेटियो । सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । न्युजिल्यान्डलाई सस्तैमा समेट्न वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १९ रन खर्चिए । गुडाकेश मोतीले ३ विकेट लिए भने आन्द्रे रसेल र अकेल होसेनले १–१ विकेट हात पारे ।

टस जितेर न्युजिल्यान्डले फिल्ड रोजेपछि वेस्ट इन्डिजले सुरुमा ब्याटिङ गरेको थियो । वेस्ट इन्डिजका सुरुआती कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेका थिएनन् । वेस्ट इन्डिजका लागि छैटौँ क्रममा आएका शेर्फेन रदरफोर्डले १९ र २०औँ ओभरमा विष्फोटक ब्याटिङ गर्दै सानदार अर्धशतक बनाएका थिए । उनले १९औँ ओभरमा ३ छक्का प्रहार गरे भने अन्तिम ओभरमा २ चौका र १ छक्का प्रहार गरे । ३९ बलको सामना गरेका उनले २ चौका र ६ छक्काको मद्दमा नटआउट सर्वाधिक ६८ रन बनाए ।

वेस्ट इन्डिजका लागि ओपनर जोनसन चाल्र्स शून्यमा आउट हुँदा ब्रान्डन राजाले १२ बलको सामना गर्दै ९ रन जोडे । तेस्रो क्रमका ब्याट्सम्यान निकोलस पुरनले ४ चौकाको मद्दतमा १२ बल खेल्दै १७ रन जोडे भने चौथो क्रममा आएका रोस्टन चेस शून्यमा आउट भए । कप्तान रोभम्यान पावेल ५ बलको सामना गर्दै १ रन बनाएर आउट हुँदा अकेल होसेनले १७ बलको सामना गरेर १५ रन जोडे भने आन्द्रे रसेल ७ बलमा १४ रन बनाएर आउट भए । रोमारियो सेफर्डले १३ बलमा १३ रन जोडे । अल्जारी जोसेफ ६ रन थपे ।

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले ४ ओभर बलिङ गर्दै मात्र १६ रन खर्चिएर ३ विकेट लिएका थिए । टिम साउथी र लकी फर्ग्युसनले समान २–२ विकेट हात पारेका थिए भने जेम्स निशम, मिचेल सेन्टनरले समान १–१ विकेट लिएका थिए । १५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ४० रन बनाए । उनले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । फिन एलनले २६ रन जोडे । मिचेल सेन्टनरले नटआउट ३ छक्काको मद्दतमा २१ रन जोडे । न्युजिल्यान्डका लागि अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।

समूह ‘सी’ ३ खेलमा लगातार विजयी हुँदै ६ अंकसहित वेस्ट इन्डिज सुपर ८ मा प्रवेश गरेको हो । तालिकाको दोस्रो स्थानमा रहेको अफगानिस्तानले ४ अंक जोडेको छ । न्युजिल्यान्ड भने दोस्रो खेलमासमेत जितविहीन बनेको छ । सो समूहमा ३ खेल खेलेको युगान्डाले २ अंक जोडेको छ । पपुवान्युगिनी भने अंकविहीन छ । यसैगरी, अमेरिकालाई ७ विकेटले हराउँदै भारत ‘सुपर ८’मा प्रवेश गरेको हो । बुधबार राति न्युयोर्कमा भएको खेलमा अमेरिकाले दिएको १११ रनको लक्ष्य भारतले १८ दशमलव ४ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेट्टाएको हो । १११ रनको लक्ष्य पछ्याएको भारतका कप्तान रोहित शर्मा ६ बलमा ३ रन र विराट कोहली शून्य रनमा आउट भए पनि सूर्यकुमार यादव र शिवम दुबेले सम्हालिएर प्रदर्शन गरे ।
अमेरिकाविरुद्ध यादवले अर्धशतक बनाए । उनले ४९ बलको सामना गर्दै २ चौका र २ छक्काको मद्दतमा नटआउट ५० रन बनाएका हुन् । दुवेले ३५ बलको सामना गर्दै १–१ चौका र छक्काको मद्दतमा नटआउट ३१ रन बनाए । ऋषभ पन्त भने १८ रन बनाएर आउट भएका थिए ।

अमेरिकाका लागि सौरभ नेत्रवालकरले २ विकेट हात पारे भने अली खानले १ विकेट लिए । यसअघि अमेरिकी सहर न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो ।
अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाए । स्टिभन टेलर्सले २४ रन तथा कोरी एन्डरसनले १५ रन बनाए ।

भारतका लागि अर्शदीप सिंहले ४ विकेट लिएका थिए । ४ ओभर बलिङ गरेका उनले मात्र ९ रन खर्चिएर ४ विकेट हात पारेका हुन् । उनको बलिङले अमेरिकी ब्याटिङ लाइन कमजोर बनेको थियो । हार्दिक पाण्डेले २ विकेट र अक्षर पटेलले १ विकेट हात पारे । जितसँगै भारत विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ । समूह ‘ए’को शीर्ष स्थानमा रहेको भारतले १ खेल अगाडि लगातार ३ खेल जित्दै सुपर ८ मा स्थान बनाएको हो । यो समूहको दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाले ३ खेलमा ४ अंक जोडेको छ । पाकिस्तान र क्यानडाले समान २ अंक जोडेका छन् भने आयरल्यान्ड अकंविहीन छ ।
जारी विश्वकपमा दक्षिण अफ्रिका र अस्ट्रेलिया यसअघि नै विश्वकपको सुपर ८ मा प्रवेश गरिसकेका छन् । विश्वकपमा ४ समूहका शीर्ष २ टिमले सुपर ८ मा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया