केपटाउन । आइसिसी टी–२० विश्वकपमा समूह ‘बी’को अस्ट्रेलिया र समूह ‘डी’को दक्षिण अफ्रिका ‘सुपर–८’मा प्रवेश गरेका छन् । समूह ‘डी’मा नेपाल र श्रीलंकाको खेल वर्षाले अवरुद्ध हुँदा अंक बाँडिएपछि दक्षिण अफ्रिका १ खेल अगाडि नै ‘सुपर–८’ मा पुगेको थियो । दक्षिण अफ्रिकाले ३ खेलमा जित निकाल्दै ६ अंक जोडेको छ ।
नेपाल र श्रीलंका बीचको खेल वर्षाले अवरुद्ध भएपछि दुवै टोलीको १ अंक भएको छ । भर्खरै सकिएको नामिबियासँगको खेलमा सानदार ९ विकेटको जित निकाल्दै अस्ट्रेलिया ‘सुपर–८’ पुग्ने दोस्रो टिम बनेको हो । समूह ‘बी’ अन्तर्गत बुधबार बिहान भएको खेलमा अस्ट्रेलियाविरुद्ध सुरुमा ब्याटिङ गरेको नामिबिया ७२ रनमा समेटिएको थियो । ७३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले छैटौँ ओभर खेल्दै ८६ बल बाँकी हुँदा १ विकेट गुमाएर ७४ रन बनाएको हो ।
अस्ट्रेलियाका लागि ओपनर ट्रेभिस हेडले नटआउट सर्वाधिक ३४ रन बनाए । १७ बलको सामना गरेका उनले ५ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर डेबिड वार्नरले मात्र ७ बल खेल्दै २० रन बनाए । उनले ३ चौका र १ छक्का प्रहार गरे । तेस्रो क्रममा आएका कप्तान मिचेल मार्शले ९ बलको सामना गर्दै ३ चौका र १ छक्काको मद्दतमा नटआउट १८ रन जोडे । अस्ट्रेलियासँग नामिबिया ९ विकेटले पराजित भएको खेलमा उसका लागि १ विकेट डेभिड विसेले लिए ।
बुधबार बिहान भएको खेलमा टस जितेर सुरुमा फिल्ड रोजेको अस्ट्रेलियालाई नामिबियाले ७३ रनको चुनौती दिएको थियो । नामिबियाका लागि कप्तान गेहार्ड इरास्मसले सर्वाधिक ३६ रन बनाएका थिए । ४३ बलको सामना गरेका उनले ४ चौका र १ छक्का प्रहार गरेका हुन् । माइकल भ्यान लिंगेनले १० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । नामिबियाले १७ ओभर ब्याटिङ गर्दै सबै विकेट गुमाएको हो ।
नामिबियालाई सस्तैमा समेट्न अस्ट्रेलियाका लागि एडम जाम्पा एक्लैले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले मात्र १२ रन खर्चिए । उसका लागि जोश हेजलवुड र मार्कस स्टोइनिस २–२ विकेट हात पार्दा प्याट कमिन्स र नाथन एलिसले १–१ विकेट लिए ।
समूह ‘बी’मा ३ खेलमा लगातार विजयी हुँदै अस्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको छ । समान खेल खेलेको स्कटल्यान्ड ५ अंकसहित दोस्रो स्थानमा छ ।
नामिबिया २ अंकसहित तेस्रो स्थानमा छ । यो समूहमा २ खेल खेलेको इंग्ल्यान्डले १ अंक जोडेको छ भने ३ खेल खेलेको ओमान अंकविहीन छ ।
प्रतिक्रिया