नेपाल अब असार १ गते दक्षिण अफ्रिका र ३ गते बंगलादेशसँग वेस्ट इन्डिजमा खेल्ने

आइसिसी टि–२० विश्वकप क्रिकेट

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले अब समूह ‘डी’ चरणका बाँकी दुई खेल वेस्ट इन्डिजमा खेल्ने छ ।

अब नेपाल आफ्नो तेस्रो खेल आगामी असार १ गते अर्थात् १५ जुनमा बलियो टेस्ट राष्ट्र मान्यता प्राप्त दक्षिण अफ्रिकासँग खेल्नेछ भने चौथो तथा समूह चरणको अन्तिम खेल असार ३ गते तथा १७ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ । नेपालले अब खेल्ने दुवै खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेबाट सुरु हुनेछ ।

समूह ‘डी’ मा नेपाल, नेदरल्याण्डस्, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । विभिन्न २० देश सहभागी भएको यस टी–२० विश्वकपमा चार समूह बनाइएको छ भने प्रत्यक समूहमा पाँच–पाँच राष्ट्र आबद्ध छन् । प्रत्यक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउन पाउने आइसिसीले प्रावधान बनाएको छ ।

नेपालले आफ्नो ‘डी’ समूहमा रहेका दुई खेलमध्य पहिलो खेल अमेरिकामा नेदरल्याण्डसँग यही जेठ २२ गते अर्थात् ४ जुनमा खेलेको थियो भने उक्त खेलमा नेपाल ६ विकेटले हारेको थियो । त्यसपछि आज (१२ जुन) जेठ ३० गते नेपालको दोस्रो खेल श्रीलंकासँग हुने भनिए पनि वर्षाका कारण रद्द भएको छ ।

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा आज बिहान सवा पाँच बजेदेखि सुरु हुने भनिए पनि निरन्तर वर्षा भएपछि खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले समान एक–एक अंक बाँडेका छन् ।

विश्वकपमा नेपालले दुई खेलमा एक अंक जोडेको छ भने तीन खेलबाट श्रीलंकाको पनि समान एक अंक नै छ । नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ । विश्वकपको समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिका तीन खेलमा ६ अंकका साथ सुपर आठमा प्रवेश गरिसकेको छ । बंगलादेश र नेदरल्यान्ड्सको समान दुई खेलबाट समान दुई–दुई अंक नै छ ।

प्रतिक्रिया