काठमाडौं । आइसिसी पुरुष टी– २० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफनो दोस्रो खेलमा नेपालले भोलि (बुधबार) टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकासँग खेल्दैछ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा हुने उक्त खेल नेपाली समयअनुसार भोलि बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ ।
सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलंका पहिलो पटक आमनेसामने हुन लागेका हुन । त्यसो त उमेर समूहमा भने यी दुई टोलीबीच पटक–पटक भेट भएको थियो । नेपालले टेष्ट राष्ट्र श्रीलंकालाई हराउँदै आफ्नो विश्वकप यात्रालाई अगाडि बनाउने कोसिसमा रहनेछ ।
त्यसैगरी लगातार दुई खेलमा पराजित श्रीलंकाले पनि नेपाललाई हराउँदै विश्वकपको अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवितै बनाउन चाहन्छ । नेपाललाई विश्वकपको सुपर आठमा प्रवेश गर्नका लागि पनि बाँकी खेल जित्नुपर्ने दबाब छ । विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ ।
नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । यता श्रीलंका दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले श्रीलंकाविरुद्धको खेल नेपालका लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताएका छन् ।
उनले विश्वकप क्रिकेट प्रतियोगितामा एशोसिएट राष्ट्रले पनि टेस्ट राष्ट्रलाई पराजित गरेको इतिहास रहेको भन्दै आफ्नो टोलीले उच्च मनोबलका साथ श्रीलंका विरुद्धको खेलमा जित निकाल्ने विश्वास व्यक्त गरे । विश्वकप अघि नेपालले फ्लोरिडामै क्यानडाविरुद्ध एक अभ्यास खेल खेलेको थियो । जसमा नेपाल क्यानडासँग पराजित भएको थियो ।
फ्लोरिडामै श्रीलंकाले भने दुई अभ्यास खेल खेलेको थियो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग हारेको श्रीलंकाले दोस्रो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो । विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो ।
यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो । घरेलु मैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (यूएई) लाई सेमिफाइनलमा पराजित गर्दै दोस्रो पटक विश्वकपमा स्थान पक्का गरेको थियो ।– रासस
प्रतिक्रिया