भारत र स्कटल्यान्डको उत्कृष्ट प्रदर्शन जारी

न्युयोर्क । आइसिसी टी–२० विश्वकपमा स्कटल्यान्डको सानदार प्रदर्शन जारी छ । समूह ‘बी’को खेलमा स्कटल्यान्डले ओमानविरुद्ध सानदार जित हात पारेकोे छ । सुरुमा ब्याटिङ गरेको ओमानले दिएको १५१ रनको लक्ष्य स्कटल्यान्डले १३ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टाएको हो ।

स्कटल्यान्डका लागि ब्रान्डन एमसिमलिनले नटआउट अर्धशतक बनाए । उनले ३१ बलको सामना गर्दै ९ चौका र २ छक्काको मद्दतमा ६१ रन बनाए । जर्ज मुन्सेले २० बलमा ४ छक्का र २ चौकाको मद्दतमा ४१ रन बनाए । माइकल जोन्सले १६ रन जोड्दा कप्तान रिची बेरिंगटनले नटआउट १३ रन जोडे ।

स्कटल्यान्डविरुद्ध कमजोर बलिङ गरेको ओमानका लागि विलाल खान, मेहरान खान र अकिब इलियासले समान १–१ विकेट हात पारे ।

सुरुमा ब्याटिङ गरेको ओमानका लागि प्रतिक ८ बलले अर्धशतक प्रहार गरेका थिए । ४० बलको सामना गरेका उनले ५ चौका र २ छक्काको मद्दतमा ५४ रन बनाए । त्यस्तै आयन खानले ४१, अकिब इलियास १६, मेहरान खानले १३ रनको योगदान दिए ।

स्कटल्यान्डका सफायान सरिफले २ विकेट लिए । मार्क वाट, ब्राड व्हिल, क्रिस सोल, क्रिस ग्रिब्सले १–१ विकेट लिएका थिए ।

जारी विश्वकपमा ओमानले आफ्ना ३ वटा खेलमा हार बेहोरेको छ । ओमान यसअघि नामिबिया र अस्ट्रेलियासँग पराजित भएको थियो । स्कटल्यान्डले ३ खेलमा ५ अंक जोडेको छ । नामिबियालाई सहजै हराएको स्कटल्यान्डले इंग्ल्यान्डसँगको पहिलो खेलमा इंग्ल्यान्डको विरुद्धमा १० ओभरमा बिनाकुनै विकेटको क्षति ९० रन जोडेपछि वर्षाले खेल अवरुद्ध भएको थियो ।

एउटा खेलमा नामिबियालाई पराजित गरेको स्कटल्यान्डले इंग्ल्यान्डसँगको खेलमा अंक बाँडेको थियो । यो जितसँगै स्कटल्यान्ड ५ अंकसहित समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ । २ खेल खेलेको अस्ट्रेलिया दोस्रो स्थानमा छ भने नामिबिया र इंग्ल्यान्ड तेस्रो र चौथो स्थानमा छन् । प्रतियोगितामा ३ खेल गुमाएको ओमान अन्तिममा छ । यो समूहमा ओमानको अघिल्लो चरण प्रवेशको सम्भावना सकिएको छ ।
आइसिसी टी–२० विश्वकपमा भारतले पनि लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा पाकिस्तानलाई ६ रनले हराउँदै भारतले दोस्रो जित निकालेको हो । भारतले दिएको १२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११३ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । ४४ बलको सामना गरेका उनले १ चौका र १ छक्का प्रहार गरे । त्यस्तै बाबर आजम, फकर जमान, उसवान खानले समान १३ रन बनाए । सादव खान ४ रनमा आउट हुँदा इफ्तिखार अहमदले ५ रन मात्र बनाउन सके ।
भारतका लागि जसप्रित बुमराहले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १४ रन खर्चिए । त्यस्तै हार्दिक पाण्डेले २ विकेट लिँदा अक्षर पटेलले १ विकेट लिए । त्यसअघि न्युयोर्कको नसाउ इन्टरनेसनल क्रिकेट स्टेडियम टस हारेर ब्याटिङको निम्तो पाएको भारतले १९ ओभरमा अलआउट हुँदै ११९ रन बनाएका थियो ।

भारतका लागि विकेट किपर ब्याट्सम्यान ऋषव पन्तले सर्वाधिक ४२ रन बनाए । ३१ बलको सामना गरेका पन्तले ७ चौका प्रहार गरेका थिए । त्यस्तै ओपनिङमा उत्रिएका दुवै स्टार क्रिकेटर रोहित शर्मा र विराट कोहलीको ब्याटिङ भने चल्न सकेन । कोहली केबल ४ रनमा आउट हुँदा रोहितले पनि १३ रन मात्रै जोड्न सके । अक्षर पटेल १८ बलमा २ चौका र १ छक्कासहित २० रन बनाएर आउट भए । त्यस्तै सूर्यकुमार यादव ७, शिवम दुवे ३, र रविन्द्र जडेजा शून्य रनमा आउट भए ।

पाकिस्तानका लागि नसिम शाह र हरिस रउफ दुवैले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका शाहले २१ रन खर्चिएका थिए । त्यस्तै मोहम्मद अमिरको नाममा २ विकेट रहँदा साहीनशाह अफ्रिदिले १ विकेट लिए ।

जितसँगै भारत समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । लगातार २ खेल हारेको पाकिस्तान चौथो स्थानमा छ । यो समूहको दोस्रो स्थानमा अमेरिका, तेस्रो क्यानडा र पाँचौँमा आयरल्यान्ड छन् । हारसँगै पाकिस्तानको सुपर ८ मा पुग्ने सम्भावना कमजोर भएको छ । बाँकी २ खेल नै जिते पनि पाकिस्तानलाई अर्को चरणमा पुग्न अन्य टोलीको प्रदर्शनमा निर्भर हुनुपर्नेछ ।

प्रतिक्रिया