जनकपुरधाम । जनमत पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री वसन्त कुशवाहाले मधेस प्रदेशमा मुख्यमन्त्रीको चयन सम्बन्धमा कुनै पनि राजनीतिक चलखेल नगरिएको बताएका छन् ।
उनले सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले महेश यादवको सट्टा राजनीतिकरण गरी सतिस सिंहलाई मुख्यमन्त्रीमा अगाडि सारिएको भनी विभिन्न सञ्चारमाधयममा आएको समाचार भ्रमपूर्ण रहेको बताउँदै मुख्यमन्त्रीसम्बन्धी निर्णय जेठ २४ गते बिहीबार बिहान ९ बजे गरेको दाबी गर्दै त्यसअघि आएका मुख्यमन्त्रीबारेका समाचार र प्रचारबाजी केवल आँकलन, सम्भावना वा अनुमान मात्र रहेको प्रस्ट्याए ।
मधेस प्रदेशमा नयाँ गठबन्धन सरकारका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेपछि जनमत पार्टीले बिहीबार पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंहलाई अघि सारेको थियो ।
पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने अपेक्षा गरिएका बेला जनमत पार्टीको सो निर्णय अप्रत्याशित, स्तब्धकारी र द्वेषपूर्ण भएको टिप्पणी सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले गरेका थिए । केही सञ्चारमाध्यमले भने आसन्न गठबन्धन सरकारको नेतृत्व जनमत पार्टीले लिने तय भइसकेपछि नै सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय पार्टीले गरिसकेको तर त्यसलाई गोप्य राखिएको लेखेका थिए ।
पार्टी संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नबनाइएकाले पार्टीभित्र उनका पक्षधरले विद्रोह गर्नेसमेत अनुमान गरिएको थियो ।
पार्टी उपाध्यक्ष कुशवाहाले पार्टीभित्र संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतकलगायत अन्य पदाधिकारी हुनु भनेको दलको प्रशासनिक कार्य, समन्वय र पार्टीको कार्य गर्ने भएको भन्दै ती पदमा आसिन हँुदैमा मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री आदि हुने नभएको बताए । उनले संसदीय दलका नेता नै मुख्यमन्त्री हुनुपर्ने कारण नभएको बताए ।
उनले अहिलेको मुख्यमन्त्री चयन प्रकिया बिलकुल फरक तरिकाले भएको बताउँदै यसलाई अन्य मापदण्डमा तुलना गर्न नहुने जिकिर गरे । उनले भने, ‘यस सन्दर्भमा अरू पार्टीसँग तुलना गर्नु नै भ्रम सिर्जना गर्नु हो ।’
जनमत पार्टी परिणामउन्मुख पार्टी भएको दाबी गर्दै उपाध्यक्ष कुशवाहाले अरूलाई ७ वर्षसम्म हेरिसकेको अवस्थामा जनमत पार्टीलाई कमसेकम ७ महिनासम्म हेर्न आग्रह गरे । उनले पार्टीले निर्णय गर्दा पार्टीभित्रका वरीयता र पार्टीका आधार हेर्ने गरेको उल्लेख गरे । जनमत पार्टीको मधेस प्रदेशमा १३ प्रदेशसभा सदस्य छन् ।
उपाध्यक्ष कुशवाहाका अनुसार मधेस प्रदेशमा पार्टीका प्रदेशसभा सदस्यमध्ये वरीयताक्रममा वसन्त कुशवाहा (राष्ट्रिय उपाध्यक्ष), चन्दन सिंह (राष्ट्रिय महासचिव), संजय यादव, शम्भु साह (केन्द्रीय सदस्य), महेश यादव (दलका नेता, प्रदेश समिति सदस्य) र बाँकी प्रदेश समिति सदस्यहरू छन् ।
डा.सिके राउत स्वदेश फर्किए
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउत एसोसिएसन अफ नेपाली तराइयन इन अमेरिका (एन्टा)को सातौँ माहाधिवेशन भाग लिएर स्वदेश फर्किएका छन् ।
अध्यक्ष डा.राउत स्वदेश फर्किएको जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई.दीपककुमार साहले जानकारी दिए । संयुक्त राज्य अमेरिकाको राजधानी वासिंगटन डिसीमा एन्टाको सातौँ महाधिवेशनमा अध्यक्ष डा.राउत प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए ।
साथै, अमेरिकाको विभिन्न स्थानमा छुट्टाछुट्टै कार्यक्रमहरूमा पनि अध्यक्ष डा.राउत सहभागी भएका थिए । एक सप्ताहको अमेरिका भ्रमणपछि आइतबार स्वदेश फर्किएएका हुन् ।
प्रतिक्रिया