अफगानिस्तान नकआउटको बाटोमा : बंगलादेश र क्यानडा पनि विजयी

न्युयोर्क । जारी टी २० विश्वकपमा शीर्ष टोलीको हारको क्रम यथावत छ । पूर्व च्याम्पियन श्रीलंकाले पनि लगातार दोस्रो हारको सामना गरेको छ । बंगलादेशले आईसीसी टी–२० विश्वकप २०२४ मा श्रीलंकालाई २ विकेटले हराउँदै विजयी सुरुआत गरेको हो । बंगलादेशले समूह डी मा २ महत्वपूर्ण अंक जोडेको हो ।

१२५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको हो । तौव्हीद ह्दोयले २० बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४० रन बनाए । लिटन दासले ३८ बलमा २ चौका र १ छक्कासहित ३६ रन बनाए । महमुदूल्लाह रियाद १३ बलमा १ छक्कासहित १६ रनमा नट आउट रहे । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

श्रीलंकाका तीव्र गतिका बलर नुवान थुषाराले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएपनि जित दिलाउन सकेनन् । वानिन्दु हसरंगाले २, धनन्जय डि सिल्भा र मथिशा पाथिरानाले १–१ विकेट लिए । त्यसअघि डालस स्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरका ९ विकेट गुमाउँदै १२४ रन बनाएको थियो ।

ओपनर पाथुम निसांकाले २८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए । कुशल मेन्डिस १०, कामिन्दु मेन्डिस ४, धनन्जय डि सिल्भा २१, चरिथ असलंका १९ र दासुन शानकाले ३ रन बनाए । एन्जिलो म्याथ्युजले १९ बलमा १६ रन बनाए ।

बंगलादेशको जितमा लेग स्पिनर रिशाद हसनले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । मुश्ताफिजुर रहमानले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । तस्किन अहमदले २ र तान्जिम हसन सकिबले १ विकेट लिए ।समूह डी मा को श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकाले बुधबार नेपालसँग खेल्नेछ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

आइसिसी टी–२० विश्वकपमा अफगानिस्तानले पनि लगातार लगातार दोस्रो जित हात पारेको छ । शनिबार बिहान भएको खेलमा अफगानिस्तानले न्युजिल्यान्डमाथि ८४ रनको शानदार जित हात पारेको हो । पहिलो खेलमा अफगानिस्तानले युगान्डामाथि १२५ रनको जित निकालेको थियो ।

न्युजिल्याण्डले टस जितेर सुरुमा फिल्ड रोजेपछि अफगानिस्तानले सुरुमा ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । १६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ७५ रनमा समेटिएको हो ।

न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक १८ रन बनाए । म्याट हेनरी १२ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

न्युजिल्यान्डलाई सस्तैमा समेट्न अफगानिस्तानका कप्तान राशिद खान र फजलहक फारुकीले समान ४–४ विकेट लिए । ४ ओभर बलिङ गरेका खानले १७ रन खर्चिए भने फारुकीले ३.२ ओभर बलिङ गर्दै १७ रन खर्चिएर ४ विकेट लिएका हुन् । उसका लागि मोहम्मद नाबीले थप दुई विकेट हात पारे ।

सुरुमा ब्याटिङ गरेको अफगानिस्तानका लागि ओपनर रहमान उल्लाह गुरबाजले शानदार अर्धशक बनाएका थिए । उनले ५६ बलको सामना गर्दै ५ छक्का र ५ चौकाको मद्दतमा सर्वाधिक ८० रन बनाएका हुन् । अर्का ओपनर इब्राहिम जाद्रानले ४१ बलको सामना गर्दै ३ चौका र २ छक्काको मद्तमा ४४ रन बनाए । पहिलो विकेटका लागि ओपनरले ८० बलमा सय रनको साझेदारी गरेका थिए ।

अफगानिस्तानका लागि तेस्रोक्रममा आएका ब्याट्सम्यान अजमातुल्लाह उमरजाईले १३ बल खेल्दै दुई छक्का र एक चौकाको मद्तमा २२ रन जोडे। कप्तान राशिद खान ५ बलमा ६ रन बनाउँदै आउट भए भने अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।

न्युजिल्यान्डका लागि टेन्ड बोल्ट र म्याट हेनरीले समान दुईदुई विकेट लिएका थिए भने लोकी फर्ग्युसनले एक विकेट हात पारेका थिए । समूह ‘सी’मा रहेको न्युजिल्याण्ड विश्वकपको पहिलो खेलमा पराजित भएको हो। अफगानिस्तानले पहिलो खेलमा युगाण्डाविरुद्ध १२५ रनको शानदार जित निकालेको थियो । दोस्रो जितसँगै अफगानिस्तान चार अंकसहित समूह ‘सी’को शीर्ष स्थानमा छ ।

सो समूहमा अफगानिस्तान, न्युजिल्याण्डसँगै वेस्ट इन्डिज, युगान्डा र पपुवा न्युगिनी (पिएनजी) छन् । दुई खेल खेलेको पिएनजीले खाता खोल्न सकेको छैन भने युगान्डाले दुई खेलमा १ जितसहित २ अंक जोडिसकेको छ । टी–२० विश्वकपमा क्यानडाले ऐतिहासिक जित निकालेको छ । शुक्रबार राति भएको समूह ‘ए’को खेलमा क्यानडाले आयरल्याण्डमाथि १२ रनको ऐतिहासिक जित निकालेको हो ।

टस जितेर सुरुमा फिल्ड रोजेको आयरल्याण्डलाई क्यानडाले १३८ रनको लक्ष्य दिएको थियो । आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२५ रन मात्र बनाउँदै क्यानडासँग १२ रनको हार खाएको हो ।

१३८ रनको लक्ष्य पछ्याएको आयरल्याण्डका लागि मार्क अडेरले सर्वाधिक ३४ रन बनाए । । २४ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे । उसका लागि जर्ज डकरेलले ३० रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । आयरल्याण्डलाई सस्तैमा समेट्न क्यानडाका लागि जेरेमी गोर्डन र डिलोन हाइलिगरले समान २÷२ विकेट हात पारे भने जुनेद सिद्धकी र साद बिन जाफरले एकएक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाका लागि निकोलस किर्टोन अर्धशतक बनाउन १ रनले चुके । सर्वाधिक ४९ रन बनाउँदा ३५ बलको सामना गर्दै उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

श्रेयस मोभ्भाले ३७, प्रगत सिंह १८ रन बनाउँदा एरोन जोन्सनले १४ रन जोडेका थिए । क्यानडाविरुद्ध सुरुमा बलिङ गरेको आयरल्याण्डका लागि क्रेग यङ र ब्यारी म्याकार्थीले समान २÷२ विकेट लिएका थिए भने मार्क अडेर र गेराथ डेलानीले एकएक विकेट हात पारे ।

समूह ‘ए’मा रहेको क्यानडाले उद्घाटन खेलमा अमेरिकासँग ७ विकेटको पराजय भोगेको थियो । समूह ‘ए’मा अमेरिका दुई खेल जित्दै शीर्ष स्थानमा छ । भारत र पाकिस्तानसमेत रहेको यो समूहको जितलाई महत्त्वका साथ हेरिएको छ । भारत दुई अंकसहित दोस्रो स्थानमा छ भने यो समूहमा पाकिस्तान र आयरल्याण्डले खाता खोल्न सकेका छैनन् ।

प्रतिक्रिया