टी–२० विश्वकप : न्युजिल्यान्डलाई हराउँदै अफगानिस्तानको ऐतिहासिक जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत न्युजिल्यान्डलाई ८४ रनले हराउँदै अफगानिस्तानको ऐतिहासिक जित हात पारेको छ । आज भएको खेलमा न्युजिल्यान्डलाई अफगानिस्तानले फराकिलो रनको अन्तरले हराएको हो ।

अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमा न्युजिल्यान्डलाई कुनै पनि खेलमा पहिलो पटक हराएको हो । १६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५.२ ओभरमा ७५ रनमा अल आउट भयो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले १८ बलमा २ चौकासहित सर्वाधिक १८ रन बनाए ।

ओपनर फिन एलेन शून्य, डेभन कन्वे ८, केन विलियम्सन ९, डर्याल मिचेल ५, मार्क च्यापम्यान र मिचेल सान्टनार ४.४ रनमा आउट भए । म्याट हेनरीले १८ बलमा १२ रन बनाए । न्युजिल्यान्डका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अफगानिस्तानका कप्तान राशिद खानले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । मोहम्मद नाबीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । फजलहक फारुकीले ३.२ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए ।

त्यसअघि गायानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले ५६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रनको विजयी इनिङ खेले ।

ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले पहिलो विकेटका लागि १४.३ ओभरमा १०३ रनको शतकीय साझेदारी गरेका थिए । उक्त साझेदारी जितको आधार बन्यो ।

जद्रान ४१ बलमा ३ चौका र २ छक्कासहित ४४ तथा आजमतुल्लाह ओमरजाई १३ बलमा १ चौका र २ छक्कासहित २२ रनमा आउट भए । न्युजिल्यान्डका म्याट हेनरीले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा २२ रन खर्चेर २ र लोकी फर्गुसनले १ विकेट लिए ।

प्रतिक्रिया