सादव खानपछि नेत्रवालकरको चासो रोहित र कोहलीमा

सन् २०१० को यु–१९ विश्वकप क्रिकेटको क्वार्टर फाइनलमा भारतीय टोलीको हृदयविदारक हार सौरभ नेत्रवालकरका लागि यादगार छ । अहिले पाकिस्तानी टोलीका कप्तान बाबर आजम त्यस समयमा पनि टोलीका कप्तान थिए । तिनै आजमको उत्कृष्ट प्रदर्शनका कारण क्राइस्ट चर्चमा वर्षाले प्रभावित खेलमा पाकिस्तानले भारतलाई २ विकेटले पराजित गरेको थियो ।

१४ वर्षपछि त्यसै पाकिस्तानसँग टी–२० विश्वकपको पहिलो चरणमा नेत्रवालकरले पाकिस्तानविरुद्ध सुपर ओभरमा बलिङ गरेका थिए । त्यस सुपर ओभर बलिङमा उनले १८ रन बनाएको आफ्नो टोलीलाई जिताउने जिम्मेवारी पाएका थिए । अन्ततः उनी यसमा सफल पनि भए । फरक यत्ति थियो, १४ वर्षको अन्तरालमा उनी एउटा सामान्य विद्यार्थीबाट प्राविधिक हब अमेरिकामा परिचित सफ्टवेयर इन्जिनियर भइसकेका छन् । उनले अहिले प्रतिनिधित्व गर्ने देश पनि भारत नभएर अमेरिका भइसकेको छ ।

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पहिलो अप्रत्यासित नतिजा आउने क्रममा घरेलु टोली अमेरिकाले पाकिस्तानमाथि सुपर ओभरमा जित हात पारेको हो । समूह ‘ए’ मा लगातार दोस्रो जितका साथ अमेरिकाले सुपर–८ को सम्भावना मजबुत बनाएको छ । अमेरिकाले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक पाकिस्तानलाई हराएको हो ।

पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक पथ्र्याे । सौरभ नेत्रवालकरले १३ रन खर्चिंदै अमेरिकाको ऐतिहासिक जित पक्का गराए । सौरभले पहिलो बल इफ्तिखर अहमदलाई डट राखे । दोस्रो बलमा काउकर्नरमा चौका हाने । लगत्तै तेस्रो बल वाइड फ्याँके । अर्काे बलमा इफ्तिखर लङअनमा क्याच आउट भए । बाँकी ३ बलमा १४ रन चाहिएको थियो । त्यसपछि वाइड र लेग वाइमा चौका गयो । २ बलमा ९ रन चाहिँदा २ रन मात्रै बटुले । अन्तिम बलमा पाकिस्तानलाई जित्नका लागि ७ रन चाहिएको थियो । १ रन दिँदै अमेरिका सुपर ओभरमा विजयी भयो ।

सुपर ओभरमा मोहम्मद आमिरले १८ रन खर्चिएका थिए । आमिरले पहिलो बल आरोन जोन्सलाई चौका, दोस्रोमा २ र तेस्रोमा १ रन दिए । चौथो बल वाइड हुँदा अमेरिकाले थप अतिरिक्त लेग वाइ जोडेको थियो । पाँचौँ बलमा वाइडसहित २ रन दिए । पाँचौँ बलमा १ रन बटुले । अन्तिम बलमा वाइडसहित ३ रन खर्चिए । त्यसपछि १ रन दिएपछि अमेरिकाले १८ रन जोडेको थियो ।

१६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनाएपछि सुपर ओभरमा गएको थियो । अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ बलमा १५ रन चाहिँदा हरिस रौफले १४ रन खर्चिंदै सुपर ओभरमा पु¥याएका थिए ।

अन्तिम ओभरको सुरुआती ३ बलमा हरिस रौफले ३ रन दिएका थिए । तर, चौथो बलमा आरोन जोन्सले छक्का हानेपछि खेल थप रोचक बनेको थियो । अन्तिम बलमा जित्नलाई ५ रन चाहिँदा नितेश कुमारले चौका प्रहार गर्दै बराबर गराएका थिए ।

अमेरिकाका कप्तान मोनांक पटेलले ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । ओपनर स्टिभ टेलर १६ बलमा १ चौकासहित १२ रनमा आउट भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि मोनांक र एन्ड्रिस गौसले ४८ बलमा ६८ रनको साझेदारी गर्दै जितको आधार तय गरे ।

गौस २६ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । आरोन जोन्स २६ बलमा २ चौका र २ छक्कासहित ३६ र नितेश कुमारले १४ रन बनाए । पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले १–१ विकेट लिए ।

त्यसअघि ग्रान्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । कप्तान बाबर आजमले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४४ तथा स्पिन अलराउन्डर सादब खानले २५ बलमा १ चौका र ३ छक्कासहित ४० रन बनाए पनि जित्नलाई पर्याप्त हुन सकेन ।

एक समय ४ दशमलव ४ ओभरमा २६–३ को अवस्थामा पुगेको पाकिस्तानलाई बाबर र सादबले ७२ रनको साझेदारी गर्दै पारी सम्हालेका थिए । शाहिन शाह अफ्रिदी १६ बलमा १ चौका र २ छक्कासहित २३ रनमा नट आउट रहे । इफ्तिखर अहमद १४ बलमा ३ चौकासहित १८, हरिस रौफले ३, मोहम्मद रिजवान ९, उस्मान खान ३ र फखार जमान ११ रनमा आउट भए ।

अमेरिकाका नोस्थुस केजिंगेले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । अली खान र जसदीप सिंहको नाममा १–१ विकेट रह्यो ।

अमेरिकाले पहिलो खेलमा क्यानडालाई ७ विकेटले हराएको थियो । अमेरिकाले अब १२ जुनमा भारत र १४ जुनमा आयरल्यान्डसँग खेल्नेछ । पाकिस्तानले अब ९ जुनमा न्युयोर्कमा भारतसँग खेल्नेछ । समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, क्यानडा र आयरल्यान्ड छन् ।

आइसिसी टी–२० विश्वकपअन्तर्गत बिहीबार राति भएको खेलमा स्कटल्यान्डसँग नामिबिया ५ विकेटले पराजित भएको छ ।

टस जितेर सुरुमा ब्याटिङ गरेको नामिबियाले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १५५ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको स्कटल्यान्डले १८ दशमलव ३ ओभरमा ५ विकेटको क्षतिमा १५७ रन बनाउँदै सानदार जित निकालेको हो ।

सुरुमा ब्याटिङ गरेको नामिबियाका लागि कप्तान गिरहार्ड इरासमुसले अर्धशतकीय इनिङ खेले । ३१ बलको सामना गरेका उनले ५ चौका र २ छक्काको मद्दतमा ५२ रन बनाएका हुन् । जेन ग्रिनले २८ रन बनाउँदा निकोलास डेभिनले २० रन जोडेका थिए । अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन् ।

नामिबियालाई सस्तैमा समेट्न स्कटल्यान्डका ब्राड ह्विलले ३ विकेट हात पार्दा ब्राड करीले २ विकेट लिए । क्रिस सोल, क्रिस ग्रिब्स र माइकल लिस्कले समान १–१ विकेट हात पारे ।

१५६ रनको लक्ष्य पाएको स्कटल्यान्डले गरेको जवाफी ब्याटिङमा कप्तान रिची बेरिंगटनले नटआउट ३५ बलमा सर्वाधिक ४७ रन बनाए । माइकल लिस्क ३५, माइकल जोन्स २६, ब्रान्डन एमसीमुलिनले १९ रन जोडेका थिए ।
नामिबियाका लागि गेर्हार्ड इरास्मसले २ विकेट लिँदा बर्नार्ड इस्सोटेज, टांगेनी लुंगामेनी र रुबेन ट्रम्पलम्यानले समान १–१ विकेट हात पारे ।

यो जितसँगै २ खेल खेलेको स्कटल्यान्ड ३ अंकसहित समूह ‘बी’को शीर्ष स्थानमा छ । नामिबिया भने २ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समूह ‘बी’मा स्कटल्यान्ड, अस्ट्रेलिया, इंग्ल्यान्ड नामिबिया र ओमान छन् । चालु विश्वकपमा टेस्ट राष्ट्रलाई छाडेर एसोसिएट देश अन्तिम ८ मा पुग्ने सम्भावना बिरलै हो । यस सम्भावनामा अमेरिका केही अघि छ । अमेरिकाको हकमा यो सम्भावना जिउँदो देखिएको छ । अमेरिका अहिलेसम्म समूहमा शीर्ष स्थानमा छ । सो टोलीका भारत र आयरल्यान्डसँग खेल खेल्न बाँकी छ । भारत त बलियो टोली भई नै हाल्यो । आयरल्यान्ड पनि कमजोर भने पक्कै होइन ।

बायाँ हाते क्विक बलर नेत्रवालकरको युवराज सिंहलाई बोल्ड गरेको घटना तथा बिसिसिआई कर्पोरेट क्रिकेटमा छाएको दिन अझै सम्झना छ । उनलाई भारतको राष्ट्रिय टोलीको जर्सी भिर्ने चाहना नभएको होइन । एकातर्फ कम्प्युटर विज्ञानमा दक्ष उनी, अर्कोतर्फ भारतीय टोलीमा पर्नका लागि भएको तीव्र प्रतिस्पर्धा । यसैका बीच उनी हुइँकिए, अमेरिकातर्फ ।

महाशक्ति अमेरिकाको संसारको सबै क्षेत्रमा उस्तै प्रभाव रहनु स्वभाविक हो । यसैका बीच इन्टरनेट दुनियाँमा अमेरिकी प्रभाव बढ्दै जाँदा फेसबुक, गुगल र ट्विटर सबैमा भारतीय प्रभाव कायम रहेको समयमा नेत्रवालकर पनि सपना बुनेर अमेरिका पुगेका थिए । भारतको जर्सी लगाउने सपना पूरा नभए पनि धेरै वर्षपछि उनको विश्वकप खेल्ने सपना पूरा भएको छ ।

कुनै समय उनले युवराज सिंह, सुरेश रैना र रोबिन उथ्थपासँग घरेलु प्रतियोगितामा सहभागिता जनाएका थिए । उनले महेन्द्र सिंह धोनीको विरुद्धमा खेले । लोकेश राहुल, जयदेव उन्नाकद, मायंक अग्रवाल र हर्सल पटेल भारतीय क्रिकेटमा छाएका छन् । यी सबै उनीसँगै उमेर समूहमा भारतको राष्ट्रिय यु–१९ टोलीमा थिए ।

उनी मुम्बई इन्डियन्सको टोलीमा पनि नपुगेका होइनन् । तथापि अजित अगरकरदेखि धवन कुलकर्णीलगायत खेलाडीको छायामा परेपछि उनी पहिलो रोजाइमा पर्न असमर्थ रहेका थिए ।

सान फ्रान्सिस्कोमा छात्रवृत्ति पाएपछि त्यहाँ पुगेका उनले त्यहाँ घरेलु क्रिकेटमा प्रभाव जमाउन थालेका थिए । सन् २०१८ मा उनी लिस्ट ‘ए’ क्रिकेटमा समावेश भएका थिए । गत वर्ष उनले घरेलु क्रिकेटमा सानफ्रान्सिस्को युनिफर्म विरुद्धमा क्यालिफोर्नियाका तर्फबाट खेल्दै सानदार प्रदर्शन गरे । उनले ९ रन खर्चेर ६ विकेट लिँदा विश्व क्रिकेटमा नाम चलका स्टार म्याथ्यु वेड, मार्कस स्टोनिस र सदब खानलाई आफ्नो सिकार बनाएका थिए । सदब खानको विरुद्धमा धेरैपछि नेत्रवालकर मैदानमा देखिए र अमेरिकी टोलीलाई ऐतिहासिक सफलता पनि दिलाए । पुनः एकपटक उनी रोहित र विराट कोहलीको विरुद्धमा उत्रँदै छन् ।

प्रतिक्रिया