हैदरावाद । दक्षिण भारतका सुपरस्टार अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म हो, पुष्पा–२ । यो फिल्मलाई अगस्ट १५ मा रिलिज गर्ने मेकरहरूको योजना छ । यतिबेला हैदरावादमा फिल्मको सुटिङ चलिरहेको छ । तर, त्यहाँको मौसम अचेल राम्रो छैन । दिनहुँको वर्षाका कारण ‘पुष्पा–२’ को सुटिङ प्रभावित भइरहेको छ ।
फिल्मका नायक अल्लु अर्जुन र खलनायक फहद फासिलको दृश्यको छायांकन अब सुरु भएको छ । फिल्मका अन्य महत्वपूर्ण पात्रको सुटिङ पनि पूरै सकिएको छैन । अहिलेको पारामा फिल्मको सुटिङले अगस्ट १५ मा पूर्वनिर्धारित समयमा फिल्म रिलिज नहुने संकेत गरिरहेको छ ।
हैदराबादबाट फिल्मबारे आइरहेको पछिल्लो अपडेटले हिन्दी सिनेमाका फिल्ममेकरहरूमा बेचैनी बढाइरहेको छ । पुष्पा–२ सँग नजुधोस् भनेर यिनीहरूले आफ्नो फिल्मको रिलिज डेट हेरफेर गरेका थिए । यतिबेला पुष्पा–२ को सुटिङ सेड्युलमा उतारचढाव आइरहेको बताइएको छ ।
‘पुष्पा–२’ रिलिज हुन अब साढे २ महिना मात्रै समय बाँकी छ र फिल्मको छायांकन पूरा भइसकेको छैन । फिल्ममा मुख्य खलनायक बनेका मलयालम अभिनेता फहद फासिलले अहिले धेरै फिल्म एकैसाथ गरिरहेका छन् । यतिबेला फिल्ममा फहद र अल्लुबीच केही महत्पूर्ण दृश्य छायांकन भइरहेको छ ।
वास्तविक समस्या सुनील, राव रमेश र अनसूयालगायत अन्य कलाकारसँगको दृश्यको छायांकनमा आइरहेको बताइएको छ । जानकारीका अनुसार साउथ सिनेमाका चर्चित कलाकार सुनिल, राव रमेश र अनसूयाको सुटिङ सेड्यूल मेकरहरूले रोकिराखेका छन् ।
चलचित्रका निर्देशक सुकुमारले निर्धारित समयअनुसार छिट्टै छायांकन सक्न अल्टिमेटम दिएका छन् । फिल्मको छायांकन पूरा गर्न टिमले दिनरात काम गरे भनेचाहिँ फिल्म अगस्ट १५ मा हलमा आउन सम्भव भएको बताइएको छ । फिल्मका केही दृश्यको छायांकन दोहोर्याएर भइरहेको छ ।
यसले गर्दा पनि समस्या उत्पन्न भएको बताइएको छ । छायांकन भइसकेका केही दृश्यमा कमीकमजोरी देखिएपछि प्याच वर्क पनि भइरहेको छ । फहद फासिलले निभाएका पात्रको ठुलो हिस्साको पनि छायांकन हुन बाँकी रहेको बताइएको छ ।
प्रतिक्रिया