पाँचौँ पटकमा विश्वास गुमाए सरोजले

मधेसमा पहिलोपटक सत्ताविहीन जसपा

जनकपुरधाम । सभामुखको कुर्सीबाट छलाङ मार्दै मुख्यमन्त्रीको चिठ्ठा हात पारेका निर्वतमान मुख्यमन्त्री सरोजकुमार यादव अन्ततः मधेस सरकारबाट बिदा भएका छन् ।

बुधबार तोकिएको समयमा विश्वाशको मत लिँदा असफल हुने ठानेर नै सभामुखलाई पत्र लेख्दै बिरामी भएकाले जेठ २८ गते विश्वासको मत लिन पत्र पठाएका थिए यादवले । ५ दिनमा आफू अनुकूल समीकरण बन्ला र विश्वासको मत पाउला भन्ने आश राखेका उनलाई सभामुखले विश्वासको मत बुधबार नै लिनुपर्ने भनेपछि उनी सकसमा परेका थिए । नचाहँदा नचाहँदै विश्वासको मतको सामना गर्नु परेका उनले अन्ततः विपक्षमा ५३ मत परेपछि मुख्यमन्त्रीबाट बिदा भए ।


नेपालको संघीय संविधानपश्चात २०७४ सालमा संघीयता र संविधान कार्यान्वयनका लागि भएको आमनिर्वाचनमा राजपाबाट प्रदेश सांसदमा निर्वाचित सरोज यादव पहिलो गाँसमै सभामुख खान सफल भएका थिए । राजपाका वरिष्ठ नेता राजेन्द्र महतोको प्रिय पात्र उनलाई सभामुखमा उम्मेद्वार बनाइयो र तत्कालीन संघीय समाजवादी फोरम नेपालको समर्थनमा उनी सभामुख बने ।
२ दलले मिलेर मेधसमा प्रारम्भिक सरकार पनि बनाए । सभामुखका रूपमा यादवको कार्यकाल एकदमै सफल र सबै दलका नेताको नजरमा तारिफयोग्य रह्यो । सरल, नम्र स्वभावका यादव आफ्नै राजसी तरिकाले जिउने नेताका रूपमा परिचित व्यक्ति पनि हुन् । पहिलो कार्यकालमा सरकारमा हेरफेर भए पनि स्वभाव र सबैसँग मिल्ने समन्वयकारी व्यक्तित्वकै कारण उनले पनि सभामुख पुरै कार्यकाल चलाउन सफल भए ।

हुन त राजपा सरकार र सत्ता समीकरणबाट बाहिरिँदै यादवको पद धरापमा पर्ने चर्चा भएको थियो । तर, राजपा छोडेर उनले फोरम नै रोजे पनि उनको विकल्प कुनै दलले नसोचेकाले उनी सर्वमान्य सभामुख बन्न सफल भए भन्दा फरक नपर्ला । उनकै पहलकदमी र समन्वयमा प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने काम भयो । उनको त्यो नेतृत्वदायी भूमिकाको खुबै प्रशंसा पनि नभएको होइन ।


२०७९ सालको आमनिर्वाचनपछि जसपाको संसदीय दलको नेता बन्दै मधेसको मुख्यमन्त्री बन्ने सफल भए उनी । उनले मुख्यमन्त्रीको सपथ लिँदै गर्दा भ्रष्टाचार नगर्ने र गर्न नदिने अभिव्यक्ति दिएर खुवै चर्चा कमाएका थिए, भने प्रदेशको विकास बुलेट ट्रेनको गतिमा गर्ने भनेर मधेसका जनताको मनमा आशासमेत जगाउन सफल भएका थिए । उनले भनेका ती दुई शब्द समय बित्दै गर्दा बोलीमै सीमित भयो । उनले भने झैँ न भ्रष्टाचार कम भयो, न त मधेसमा कुनै विकास नै भए । बरु भएभरको बजेट पनि खर्च गर्न नसक्ने मुख्यमन्त्रीमा गनिए उनी । सपथ खाँदाको उनको लोकप्रियता लामो समय टिकेन ।

करिव डेढ वर्षे मुख्यमन्त्री यादवको कार्यकाल विश्वासको मत लिने, कसैलाई निकाल्ने कसैलाई स्वागत गर्ने, मन्त्री बनाउने भत्काउनेमै बित्यो । गठबन्धनका कारण प्रधानमन्त्री, आफ्ना र अन्य दलका पार्टी अध्यक्षको निर्देशन र आज्ञापालनमै अल्मलिएका उनको बहिर्गमन पनि नराम्रो मान्न सकिँदैन । ४ पटकसम्म सम्मानजनक विश्वासको मत पाउन सफल उनले पाँचौँपटकमा विश्वासको मत गुमाउँदा पनि ४ सांसदको मात्र अन्तर छ । उनको पक्षमा ५० जना देखिए भने विपक्षमा ५३ जना । ०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादवले यसअघि २०७९ माघ ४ गते, २०८० जेठ ३० गते, २०८१ फागुन ६ गते र २०८१ वैशाख ४ गते विश्वासको मत लिएका थिए ।

मुख्यमन्त्री नियुक्त भएपछि उनले पहिलो र दोस्रोपटक विश्वासको मत लिने क्रममा उनको विपक्षमा एक सांसद पनि थिएन । सो क्रममा पालैपालो प्रमुख प्रतिपक्षी भए पनि एमाले र कांग्रेस सबैले उनलाई विश्वासको मत दिएका थिए ।

पाँचौँपटक विश्वासको मत लिइरहँदा आफूमाथि लागेको आरोपको खण्डन गर्दै मुख्यमन्त्री यादवले मधेस प्रदेशले आर्थिक वर्ष २०८१÷०८२ मा समपुरक र ससर्त अनुदान नपाउनुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दोषी रहेको आरोप लगाउन भ्याए ।
विश्वासको मत लिने क्रममा भएको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री यादवले संघ सरकारको इशारामा कर्मचारीले समपुरक र ससर्त अनुदान नपठाएको आरोप लगाए । उनले प्रहरी समायोजन र निजामती कर्मचारी ऐनका लागि पटकपटक संघ सरकारको ध्यानाकर्षण गराउँदा काम अगाडि बढेको आश्वासन दिए पनि एक इन्च पनि अगाडि नबढेको बताए । संघले कर्मचारीलाई काम नगर्नकै लागि पठाउने गरेको उनले आरोप लगाए ।

राजपा छाडेर जसपा बनेका निवर्तमान मुख्यमन्त्री यादवलाई जसपा चाहिँ फापेन, उनले राजपा रहँदा पाएको सम्मान जसपासम्म पुग्दा बचाउन सकेनन् । जसपामा आउँदा अध्यक्ष उपेन्द्र यादवको कठपुतली झैँ बनेका मुख्यमन्त्री यादवले आफ्नो कार्यकालमा चाहेर पनि केही गर्न सकेनन् ।

संघीयता आएपछि मधेस प्रदेशको सत्ताको कमान्ड सम्हालेका जनता समाजवादी पार्टी ७ वर्षपछि नराम्रोसँग बढारिएको छ । पार्टीमा फुट र मधेस प्रदेशका अर्थमन्त्री सञ्जय यादवसँग अन्य दलको अनबनले जसपा सरकार ढलेको मात्र होइन, बढारिएको राजनीतिविज्ञहरूको विश्लेषण रहेको छ ।

दल फेरेर मुख्यमन्त्री बन्दै जनमतका सिंह

एमाले, माओवादी, नेकपा एस र जनमतको गठबन्धनबाट जनमतको नेतृत्वमा सरकार बनाउने निर्णय भएसँगै अबको मुख्यमन्त्री जनमत पार्टीका संसदीय दलका नेता महेश यादव मुख्यमन्त्री बन्ने पक्का थियो ।

तर, बिहीबार बिहानै जनमत पार्टीले सप्तरीबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य सतिश सिंहलाई मधेस प्रदेशको मुख्यमन्त्रीको उम्मेद्वार बनाउने निर्णय गरेको छ । जनमत पार्टीको बिहीबार बिहानै बसेको केन्द्रीय सचिवालय बैठकबाट सिंहलाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने निर्णय भएको जनमतका प्रवक्ता शरद यादवले जानकारी गराएका छन् ।

सिरहाबाट जितेका महेश यादव मधेस प्रदेशमा शिक्षा मन्त्री भई सफल कार्यकाल बिताएका थिए । तर, जनमतका अध्यक्ष सिके राउतलाई जिताउन हरसम्भव प्रयास गरेका सप्तरीका सतिस सिंहले अहिलेसम्म कुनै पद पाएका थिएनन् । जनमतको नेतृत्वमा सरकार बन्ने निर्णय भएसँगै सञ्चारमाध्यमले महेश यादव नयाँ मुख्यमन्त्री भनिरहँदा पार्टीले चाहिँ सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका छ ।

प्रवक्ता यादवका अनुसार पार्टी अध्यक्ष अमेरिका भ्रमणमा रहेकोले सांसद सिंहलाई अध्यक्षकै निर्देशनमा मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय भएको बताए । संसदीय दलका नेताले पद पाउने विषयमा प्रवक्ता यादवले पार्टीले सिंहलाई मुख्यमन्त्रीमा अगाडि बढाएको छ, संसदीय दलका नेताको रूपमा महेश यादव नै रहने बताए ।

मधेसमा जनमत नेतृत्वमा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीको सहयोगमा सरकार बनाउन लागिएको र बिहीबार नै सरकार निर्माणका लागि प्रदेश प्रमुखसमक्ष बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेस गर्ने भनिए पनि समाचार तयार पार्दासम्म प्रदेश प्रमुखसमक्ष पेस गरिएको छैन ।

प्रतिक्रिया