जनकपुरधाम । मधेस प्रदेशसभाका सांसद रामअशिष यादवले संसद प्रभावकारी नभएको आरोप लगाएका छन् । जसपा नेपालका प्रदेशसभा प्रमुख सचेतकसमेत रहेका यादवले संसद प्रभावकारी नभएकै कारणले प्रदेशसभाले अपेक्षित उपलब्धी प्राप्त गर्न नसकेको बताए । सोमबार मधेस प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै सांसद यादवले सरकारले टेबुल गरेको विधेयकहरू पनि समयमा पारित हुन नसक्नु प्रदेशसभाको कमजोरी भएको बताए ।
सांसद यादवले मधेस प्रदेशसभाको वर्तमान कार्यकालमा २ अधिवेशनमा ५० बैठक बसेकोमा जम्मा ३ वटा विधेयक पारित भएको जानकारी दिए । प्रथम अधिवेशनमा ३६ र दोस्रो अधिवेशनमा १४ बैठक बसेको हो । ती बैठकहरूमा अर्थ व्यवस्थासम्बन्धी विधेयक, विनियोजन विधेयक र केही ऐन संशोधनसम्बन्धी विधेयक मात्र पारित भएको सांसद यादवले उल्लेख गरे ।
प्रदेशको पहिलो कार्यकालमा ५५ वटा विधेयक पारित भएको थियो । दोस्रो कार्यकालमा अहिलेसम्म १० विधेयक प्रदेशसभा सचिवालयमा पेस भएको छ । ती मध्ये ३ विधेयक पारित भयो भने बाँकी रहेका ७ मध्ये ४ वटा विधेयकहरू विषयगत समितिबाट पारित भइसकेको छ । खेलकुदसम्बन्धी विधेयक, स्थानीय सेवा सुविधासम्बन्धी विधेयक, बालिका संरक्षणसम्बन्धी विधेयक र सवारी दुर्घटनसम्बन्धी विधेयक विषयगत समितिबाट पारित भएर प्रदेशसभामा अगाडि बढेको छ ।
त्यसैगरी बैठकमा मधेस प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुरले जिल्ला प्रशासन कार्यालयमा अनुहार हेरेरै मधेसी समुदायसँग फरक व्यवहार भइरहेको आरोप लगाए । ‘दिनभर चर्को घाममा लाइन बसेर नागरिकताका लागि पुगेका सर्वसधारण जनता सिडिओ कार्यालयमा अनावश्यक पीडित भइरहेका छन्’, सांसद ठाकुरले भने, ‘मधेसी अनुहार हेर्ने बित्तिकै सिडिओले यो कागज पुगेन त्यो पुगेन भनेर फर्काइन्दिन्छन् । यो अन्याय हो । यसविरुद्ध सरकारले बोल्नुपर्छ ।’
मधेस प्रदेशमा ७ वटै प्रदेशमध्ये सर्वाधिक भ्रष्टाचार भएको उल्लेख गर्दै उनले बेरुजुमा एक नम्बर प्रदेश भएको बताए । अगामी बजेटमा खानेपानी र जनकपुरधामको बाह्रबिघा मैदानलाई प्राथमिकतामा राख्न उनले आग्रह गरे । बैठकमा प्रदेश सांसद जनार्दनसिंह क्षेत्रीले सांसदको मर्यादा कायम गरिदिन मन्त्रीहरूसँग आग्रह गरेका थिए । उनले सांसदहरू विचौलीयाको चिठी लिएर अफिस अफिस घुमिरहेको आरोप लगाउँदै एउटा सांसदका लागि लाजको विषय रहेको यस्तो क्रियाकलाप तत्काल रोक्न उनले आग्रह गरे । मन्त्रीहरूको व्यवहारमा तत्काल सुधार नभए भोलि मन्त्री पदबाट झर्ने बित्तिकै उनीहरूसँग पनि त्यस्तै व्यवहार हुने उनले चेतावनी दिए ।
सांसद क्षेत्रीले अगामी ३० गते बजेट प्रस्तुत हुने संसद्मा १० दिन बाँकी रहँदा नीति तथा कार्यक्रमसम्म आउन नसक्नु दुर्भाग्य भएको बताए । यति छोटो समयमा कस्तो नीति कार्यक्रम आउने होला भन्दै उनले भने, ‘नीति कार्यक्रम बनिरहेको छ भने कहाँ र कसले बनाइरहेको छ थाहा भएन ।’ उनले प्रदेश सरकारको तर्फबाट स्तरीय प्राविधिक शिक्षालय सञ्चालन, खानेपानीको भरपर्दो व्यवस्था र मधेसका सम्भावित सबै क्षेत्रको पहिचान गरी पर्यटकीय क्षेत्रको प्याकेज बनाएर प्रवद्र्धन गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गराउन ध्यानाकर्षण गराए ।
सांसदमाथि लाठिचार्ज घटनाको छानविन हुने
सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय भवनको शिलान्यासका क्रममा मन्त्रीमाथि भएको आक्रमण र प्रदेशसभा कार्यकक्षभित्र घटित घटनाको छानबिन हुने सहमति भएको छ । सोमबारको प्रदेशसभा बैठक जनमत पार्टीले अवरुद्ध गर्दै कृषि विश्वविद्यालय भवनको शिलान्यासको क्रममा भएको घटनाको छानबिनको माग गरेको थियो ।
त्यसपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेर छानबिन समितिको विषयमा सबै दलका नेतालाई राखेर छलफल गरेका थिए । छलफलका क्रममा जसपा नेपालका सांसदहरूले २०८१ वैशाख ४ मा प्रदेशसभाभित्र घटेको घटनाको पनि छानबिन हुनुपर्ने अडान राखेको र त्यसमा जनमत पार्टी सहमत भएपछि कृषि विश्वविद्यालय भवनको शिलान्यासका क्रममा भएको घटना र प्रदेशसभाभित्र भएको घटनाको छानबिन गर्ने सहमति भएको हो ।
बैठकमा दुबै घटनाको छानबिन गर्ने जिम्मेवारी प्रदेशसभाभित्रका प्रदेश मामिला समितिलाई दिइएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराए । उनका अनुसार उक्त समितिमा नरहेका दललाईसमेत छानबिन प्रयोजनका लागि सदस्यको रूपमा प्रतिनिधित्व गराइनेछ ।
प्रतिक्रिया