पुजार सार्की हेर्न आयोगको आह्वान

काठमाडौं । राष्ट्रिय दलित आयोगले गत हप्तादेखि प्रदर्शनरत नेपाली चलचित्र ‘पुजार सार्की’का निर्माता सुवास भुसाललाई एक सन्देश पत्र लेख्दै यो चलचित्र हेर्न आयोगले सबैलाई आह्वान गर्ने बताएको छ । आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्ताक्षरित पत्रमा यो चलचित्र सबै नेपाली भाषी र संसारभरका मानवता–प्रेमीहरूले हेरेर शिक्षा लिन सकिने खालको रहेको जनाएको छ ।
विज्ञप्तिमा सो चलचित्रले समाज परिवर्तनको सन्देश प्रवाह गरेकोले चलचित्र हेर्न, यसको मर्म र भाव ग्रहण गर्न तथा प्रदर्शनलाई सार्थक बनाउन सबैमा अनुरोध गरिएको छ ।

‘अन्तर्राष्ट्रिय मानवअधिकारको विश्वव्यापी घोषणापत्र, नेपालको संविधान र अन्य कानुनद्वारा समेत वर्जित मानिएको जातीय छुवाछुत, भेदभाव तथा बहिष्करणबाट सिर्जित परिस्थितिको अन्त्य गर्नु सबै सभ्य मानिसहरूको कर्तव्य हो । मानव मानवका बीच अन्तर घुलनका लागि स्वैच्छिक जोडीहरूको विवाहलाई प्रोत्साहन र संरक्षण गर्न जरुरी छ,’ पत्रमा भनिएको छ, ‘चलचित्र ‘पुजार सार्की’मा देखाइए्जस्तै आज पनि नेपाली समाजमा स्वैच्छिक विवाहलाई वर्जित गर्ने कुसंस्कार विद्यमान छ । शिक्षित र सभ्य मानिसहरूलाई यो गम्भीर प्रश्न पनि हो । सभ्य मानिसले सत्य कुरालाई स्वीकार नगर्नु असभ्यता हो । चलचित्र ‘पुजार सार्की’ले यस्तो अवस्थालाई उजागर पार्न खोजेको छ । नेपालका जातीय रूपमा अपमानितहरूले वरण गरिरहेका शब्दहरू आफै अंगीकार गर्ने सन्देश चलचित्रले बोकेको छ । यो चलचित्र सबै नेपाली भाषी र संसारभरका मानवता–प्रेमीहरूले हेरेर शिक्षा लिन सकिने खालको छ । यो चलचित्रले समाज परिवर्तनको सन्देश प्रवाह गरेकोले चलचित्र हेर्न, यसको मर्म र भाव ग्रहण गर्न तथा प्रदर्शनलाई सार्थक बनाउन राष्ट्रिय दलित आयोगको तर्फबाट सबैमा अनुरोध गर्ने सन्देश यहाँ समक्ष पठाइएको ब्यहोरा अनुरोध छ ।’

चलचित्रका लेखक बिकास सुवेदीले राज्यको कुनै निकायले नेपाली चलचित्रलाई यसरी सम्बोधन गरेको पहिलोपटक भएको बताए । ‘यो चलचित्रले राज्यले नै बोल्नुपर्ने विषय बोलेको छ । चलचित्रले संविधानमा समावेश भएकै एजेन्डा बोलेको तथा दलितको आन्दोलनमा ऐक्यबद्धता जनाएको हुँदा आयोग आफैँले ‘पुजार सार्की’ हेर्न आह्वान गरेको हो भन्ने मलाई लाग्छ । नेपाली चलचित्रको लागि यो पहिलो घटना हो । राज्यले चलचित्रको माध्यमबाट सूचना प्रवाह गर्न खोजेको इतिहास थिएन’, सुवेदीले भने, ‘राज्यले पञ्चायतकलामा आफ्नो प्रचारको लागि चलचित्र बनाउन लगानी गरेको थियो । चलचित्र निजी क्षेत्रमा आइसकेपछि पहिलोपटक यो विशेष चलचित्र हो भनेर विज्ञप्ति नै जारी गर्नु सुखद् हो ।’

‘पुजार सार्की’का निर्देशक दिनेश राउतले यो चलचित्र बनाउँदा केवल व्यावसायिक उद्देश्य मात्रै नराखी दलित मुक्तिको आन्दोलनको पुनर्जागरणको लागि निर्माण भएको बताए । उनले भने, ‘यो चलचित्र दलित मुक्तिको आन्दोलनको एक हिस्सा हो । यसलाई हामीले नेपालका हरेक बस्तीमा पु¥याउनेछौँ । संसारभरका नेपालीमाझ पनि पुर्याइरहेका छौँ ।’

यसैबीच, करिब दुई दर्जन राजनीतिक व्यक्तिहरूले चलचित्र ‘पुजार सार्की’ हेरेर यो चलचित्र हेर्न सबैलाई आह्वान गरेका छन् । गत बिहीबार रिलिज भएको ‘पुजार सार्की’ दोस्रो हप्तामा चलिरहेको छ । देशभर करिब २८० सो सहित प्रदर्शन सुरु भएको यो चलचित्रले दोस्रो हप्ताको पहिलो दिन करिब २५० सो संख्या प्राप्त गरेको थियो । दोस्रो हप्तामा यो सो संख्या ऐतिहासिक रहेको वितरक रोहित कट्टेलले बताए । यस चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ ।

प्रतिक्रिया