मधेस ब्युरो । रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (हाकिम) वकिल प्रसाद पालले चर्चामा आउन नयाँ स्टन्ट गरेका छन् । उनले १ महिना पुरानो मितिको पत्र कार्यबाहक नगरप्रमुखको सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न लगाएका छन् ।
हाकिम पालले गत वैशाख २० गते नगरपालिकाको लेटर प्याडमा कार्यवाहक नगरप्रमुख तथा वडा नम्बर १ देखि ११ सम्मका सबै वडाध्यक्षको नाममा उपभोक्ता समिति गठन गरी सम्झौता तथा कार्यादेशको लागि पठाइदिन हुन भनी पत्राचार गरेको पत्र एक महिनापछि कावा नगरप्रमुखको सामाजिक सञ्जालमार्फत सार्वजनिक गराएका हुन् ।
एकपछि अर्को मौखिक सर्त राखेर बजेटमा मनोमानी गर्न थालेपछि वडाध्यक्षहरूले नगरको बजेट चलाउन नसक्ने भनी आश मारेपछि हाकिम पाल आफू चोखो बन्न आफ्नै नाममा कावा नगरप्रमुखदेखि वडाध्यक्षसम्मको नाममा लेखेको पत्र सार्वजनिक गरी नयाँ चाल चलाएका छन् ।
१ महिना पहिले नै तयार पारिएको पत्र १ महिनापछि सार्वजनिक गर्दा पनि वडाध्यक्षहरूमा कुनै उत्साह देखिएको छैन । अधिकृतको यस क्रियाकलापप्रति वडाध्यक्षहरूले नकारात्मक टिप्पणी गरेका छन् ।
वडा–९ का वडाध्यक्ष राकेश यादवले १ महिना पहिलेको पत्र १ महिनापछि सार्वजनिक गरेको बारेमा आव्रmोशित हुँदै सामाजिक सञ्जालमै ‘बाँदरको हातमा नरिवल’ भन्दै बुद्धि भ्रष्ट भएपछि यस्तो हुने प्रतिक्रिया दिएका छन् ।
स्थानीयवासीले पनि कावा नगरप्रमुख र हाकिमप्रति नकारात्मक टिप्पणी गरेका छन् । राम प्रवेश यादव हाकिमको शैलीप्रति व्यंग्य गर्दै लेख्छन्, ‘असारदेखि कार्य आदेश गर्दा राम्रो हुन्थ्यो ताकि हतारमा काम गर्दा आउँदो बजेटमा पनि मर्मत सम्भारमा राख्दा कमाइ राम्रो हुन्थ्यो ।
यसैगरी सुनील यादवले लेखेका छन्, ‘कमिसन बाँडफाँड मिल्यो, असारपछि काम गर्दा धेरै पैसा बच्थ्यो ।’
स्थानीय बुद्धिजीवी विष्णु श्रेष्ठले पनि लेखेका छन्, ‘वाह असारे बजेट । अब उपभोक्ता समिति बनाउँदा १ जना अख्तियार कर्मचारी पनि सदस्य होस् ।’
नगरको सबै काम लथालिंग बनाउनमा प्रमुख प्रशासकीय अधिकृत पालले प्रमुख भूमिका खेलेका छन् । वडाध्यक्षहरूसित समन्वय गर्न असक्षम पालले कमिसनका लागि आफूखुसी बजेट चलाउने रणनीति अपनाएपछि सबै वडाध्यक्षहरू बिच्किएका हुन् । हाकिम पालले कावा नगरप्रमुखलाई पनि सम्बोधन गर्दै उपभोक्ता समिति गठन गरी नियमानुसार पेस गर्न पत्रमै निर्देशन दिएपछि हाकिमको थप आलोचना भएको छ ।
हाकिम पालले वडाध्यक्षहरूप्रति वडामा ४० लाख रुपैयाँको विभिन्न योजनामा उपभोक्ता समिति बनाएर बजेट लैजान लबिङ गरिरहेका भए पनि निजले ठूलो रकम कमिसन खोज्ने गरेको कारण कोही पनि वडाध्यक्ष जानलाई तयार नदेखिएको स्रोतको दाबी छ ।
नगरपालिकामाथि नेपाल विद्युत् प्राधिकरणको करोडौँ बक्यौता रहेकोले कुनै वडाध्यक्षले बजेट नलगे फ्रिज हुन दिनुभन्दा रकम जति नेविप्रालाई दिने तयारी गरिएको पनि स्रोतको दाबी छ । कावा नगरप्रमुख अम्बेया खातुनका श्रीमान शेख सेराजले हाकिम पालले सबैलाई बजेट लैजान भनिरहेको तर कसैले पनि बजेट लान नचाहेको बताए ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया