यार्सा टिप्न जाँदा मुगुमा लेक लागेर मृत्यु हुनेको संख्या चार पुग्यो

मुगु । मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कर्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने यार्सागुम्बा संकलन गर्न गएका चार जनाको लेक लागेर मृत्यु भएको छ । बितेका दुई दिनमा यार्सागुम्बा संकलन गर्न गएका जिल्लाका चार जनाको लेक लागेर मृत्यु भएको हो ।

लेक लागेर सिकिस्त भएका एक जनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एक जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा छायाँनाथ रारा नगरपालिका– १० तल्लेख गाउँका दुई जना सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज बुढाको बाटोमा मृत्यु भएको हो ।

शनिबार पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायाँनाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा, सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको मृत्यु भएको थियो । देवराज बुढाको मृत्युसँगै मृत्यु हुनेको संख्या चार पुगेको हो ।

यसअघि गत वैशाख २७ गते लेक लागेर अस्पताल ल्याउँदै गर्दा जुम्ला पातारासी गाउँपालिका— ३ का २६ वर्षीय सुर्जबहादुर रावतको लेक लागेरै मृत्यु भएको थियो । यार्सा टिप्न जाँदा हाई अल्टिच्युडका कारण लेक लागेर बिरामी हुने र तत्कालै उद्धार तथा औषधि उपचार नहुँदा वर्सेनि यार्सा पाटन क्षेत्रमा यर्सा संकलकहरूले ज्यान गुमाउँदै आएका छन् । गत वर्ष मात्र यार्सा टिप्न मुगुका पाटनहरूमा पुगेका ३ जनाको हिउँ पहिरोमा परेर मृत्यु भएको थियो ।

प्रतिक्रिया