नेपालगन्ज । दशौँ दिनमा चलिरहेको नेपाली चलचित्र ’पुजार सार्की’का अभिनेता पल शाहलाई नेपालगन्जमा दर्शकद्वारा भव्य स्वागत भएको छ । यहाँका हल सिनेरोयलमा उनी आउने जानकारी पाएका दर्शकले घण्टौँ अगाडीदेखि पर्खेर बसेका थिए । पलको प्रवेश हल परिसरमा हुने वित्तिकै दर्शकको उत्साह थपिएको थियो । नेपालगन्जको प्रचण्ड गर्मीको समेत प्रवाह नगरी हल बाहिरै दर्शकले घेरा हालेका थिए ।
नेपालगन्जका हल सिनेरोयलमा हाउसफुल दर्शकहरू रहेपछि पल दिनभर नेपालगन्जमा नै रहे । शनिबार सिनेरोयलमा प्राप्त ८ वटा शोमा मध्यान्हसम्मका सबै शो हाउसफुल भएका थिए । मध्यान्हपछिका शोहरू पनि लगभग सबै टिकट बिहानै बिक्री भइसकेको हल श्रोतले बताएको छ ।
पलसँगै चलचित्रका निर्देशक दिनेश राउत पनि नेपालगन्ज पुगे । सफलताका साथ चलिरहेको आफ्नो चलचित्र हेर्न आएका सयौँ दर्शकमाझ पुग्दा पाएको सुखद प्रतिक्रियाबाट राउत निकै खुसी देखिएका थिए । हाउसफुल दर्शकमाझ उभिएका राउतले आफ्नो चलचित्रको व्यावसायिक सफलता दिलाउने दर्शकलाई धन्यवाद व्यक्त गरे। दर्शकले चलचित्र राम्रो रहेको प्रतिक्रिया पाइरहेको उनले बताए ।
सिनेरोयलमा आयोजित पत्रकार भेटघाटमा अभिनेता शाहले सकेसम्म नेपाल र विदेशमा रहेका सबै दर्शकमाझ पुग्ने आफ्नो चाहना रहेको बताए ।
‘देश विदेशका दर्शकहरूबाट हामीलाई निम्तो आइरहेको छ। म भर्खरै जापान पनि पुगेर आएँ। अहिले हामी पश्चिम नेपालका दर्शक भेटिरहेका छौँ। बिस्तारै हामी अन्य स्थानहरूमा पनि पुग्नेछौँ,’शाहले भने ।
गत बुधवार आदर्शनगरस्थित सिनेरोयल हलमा नेपाली चलचित्रको रेकर्ड नै ब्रेक भएको हलका सिओओ रितेश श्रेष्ठले बताए । दश महिना अघि सञ्चालनमा आएको यो हल सञ्चालन भएदेखि गत बुधवार ’पुजार सार्की’ले प्राप्त गरेको छ वटा शो मा सबै टिकट बिक्री भई ऐतिहासिक रेकर्ड राखेको श्रेष्ठले बताए । ‘हिन्दी चलचित्र बढी हेरिने क्षेत्रमा खुलेको यो हलमा नेपाली चलचित्रको लागि यो भन्दा बढी खुसीको कुरा अरू के होला र ? ‘पुजार सार्की’ले ऐतिहासिक रेकर्ड राखेको छ। नेपाली चलचित्रको विकासले हामी हल सञ्चालकलाई खुसी दिलाएको छ,’ श्रेष्ठले बताए ।
अभिनेता शाह सहित निर्देशक राउतसहितको ’पुजार सार्की’ टिम आइतबार दाङको भिएफएक्स सिनेमा हल पुग्नेछ भने सोमबार धनगढीस्थित एसटिएस सिनेमा हलमा पुग्ने तालिका रहेको छ ।
प्रतिक्रिया