जनकपुरधाम । जनकपुरधाममा शनिबारदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा उक्त मेला आयोजना गरिएको । २ दिनसम्म चल्ने उक्त मेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेस प्रदेश र जनकपुरधाम उपमहानगरपालिकाले संयुक्तरुपमा आयोजना गरेको छ । मेलाको नेपाल उद्योग परिसङ्घले संयोजन गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवं मेलाका मधेस प्रदेश संयोजक दीपेन्द्र पौडेलका अनुसार मेलामा रोजगारीसहितका कक्ष रहने छन् ।
कामको खोजीमा रहेका युवाको अन्तर्वार्ता रोजगारदाताले मेलामै लिने र आवश्यक परेको जनशक्तिलाई रोजगारीको अवसर दिनेगरी मेलाको तयारी गरिएको उनले बताए ।
मेलामा श्रम तथा रोजगारसँग सम्बन्धीत सरकारी निकायको कक्ष, रोजगारदाता, म्यानपावर व्यवसायी तथा विभिन्न सामाजिक संस्थालगायतका ३५ भन्दा बढी कक्ष रहनेछन् ।
कामको खोजीमा रहेका युवालाई लक्षित गर्दै सीपसँग सम्बन्धीत तथा रोजगारीमा जोड्ने रोजगार परामर्श स्टल तथा विभिन्न नेटवर्किङ सत्र, स्थानीय सांस्कृतिक प्रस्तुतिलगायत कार्यक्रम पनि राखिएका छन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले धेरैभन्दा धेरै युवाहरूलाई उद्योगमा रोजगारी दिन उद्योगीहरूलाई आग्रह गरेका छन् । मन्त्री अर्यालले सरकारले रोजगार बैंकको अवधारणा पनि अघि सारेको पनि जानकारी गराए । नेपालबाट भारत जाने श्रमिकहरूको तथ्यांक संकलनको काम पनि सरकारले गरिरहेको मन्त्री अर्यालले बताए ।
प्रतिक्रिया