सुर्खेत । आगामी आव ०८१/८२ को बजेट भाषणमार्फत कर्णालीका १० जिल्लामा एकीकृत कर्णाली सिँचाइ आयोजनाका लागि सरकारले ८२ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलवार संघीय सदनमा आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन् । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका बाँकी काम गर्न २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । कृषि र वन पैदावार कार्यक्रम कर्णालीमा लागू गरिने भएको छ ।
जाजरकोट, रुकुम पश्चिममा भूकम्पका कारण भत्किएका भौतिक संरचना निर्माण गर्न २१ अर्ब ६४ करोड रकम विनियोजन गरिएको छ । जुम्लाको हिमा, तिला नदीको किनारमा मार्सी धान उत्पादन तथा विकास गर्न बजेट विनियोजन गरिएको छ।
आगामी आव ०८१/८२ को बजेट भाषणमार्फत कर्णालीमा रहेका २ जलविद्युत आयोजना निर्माण गरिने अर्थमन्त्री पुनले बताए । उनले जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट डोल्पा र ४१७ मेगावाट जाजरकोट पनि निर्माण गरिने बताए ।
कर्णाली करिडोरमा ४०० केभी प्रशारण लाइन, भेरी करिडोरमा ४०० केभी प्रशारण लाइन निर्माण गरिने अर्थमन्त्रीले घोषणा गरे । सुर्खेत र जुम्लामा सञ्चालनमा रहेका विमानस्थलको स्तरोन्नति गरिने पनि उनले बताए ।
रुकुम र जाजरकोट भूकम्प पुनर्निर्माणलाई २१ अर्ब ६० करोड
कर्णाली । सरकारले जाजरकोट र रुकुम पश्चिम लगायतका स्थानमा आएको भूकम्पका कारण भएको क्षति पुनर्निर्माणका लागि २१ अर्ब रुपैयाँ छुट्याएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो ।
सरकारले भूकम्पबाट क्षतिग्रस्त भएका निजी भवनको तथ्याङ्क निकालेर पुनर्निर्माण प्रक्रिया अघि बढाउने घोषणा गरेको छ । स्वास्थ्य संस्था, विद्यालयको शीघ्र पुनर्निर्माण गर्ने सरकारको घोषणा छ । यसका लागि २१ अर्ब ६० करोड विनियोजन भएको हो ।
मध्यपहाडी र हुलाकी राजमार्गको बजेट घट्यो
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि मध्यपहाडी राजमार्गका लागि ३ अर्ब ६८ करोड र हुलाकी राजमार्गका लागि ३ अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ । जुन चालु आर्थिक वर्षको भन्दा कम बजेट हो ।
चालु आर्थिक वर्षमा मध्यपहाडीका लागि ३ अर्ब ९६ करोड र हुलाकी राजमार्गका लागि ३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । बजेट पर्याप्त नभएको भन्दै यी राजमार्गमा नयाँ ठेक्का व्यवस्थापन र पुरानो ठेक्कामा काम भएको पूरै रकम भुक्तानी हुन सकेको छैन ।
प्रतिक्रिया