बारा । सडक मान्छेका लागि आवत जावत गर्ने सबै भन्दा आवश्यक ठाउँ हो । तर पछिल्लो समय बाराको विभिन्न स्थानमा कालोपत्रे भएका वा ढलान गरिएका सडकलाई गिट्टी, बालुवा भण्डारण गर्ने, मकै, मुसुरो (बिस्कुन) सुकाउने थलोको रुपमा प्रयोग गर्न थालिएको छ । बारा, पर्सा, रौतहट लगायत तराइका सडकमा जता ततै मकै, गहु, मुसुरो लगायतका अन्नबाली सुकाउने ठाउँका रुपमा प्रयोग गरेर बाटो हिड्नेलाइ सकस बनाइँदै छ । सडकमा महिनौंं दिनसम्म बालुवा, गिट्टी भण्डारण गरीरहदा पनि सरोकारवाला निकायले नियमन गर्न उदासिनता देखाएकै कारण मालवस्तुबाट सडक अवरुद्ध पार्ने प्रवृति बढदै गएको कलैया उपमहानगरपालिका–२३ बैराठपुरका शम्भु साहले गुनासो गरे ।
‘सडकमा जथाभावी भण्डारण गरिएको मालवस्तु हटाउनु त परैको कुरा हो,’ उनले भने, ‘करोडौं खर्च गरेर निर्माण भएको कालोपत्रे सडकको नियमित अनुगमन पनि गरिदैन ।’ अनुगमन नभएकै कारण कालोपत्रे सडक झन्न दुर्रावस्थामा पुगेको मोटरसाइकल चालक साहको भनाइ छ ।
यसरी सडकमा जथाभावी मकै, गुहको भुसा, मसुरोको भुसा, गिट्टी, बालुवा राख्नु नै गलत भएको कलैया उपमहानगरपालिका–२३ भतौडाकी पार्वती साह कानुले बताइन् । ‘यसले दुर्घटना निम्त्याउँछ, यसमा कुनै दुईमत छैन,’ उनले भनिन, ‘केही दिन अघि मेरै आखाँ अगाडी सडकमा राखिएको मसुरोको ढुटोमा मोटरसाइकल चिप्लियो ।’ तर संयोगवश त्यो मान्छे जोगिएको उनले बताइन् ।
जग्गा नभएर केही समयको लागि सुकाउन मकै सडकमै राखिएको कलैया उपमहानगरपालिका –१३ भतौडाकै ७० वर्षिय बैद्धनाथ रामले बताए । ‘वर्षाको मौसम छ, वर्षा भइदिए बाली बिग्रिने त्रासले सडकमै मकै सुकाइएको हो,’ उनले भने, ‘अब आउने दिनमा यसरी सडकमा बिस्कुन सुकाउनु हुदैन भनेको छु ।’ सबैले सडकमा कुनै किसिमको अवरोध पुर्याउने काम गर्न नहुनेमा रामको जोड छ ।
सडकमै मकैको खोस्टा सुकाउन राखेका भतौडाका गौरीशंकर साहले आफुले गल्ती गरेको महशुस गरेका छन् । आइन्दा यसरी सडकमा मकै नसुकाउने प्रतिवद्धता समेत गौरीशंकर दम्पतीले गरेका छन् । भित्री सडकमा यसरी नै राखिएको अवरोधमा चिप्लिएर मोटरसाइकल दुर्घटना पछिल्लो समय बढेका छन् ।
नव सिकारु मोटरसाइकल चालकले ट्राफिक अनुपस्थित रहेको ग्रामिण क्षेत्रमा बनेको कालोपत्रे सडकमा तिब्र गतिमा मोटरसाइकल गुडाउँदा चिप्लिएर दुर्घटनामा पर्ने गरेको बाराका ट्राफिक प्रहरी कार्यालय निजगढका प्रमुख ट्राफिक प्रहरी निरिक्षक रामकुमार महतोले बताए । चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म बारामा साना ठुल्ला गरेर ७ सय ९२ वटा सवारी दुर्घटना भएका छन् । जसमध्ये ५ सय ८४ वटा जिल्लाको ग्रामिण भेगमा सवारी दुर्घटना भएको उनले बताए ।
सम्बन्धित निकायले सडकमा जथाभावी भण्डारण गरिने मालवस्तु राख्न नदिन र राखिएको मालवस्तु हटाउन चासो नदेखाउदा सडकमै मकैसहितका अन्नबाली, पराल सुकाउने, गिट्टी बालुवा भण्डारण गर्ने प्रवृति बढदै गएको सरोकारवालाको भनाई छ ।
यो प्रवृतिले नै ग्रामिण क्षेत्रमा दुर्घटना बढाएको प्रहरी अनुसन्धानले देखाएको छ । अन्जानमा भएपनि सडकमा मालवस्तु राख्ने प्रवृती अबदेखि सबैले गर्न नहुनेमा सरोकारवालाको जोड छ । यस्तै तराइका जिल्लामा सडकमा अन्नबाली सुकाउने मात्रै होइन, बस्तु भाउ बाध्ने जाडोमा घुर तात्ने जस्ता कार्य जर्दा सडक साधुँरा हुनका साथै दुर्घटनाका घटना हुने गरेका छन् । यसमा स्थानीय स्वयंम जाकरुक हुन पर्ने र सरोकारवालाको ध्यान जानुपर्ने देखिन्छ ।
प्रतिक्रिया