अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा देशको कानुनको बर्खिलाप जान मिल्दैन : कुसारी

प्रकाशकुमार कुसारी नेपाल कुस्ती संघका नवनिर्वाचित अध्यक्ष हुन् । लामो समय बन्दी अवस्थामा रहेको नेपाली कुस्तीलाई नयाँ जीवन दिन तत्पर कुसारी संघको नेतृत्व खेलकर्मीको शासक होइन, अभिभावक हो भन्ने कुरा पुष्टि गर्न सक्षम व्यक्ति पनि हुन । तिनै कुसारीसँग सौर्य दैनिकले गरेको कुराकानीको सार संक्षेप

नेपालमा लामो समय कुस्तीको अवस्था शून्य थियो । यसबीचमा पनि विकास गर्न सकिन्छ भन्ने हिम्मत कसरी गर्नुभयो ?

नारायणदेव राणा नेतृत्वको एउटा कुस्ती संघ नेपालमा थियो । राज मोहम्मद अन्सारी नेतृत्वको अर्को कुस्ती संघ थियो । २०७७ को चैत ३ मा न्यायालयले यी संघ खारेज गर्दै नयाँ वैधानिक संघका लागि परमादेश नै जारी गरेको थियो ।

त्यस समयको निर्वाचित समितिलाई परिमार्जन गरी मेरो नेतृत्वमा निर्वाचन गर्नका लागि अर्को समिति बनेको थियो । नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्को आपसी छलफल र बहसबाट निर्वाचन गर्न कमिटी निर्माण गरियो ।

तर, कानुनी परामर्श गर्दा जिल्ला संघ र प्रदेश संघको अधिवेशन नभई केन्द्रीय अधिवेशन हुन सक्दैन भन्ने ठहर भए पछि निर्वाचन कमिटीले नै तदर्थ जित्ला र प्रदेश संघ गठन गरेर मात्र निर्वाचन गराउने भएका हुनाले परिमार्जित निर्वाचित प्रतिवेदन अनुसार तदर्थ समिति समिति गठन भयो । निर्धारित ३महिनाको समय निर्वाचन प्रक्रिया पुरा गरी मापदण्ड पुरा गरेको हो । ४ चैत २०८० मा निर्वाचन तथा साधारण सभा निर्वाचन गरियो ।

यसले नेपाली कुस्तीको लामो समयको शून्यतालाई नयाँ आकार दिने काम गरेको थियो । कुस्ती विकासमा दोस्रो महत्वपूर्ण कदम भनेको राम वृक्ष यादवको स्मृतिमा २०८१ वैशाख २८ मा प्रतियोगिता आयोजना भएको हो ।

नेपाली खेलकुद एउटा निश्चित समूहको घेराबन्दीमा रहेको समयमा रुकुमको प्रकाश कुसारी नेतृत्वमा रहनुलाई नै उपलब्धि मान्ने या खेलकुद सबैका लागि हो भन्ने प्रमाणित हुन्छ ?

खास गरी राष्ट्रिय खेलकुदको सर्वोच्च निकायको तल्कालिन समयमा दरबारले प्रयोग गर्ने गरेको थियो । समय परिस्थिति अनुसार सबै परिपक्व हुँदै जाने क्रममा सबैको पहुँचमा खेलकुद पुग्ने क्रममा छ । नेपालको एउटा दूर दराजबाट आएको सामान्य त्यो एउटा विकट ठाउँको मानिस संघर्ष गर्दै अवरोध पन्छाउँदै संघ अध्यक्ष हुनु भनेको सामान्य नेपालीको पहुँचमा खेलकुद पुगेको हो । नेपाली कुस्तीको मैले नेतृत्व गरेको हुनाले आधारभूत तहका मानिसहरूलाई सक्षम मनाउने भनेको विद्यालय स्तरको कार्यक्रम नै हो भन्ने महसुस गरेको छु । यसले तल्लो तहका व्यक्तिलाई पनि स्टारडम दिन्छ । सबै नेपालीको पहुँचमा हाम्रो खेल पुग्छ जस्तो लाग्छ ।

अहिले नेपाली खेलकुदमा विवाद बढाउने तथा अन्य विकासको काममा नेपाल ओलम्पिक कमिटी बाधक देखिएको छ नि ?

नेपाली खेलकुदमा राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको आफ्नै भूमिका छ । नेपाली खेलकुदको सर्वोच्च निकाय परिषद् नै हो । नेपालको सर्वोच्च संस्थाले नै सबै खेलकुदलाई प्रतियोगिता आयोजना गर्ने, राष्ट्रिय रूपमा प्रतियोगिता आयोजन गर्ने, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन खेलाडी, रेफ्री र प्रशिक्षक क्षमता अभिवृद्धि गराउनका लागि खेलकुदलाई व्यावसायिक बनाउने काम गर्ने हो ।

अन्तर्राष्ट्रिय क्षेत्रसँग समन्वय गर्ने काम ओलम्पिक कमिटीको हो । यसमा साझा म्यान्डेट र बुझाइ हुनु पर्ने हो । घरेलु भूमिको गतिविधि र अन्तर्राष्ट्रिय समन्वय गर्न मिलेर सबै कुरा गर्नु पर्ने हो । नेपालले व्यवस्थापन गरेको ऐन, नीति तथा नियमावलीमा रहेर चल्नुको विकल्प न उहाँहरूसँग छ । न हामी सँग छ । यो बुझाइमा केही समस्या छ । हामी नै सर्वे सर्व हौ भन्ने केही बुझाइ छ । । हामी नै सर्वे सर्व हौ भनेर बुझे त्यो अतिवादी हुने छ । केही विषयमा ओलम्पिक कमिटीको भूमिका नकारात्मक छन् । जस्तो २ संघ बनाएर विवाद ल्याउने काम ओलम्पिक कमिटीले गरेको छ । नेपाल सरकारले स्वीकार गरेको एउटा राष्ट्रिय संघ हुँदा जबरजस्ती अर्को संघ ब्युँताउने काम भएको छ ।

खेलकुद विकास ऐन २०७७ अनुसार सबै संघलाई अद्यावधिक गराउने र नियमित साधारण सभा गराउने काम परिषद्को हो । यसलाई अन्तर्राष्ट्रिय समन्वय गरेर सहकार्य गर्नु जरुरी हो । त्यसमा केही गडबडीको महसुस भएको छ । यसलाई ओलम्पिक कमिटीले सच्याउनुको विकल्प छैन ।

तपाईं कुनै राजनीतिक विचारसहित परिषद्मा आउनुभयो । तपाईं आबद्ध दलको खेलकुद निकायको जिम्मेवार स्थानमा रहेर तपाईंहरूलाई अवरोध सिर्जना गर्ने काम पनि ओलम्पिक कमिटीको नेतृत्वमा रहेर भएको छ, यसलाई कसरी लिनुहुन्छ ?

म राष्ट्रिय संघ संस्थाबाट प्रतिनिधीत्व गर्दै परिषद् बोर्डमा आएको हु । नेपालको भौगोलिक र सामाजिक संरचनाले नै धेरैलाई कुने दलमा आबद्ध गराएको छ । म पनि छु । राजनीतिक नेतृत्वले नै सबै कुरामा सही किसिमको दिशा दिन अपरिहार्य छ । यसका लागि विभिन्न स्कुलिङबाट आएका सबै जना इमानदार हुनै पर्छ । अहिले हाम्रो पार्टीको विभागको सदस्य नै सक्रिय रूपमा ओलम्पिक मुभमेन्टमा सहभागी हुनु हुन्छ । उहाँले नेपालको मात्र होइन । अन्तर्राष्ट्रिय कानुनको कुरा हुनु पर्छ । त्यो कानुन मान्ने नाममा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ सँग बाझ्ने गरी काम गर्नु हुँदैन भन्ने हो । त्यसलाई बिचार गरेर भूमिका निर्वाह गर्न मेरो आग्रह हो । बुझाइ र कानुनमा अस्पष्ट भएका कारण केही समस्या छ । उहाँहरूको र हाम्रो बुझाइमा एकबद्धता गरेर जानै पर्छ ।

यसैले हाम्रो देशको भविष्य पनि बनाउन सक्छ । खेलकुद डिप्लोमेसीलाई प्रयोग गर्ने र अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्ने लगायत विषय ठुला हुन् । एक थान पदाधिकारी हुनु मात्र पक्कै ठुलो होइन ।

यसका लागि एउटै डुंगामा चढे हामीले यात्रा गर्नु बाध्यता हो । राज्यको तर्फबाट व्यवस्थापन गर्ने कुरा आफ्नो ठाउँमा छ । यसलाई ‘च्यानलाइज ’गर्ने काम एनओसीको हो । यसमा बुझाइ गलत बुझाइ छ भने उहाँहरू आफ्नो ढंगले सच्चिन जरुरी छ ।

अहिले धेरै खेलमा अन्तर्राष्ट्रिय समन्वयको आडमा नेपाल ओलम्पिक कमिटीले कुस्ती, उसुलगायत खेलमा बखेडा सिर्जना गरेको हो ?


धेरै खेल संघ राष्ट्रिय खेल विकास ऐनअनुसार चलेका छन् । यसले सबैलाई निर्वाचन तथा साधारण सभा गर्न भनेको छ । खेलकुद विकास ऐनले गाइड गरे अनुसार नै हामी चल्ने हो । यसरी अहिले राखेपले २२२ संघलाई मर्जर गर्दै ६१ मा झारिएको छ ।

अहिले विवादमा रहेका पौडी, कुस्ती , ह्यान्डबल र उसु लगायत खेलमा केही अस्पष्टता छन् । कुस्तीको भने अवस्था फरक हो । २०७७ चैत ३मा जसरी पनि निर्वाचन गर्नु भन्ने परमादेशको पालना हामीले गरेका हौ ।

न्यायालयले कुस्तीका दुवै संघ खारेज गरेको हो । कुनै संघलाई बोकेर हिँड्ने काम ओलम्पिक कमिटीले गर्दैन भन्नेमा मलाई विश्वास छ । त्यसो भएमा यो एकदमै घातक हुने छ ।

संघहरुको साधारण सभाले गरेको निर्णयलाई यो या त्यो बहानामा रोक्न मिल्दैन । कानुनको विरुद्धमा कोही पनि जानु पर्दैन
नेपाल ओलम्पिक कमिटीले पनि राज्यको कानुन मान्नै पर्छ । यसै अन्तरगत रहेर भूमिका र दायित्व निर्वाह गर्नु पर्ने छ । हामी अहिलेको समस्यालाई चिरेर अघि बढ्ने छौ । यसका लागि नयाँ ढंगले अघि बढ्न सबै संघका साथीहरूलाई नेपालको कानुनको बर्खिलाप र त्यसको विरुद्धमा जान आवश्यक छैन ।

नेपालको कानुन अनुसार नेपालकै कानुनलाई टेकेर दर्ता भएको उहाँहरूलाई पनि मान हानिको मुद्दा लाग्छ । राजनीतिक द्वेष भाव राखेर स्टेप अप र स्टेप डाउनको करा राखेर अघि बढ्नु हुन्छ भन्ने मलाई पनि लाग्दैन ।

प्रतिक्रिया