काठमाडौं । राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठेर विरोध जनाएपछि आजको बैठक सञ्चालन हुन नसकेको हो ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि सहजीकरण गर्न प्रतिपक्ष दलहरुलाई आग्रह गरेका थिए । ‘संसदमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल नै हुन पाएको छैन, जनताले चाहेको र खोजेको विषयमा हामीले काम नै गर्न पाएका छैनौँ, बजेट प्रस्तुत हुने दिन आइसक्यो, संसदको गतिरोध अन्त्य गर्ने विषयमा राष्ट्रियसभा अझ बढी जिम्मेवार बन्नुपर्ने र सोच्नुपर्ने बेला आएको छ’, अध्यक्ष दाहालले भने ।
त्यसपछि पनि प्रतिपक्षको विरोध कायमै रहेपछि आजको बैठक स्थगित भएको उनले जानकारी दिए । सभाको अर्को बैठक यही जेठ १३ गते आइतबार बिहान ११ः३० बजे बस्नेगरी स्थगित भएको छ । त्यसैगरी आज नै बसेको प्रतिनिधिसभा बैठक पनि प्रमुख प्रतिपक्ष दल कांग्रेसले नै अवरोध गरेपछि स्थगित भएको छ ।
उक्त बैठक पनि आइतबार नै बिहान ११ बजेसम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् । बैठक सुरू हुनासाथ कांग्रेसका सांसदहरुले विरोध जनाएपछि बैठक स्थगित भएको हो ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गर्दै लामो समयदेखि दुवै संसद बैठक अवरोध गर्दै आइरहेको छ ।
याे पनि : कांग्रेसको अवरोधपछि आजको प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित
प्रतिक्रिया