छुटेका ८ विद्यार्थीले बंगलादेशमा पढ्न पाउने

काठमाडौँ । बंगलादेश सरकारले चिकित्सा शिक्षा अध्ययनका लागि दिने छात्रवृत्तिमा छुटेका ८ नेपाली विद्यार्थी पढ्न जान पाउने भएका छन् । अन्तिम सूचीमा छुटेका ८ नेपाली विद्यार्थीलाई भर्ना दिन बंगलादेश सरकारले पत्राचार गरेसँगै समस्या समाधान भएको हो ।

सोबारे निर्णयको पत्र नेपाल सरकारलाई प्राप्त भएको शिक्षा मन्त्रालयले जनाएको छ । बंगलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्नका लागि नेपाल सरकारका तर्फबाट १९ एमबिबिएस र ३ बिडिएस गरी २२ जनाको नाम चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत् बंगलादेश पठाएको थियो । नाम सिफारिस गरिएकामध्ये २ जनाले अन्तिम सूचीका लागि आवेदन दिएका थिएनन् । बंगलादेशबाट अन्तिम सूचीमा १२ जनाको मात्रै नाम आएको चिकित्सा शिक्षा आयोगले जनाएको थियो ।

यसरी सिफारिस भएका विद्यार्थीको सूची हेरफेर भएर आएकोबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले नेपालस्थित बंगलादेशी राजदूतसँग छलफल गरेकी थिइन् । नामावली हेरफेरका सम्बन्धमा परराष्ट्र मन्त्रालयले बंगलादेश सरकारलाई ‘कूटनीतिक नोट’ पठाएकामा त्यसको जबाफमा बंगलादेशले छुटेका ८ जनालाई समावेश गर्ने निर्णयसँगैको पत्र कूटनीतिक नोटमार्फत् जानकारी दिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्री श्रेष्ठले विभिन्न कारणले उत्पन्न समस्याले विद्यार्थीमा अन्योल छाएकामा सो समस्या समाधान गर्न अहोरात्र खटिने सबैलाई धन्यवाद दिएकी छिन् । विद्यार्थीलाई मन्त्रालयमै बोलाएर छलफल गरेकी मन्त्री श्रेष्ठले भनिन्, ‘नयाँ ठाउँमा नयाँ संस्कृतिमा घुलमिल हुन समय लाग्छ । आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यको ख्याल गर्नुहोला । मिहिनेत गरेर सफल भई स्वदेशको सेवा गर्न फर्केर आउनुहोला ।’

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि बंगलादेशका राजदूत, ढाकास्थित नेपाली दूतावासका राजदूत र बंगलादेश सरकारलाई धन्यवाद दिँदै मन्त्री श्रेष्ठले भनिन् ‘यो विषयलाई प्रमुखताका साथ उठाउने संघीय संसद्का सदस्यलाई पनि धन्यवाद छ । विद्यार्थीको गुनासो आएकै दिनदेखि समस्या समाधानका लागि खटिने मन्त्रालयका कर्मचारीलाई म विशेष धन्यवाद दिन चाहन्छु ।’

प्रतिक्रिया