राष्ट्रिय स्वतन्त्र पार्टी पुँजीवादी चरित्रको पार्टी हो । यसको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट छैन । संविधान, गणतन्त्र र सङ्घीयताप्रति यसको दृष्टिकोण के हो भन्ने पनि स्पष्ट छैन । नवउदारवादको वकालत गर्ने यस पार्टीले आफुलाई मध्य दक्षिणपन्थीका रूपमा प्रस्तुत गर्ने गरेको छ । त्यसैबाट स्पष्ट हुन्छ कि यस पार्टीले दक्षिणपन्थी दृष्टिकोण राख्दछ । यसले दलाल पूँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्दछ ।
निर्वाचन आयोगमा विभिन्न वर्ग चरित्र भएका र विभिन्न दर्शन, सिद्धान्त, विचार एवम् दृष्टिकोण अँगालेका ११८ राजनीतिक दल दर्ता छन् । दर्ता भएका सबै दल सकृय छैनन् । गत निर्वाचनमा ५२ दलले भाग लिएका थिए र तीमध्ये केवल १२ दलले मात्र सङ्घीय संसदमा स्थान प्राप्त गर्न सकेका छन् । अहिले मुलुकको राजनीतिक रङ्गमञ्चमा संसदमा रहेका १२ राजनीतिक दल र निर्वाचनमा भाग नलिएका केही दल क्रियाशील देखिन्छन् ।
हाल क्रियाशील राजनीतिक दलहरूको संक्षिप्त विश्लेषण निम्नानुसार गर्न सकिन्छ :–
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) : हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) २००६ बैशाख १० मा स्थापित नेपाल कम्युनिष्ट पार्टीको वर्तमान रूप हो । हाल प्रतिनिधि सभामा १० र राष्ट्रिय सभामा ८ सिटका साथ रहेको यो पार्टी नेपाली श्रमजीवी वर्गको सच्चा क्रान्तिकारी प्रतिनिधि हो । यो पार्टी आजसम्मका सबै जनसङ्घर्ष, जनआन्दोलन र जनक्रान्तिबाट प्राप्त उपलब्धिहरूको रक्षा एवम् विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी आर्थिक–सामाजिक–सांस्कृतिक रूपान्तरणमार्फत समाजवादी व्यवस्था निर्माणको दिशामा अग्रसर हुन र नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापना कालदेखि नै अगाडि सार्दै आएको वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्य हासिल गर्न दृढसङ्कल्पित छ । यस पार्टीको अबको रणनीतिक लक्ष्य नेपाली समाजमा रहेका सबैखाले शोषण, दमन र उत्पीडनको अन्त्य गरी मुलुकमा वैज्ञानिक समाजवाद स्थापना गर्नु हो ।
नेपाली कांग्रेस : अहिले प्रतिनिधि सभामा ८८ सिटसहित सबैभन्दा ठूलो दलका रूपमा रहेको नेपाली कांग्रेस पूँजीवादी चरित्रको पार्टी हो । नव उदारवादको पक्षपोषण गर्ने यस पार्टीले दलाल–नोकरशाही पूँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्दछ । प्रजातान्त्रिक समाजवादको वकालत गर्ने र लोकतन्त्र एवं गणतन्त्र प्राप्तिको सङ्घर्षमा सकारात्मक भूमिका निर्वाह गरेको यो पार्टी याथास्थितिमा रमाउने गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) : प्रतिनिधि सभामा ७८ सिट भएको नेकपा (एमाले) दक्षिणपन्थी अवसरवादी प्रवृत्ति बोकेको कम्युनिष्ट पार्टी हो । मुलुकमा जनवादी क्रान्ति सम्पन्न भइसकेको अवस्थामा समाजवादी कार्यक्रम र कार्यदिशा अँगाल्नु पर्नेमा त्यसो गर्न नसकेको हुनाले यस पार्टीको विचार र व्यवहार दुवै दक्षिणपन्थी भएको स्पष्ट हुन्छ । संविधानको मूल मर्म र भावनामाथि प्रहार गर्न पछि नपरेको यो पार्टी नीति प्रधान नभएर नेता प्रधान हुँदै गएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : प्रतिनिधि सभामा ३२ सिटसहित रहेको नेकपा (माओवादी केन्द्र्र) सशस्त्र द्वन्द्वको सञ्चालनदेखि शान्तिप्रक्रिया हुँदै आहिलेसम्म आउँदा रूपान्तरणको प्रक्रियाबाट गुज्रिएको छ । नेकपाको विभाजनपछि फेरि माओवाद अँगालेको हुँदा यो पार्टी स्वयं सैद्धान्तिक अन्योलमा फसेको छ । जनवादी क्रान्तिका उपलब्धीहरूको रक्षा गर्न प्रतिवद्ध देखिन्छ । समाजवादी मोर्चामा हामी सँगै छौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी : प्रतिनिधि सभामा २१ सिटका साथ रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पूँजीवादी चरित्रको पार्टी हो । यसको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट छैन । संविधान, गणतन्त्र र सङ्घीयताप्रति यसको दृष्टिकोण के हो भन्ने पनि स्पष्ट छैन । नवउदारवादको वकालत गर्ने यस पार्टीले आफुलाई मध्य दक्षिणपन्थी ९च्ष्नजत तय तजभ ऋभलतभच० को रूपमा प्रस्तुत गर्ने गरेको छ । त्यसैबाट स्पष्ट हुन्छ कि यस पार्टीले दक्षिणपन्थी दृष्टिकोण राख्दछ । यसले दलाल पूँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्दछ । यो पार्टी प्रतिनिधि सभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी हो । सस्तो लोकप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिक्रियावादको सेवा गर्ने गर्दछ । यस पार्टीले पनि त्यही भूमिका निर्वाह गर्दै आएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी : प्रतिनिधि सभामा १४ सिटका साथ रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी सामन्ती तथा दलाल–नोकरशाही पूँजीवादी चरित्रको पार्टी हो । यस पार्टीले समाजमा अवशेषको रूपमा रहेको सामन्ती पछौटे एवम् पश्चगमनकारी चिन्तनको प्रतिनिधित्व गर्दछ । यो पार्टी संविधान, गणतन्त्र र सङ्घीयता विरोधी पार्टी हो । यसले जनताको क्रान्तिकारी आन्दोलनले उखेलेर फ्याँकेको सामन्ती राजतन्त्रलाई पुनःस्थापना गर्न चाहन्छ र राज्यलाई धर्मसँग जोडेर मुलुकलाई हिन्दू राष्ट्रमा परिणत गर्न चाहन्छ ।
जनता समाजवादी पार्टी : प्रतिनिधि सभामा १२ सिटका साथ रहेको जनता समाजवादी पार्टी समाजवादी कार्यदिशा अँगालेको पार्टी हो । मुख्यतः मधेश प्रदेशमा प्रभाव राख्ने यस पार्टीले मधेशको मध्यम वर्गीय तप्काको प्रतिनिधित्व गर्दछ र कैयन् प्रगतिशील एजेण्डाप्रति सकारात्मक धारणा राख्दछ । गणतन्त्र र सङ्घीयताप्रति प्रतिवद्ध देखिने यो पार्टी हामीसहितको समाजवादी मोर्चामा सामेल छ ।
जनमत पार्टी : प्रतिनिधि सभामा ६ सिटका साथ रहेको जनमत पार्टी विगतमा मधेशलाई नेपाली आन्तरिक उपनिवेशबाट मुक्त गरी स्वतन्त्र राज्य बनाउनु पर्दछ भन्ने पृथकतावादी सोंच अँगालेर आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेको पार्टी हो । अहिले संविधान मान्ने र त्यस अन्तर्गत रहेर राजनीति गर्ने गरी अगाडि बढेको छ । यो पार्टी गणतन्त्र र सङ्घीयताप्रति प्रतिवद्ध देखिन्छ । यस पार्टीमा अझैं पनि विगतको धङ्धङी झल्किन्छ ।
लोकतान्त्रिक समाजवादी पार्टी : प्रतिनिधि सभामा ४ सिटका साथ रहेको लोकतान्त्रिक समाजवादी पार्टी पूँजीवादी चरित्रको पार्टी हो । मुख्य गरी मधेश प्रदेशमा केन्द्रित रहेको र मधेशका मुद्दामा नै बढी चासो राख्ने यो पार्टीले पनि मधेशको मध्यम वर्गीय तप्काको प्रतिनिधित्व गर्दछ । यो पार्टी गणतन्त्र र सङ्घीयताप्रति प्रतिवद्ध देखिन्छ ।
नागरिक उन्मुक्ति पार्टी : प्रतिनिधि सभामा ४ सिटका साथ रहेको नागरिक उन्मुक्ति पार्टी जातीय पहिचान र अधिकारमा जोड दिने पार्टी हो । यो पार्टी थारु जातिको पहिचान र अधिकारलाई मुख्य विषय बनाएर सङ्गठित एवम् क्रियाशील छ । यसको वर्ग चरित्र स्पष्ट छैन । गणतन्त्र र सङ्घीयताप्रति भने प्रतिवद्ध नै देखिन्छ ।
नेपाल मजदुर किसान पार्टी : प्रतिनिधि सभामा १ सिटका साथ रहेको नेपाल मजदुर किसान पार्टी जडसूत्रवादी एवम् सङ्कीर्ण चरित्रको कम्युनिष्ट पार्टी हो । यो पार्टी मूलतः श्रमजीवी वर्गको पक्षमा उभिन्छ तर नेतृत्वमा रहेको निम्नमध्यम वर्गीय चरित्र, सैद्धान्तिक जडता र सङ्कीर्णताले गर्दा निरन्तर खुम्चिदै गएको छ । भक्तपुर जिल्लामा सीमित यो पार्टी संविधान र गणतन्त्रप्रति प्रतिबद्ध नै देखिन्छ ।
राष्ट्रिय जनमोर्चा : प्रतिनिधि सभामा १ सिटका साथ रहेको राष्ट्रिय जनमोर्चा नेकपा (मसाल) को खुला राजनीतिक सङ्गठन हो । वामपन्थी चरित्रको यो पार्टी संविधान र गणतन्त्रप्रति प्रतिबद्ध तर सङ्घीयताप्रति भने नकारात्मक धारणा राख्दछ ।
नेपाल कम्युनिष्ट पार्टी : यो नेकपा (माओवादी) बाट विभाजित भएर बनेको पार्टी हो । वर्तमान संविधान अस्वीकार गरी विद्रोहको नीति लिएको र चुनाव बहिष्कार गरेको यो पार्टी अहिले संविधान मानेर शान्तिपूर्ण राजनीति गर्ने बाटोमा आएको छ र हाम्रो पार्टी समेत सामेल रहेको समाजवादी मोर्चामा पनि रहेको छ । यो पार्टी गणतन्त्र, सङ्घीयता र समाजवादप्रति प्रतिबद्ध रहेको छ ।
अन्य पार्टीहरू : माथि चर्चा गरिएकाबाहेक नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी), नेपाल समाजवादी पार्टी, आम जनता पार्टी, विवेकशील साझा पार्टीलगायतका साना पार्टीहरू पनि केही गतिविधिका साथ अस्तित्वमा छन् ।
उपर्युक्त सबै पार्टीहरूसँग हाम्रो सम्बन्ध वित्तीय तथा दलाल–नोकरशाही पुँजीवादबारे उनीहरूको दृष्टिकोणमा भरपर्छ । कतिपयले मुलुुकको समाजवादी रूपान्तरणको कुरा गर्छन् तर जनक्रान्तिका उपलब्धीको रक्षा र विकासप्रति उनीहरूको दृष्टिकोण गलत छ भने कतिपयले संविधानको रक्षा र विकासको पक्षमा आफुलाई उभ्याएका त छन् तर मुलुकको समाजवादी रूपान्तरणप्रति नकारात्मक दृष्टिकोण राख्दछन् । त्यसैगरी कतिपय ती दुवै विषयमा नकारात्मक वा अस्पष्ट छन् । नेकपा (एकीकृत समाजवादी) ले जनक्रान्तिका उपलब्धीको रक्षा र विकास तथा समाजवादी रूपान्तरणका मुद्दाहरूमा ती राजनीतिक दलहरूको दृष्टिकोण र व्यवहार अनुसार उनीहरूसँग मित्रवत् वा सहकार्य र सङ्घर्षको सम्बन्ध राख्दछ ।
(नेकपा (एकीकृत समाजवादी) को आगामी असार १६—२० गते हुने १०औं महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजको अंश)
प्रतिक्रिया