यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट पालिकाको केन्द्र दरबाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ । मालिका–१ र मंगला गाउँपालिका–५ लाई दरबाङसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै निस्कोट यातायात सञ्जालसँग जोडिएको हो ।

पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिकाको व्यापारिक केन्द्रका रुपमा रहेको दरबाङ बजार मालिका गाउँपालिकाको केन्द्र पनि हो ।

छ्यारछ्यारेमा पुल निर्माण भएपछि निस्कोटको दरबाङसँग सिधा यातायात सम्पर्क स्थापित भएको मालिका–१ का वडाध्यक्ष टंकप्रसाद पुनले बताए । ‘१५ वर्षअघि सडकले जोडिए पनि निस्कोटमा बर्खामा यातायात सञ्चालन बन्द हुँदै आएको थियो’, उनले भने, ‘छ्यारछ्यारेमा पुल बनेपछि सिंगो वडामा बाह्रै महिना यातायात सम्पर्क स्थापित भएको छ ।’

पूर्वाधार विकास कार्यालय म्याग्दीले प्रदीप जुम्ली जेभीसँग विसं २०७७ साउन ४ गते रु चार करोड ४५ लाख ८१ हजारमा ४० मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । उक्त योजनाअन्तर्गत ‘स्टिल ट्रष्ट’ प्रविधिको मोटरेबल पुल निर्माण भएर सञ्चालनमा आएको कार्यालयका प्रमुख इञ्जिनियर विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार स्टिल ट्रस्टमाथि ढलान गरी दुवैतर्फ फुटपाथ बनाइएको छ ।

हिउँदयाममा म्याग्दी खोलाबाटै जोखिमपूर्ण यात्रा गर्नुपर्ने र बर्खायाममा पूर्णरुपमा सवारी आवागमन बन्द हुने गरेको अवस्थामा पक्की पुल निर्माण भएपछि राहत भएको मंगला–५ छिस्वाङका तिलक गौतमले बताए ।

उनका अनुसार यो पुल निर्माण भएसँगै निस्कोटका साथै मंगला गाउँपालिकाको छिसवाङ, टिकवाङ र मालिका गाउँपालिकाको रुम र छिमेकी जिल्ला बागलुङको ताराखोलाका सर्वसाधरणसमेत लाभान्वित भएका छन् । निस्कोटबाट मंगलाको टिकवाङ–रुम–बागलुङको ताराखोला–खोप्टी–छिसवाङसम्म सडक सञ्जालले विस्तार भएको छ ।– रासस

प्रतिक्रिया