सूर्यदर्शन सहकारी ठगी प्रकरण : एमाले निकट महेन्द्र भोटे पाँच लाख धरौटीमा रिहा

काठमाडौं । कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका महेन्द्र भोटे धरौटीमा रिहा भएका छन् ।
१७ करोड बिगो रकम तिर्ने कबुल गरेपछि उनी पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले धरौटीमा रिहा गर्ने आदेश गरेको हो । महेन्द्र नेकपा एमाले निकट युवा संघका नेता हुन् । उनी गएको स्थानीय तहको निर्वाचनमा मादी गाउँपालिकामा अध्यक्षमा पराजित भएका थिए ।

जिल्ला अदातलमा दर्ता भएको मुद्धामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको थियो ।

सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सहकारी ठगी मुद्दामा १९ जनालाई प्रतिवादी बनाइएको छ । सहकारी ऐनको दफा १२२ (घ), (ङ), (च), (छ), (ज) र (त) अनुसारको कसूरमा दफा १२४ (घ) र घ (६) अनुसार बिगो बमोजिम जरिवाना र ८ देखि वर्ष कैद सजायको माग गरिएको थियो ।

सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख थियो ।

सहकारीको रकम सबैभन्दा बढी जीबीका दाजुभाइ अध्यक्ष हुँदा अपचलन भएको देखिएको थियो । २०६५ असार २६ गतेदेखि २०६८ मंसिर १७ गतेसम्म ज्ञानबहादुर वम्जन अध्यक्ष हुँदा १९ करोड २ लाख ८४ हजार रुपैयाँ अपचलन भएको पाइएको छ ।

त्यसपछिको कार्यकालमा जीबी राई नै अध्यक्ष बनेका थिए । उनको कार्यकालमा १९ करोड २८ लाख ४९ हजार रुपैयाँ अपचलन भएको देखिएको छ । उनी २०६८ मंसिर १७ गतेदेखि २०७३ मंसिर १८ गतेसम्म अध्यक्ष थिए ।

त्यसपछिको कार्यकाल जीवीकै दाइ भूपेन्द्र अध्यक्ष थिए । २०७३ मंसिर १८ गतेदेखि २०७८ कात्तिक १७ गतेसम्म भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७२ लाख ३३ हजार रुपैयाँको कर्जा करोबार भएको थियो ।

प्रतिक्रिया