सञ्चार क्षेत्रमा स्वर्गीय रामा यादवको योगदान स्मरणीय – नगरप्रमुख साह

रौतहट । जिल्लाको पहिलो टेलिभिजनको सञ्चालिका सञ्चार उद्यमी स्वर्गीय रामा यादवको जीवनमा आधारित वृत्तचित्रको शुक्रबार रेड टेलिभिजनको कार्यालय गौरमा आयोजित एक कार्यक्रममा बिमोचन गरिएको छ । सञ्चारक्षेत्रमा महिला भएर पनि गरेको योगदानलाइ मध्यनजर गर्दै निर्माण गरिएको संक्षिप्त वृत्तचित्रको गौर नगरपालिकाका नगरप्रमुख शम्भू साहले विमोचन गरेका हुन् ।
जयरामा मिडिया प्रालि गौरले आयोजना गरेको श्रीमती रामा यादवको तेस्रो पूण्यतिथिको सम्झनामा वृत्तचित्र विमोचन कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नगरप्रमुख साहले समाजको परिवर्तनका लागि रामा यादवले गरेको कार्य सदैव भरी सम्झनामा रहने बताए ।

समाजमा रहेका कु संस्कार, विसंगति, अन्यायलाई हटाएर सुशासन, न्याय, समानता ल्याउने उद्देश्यले स्वर्गीय रामा यादवले गरेको योगदान स्मरणीय रहने उल्लेख गर्दै रामा यादवले देखेका सपना पूरा गर्न सबैले आआफ्नो तर्फबाट सहयोग गर्नुपर्ने आग्रह गरे ।

गौर नगरपालिकालाई समृद्ध नगरपालिका बनाउने आफ्नो लक्ष्य रहेको बताउँदै विकास निर्माण, सामाजिक परिवर्तन, सुशासन तथा न्यायको पक्षमा कलम चलाएर सहयोग गर्नुपर्ने धरना राखे । मुलुकको आर्थिक अवस्था दिनप्रतिदिन कमजोर हँुदै गएको अवस्थामा नेपाल सरकार बजेट कटौती गर्दा विकास निर्माणमा नकारात्मक प्रभाव पर्ने सम्भावना रहेको बताए !

पटकपटक बजेट कटौतीले गर्दा बनाइएको योजना कार्यान्वयनमा असर पुग्ने भएकोले यस्तो कार्य नगर्न नेपाल सरकारलाई आग्रह गरे । मेयर साहले नगरपालिकाको विकासमा सबैको सकारात्मक सहयोगको अपेक्षा गरेको बताए । उनले भने, ‘योजना निर्माणदेखि लिएर कार्यान्वयनसम्म राय सल्लाह सुझाव दिनु त्यसलाई आत्मसात गरेर अघि बढनेछु ।’

रौतहटको पहिलो टेलिभिजनको रूपमा स्थापना भएको रेड टेलिभिजनको सञ्चालनमा नगरपालिकाबाट सकेसम्म सहयोग गर्ने प्रतिवद्धतासमेत उनले जनाए ।

कार्यक्रममा गौर नगरपालिका–५ का वडा अध्यक्ष शिवशंकर यादवले स्वर्गीय रामा यादवले गरेको कार्य वन्दनीय रहेको भन्दै आफ्नो तर्फबाट ५१ हजार रुपैयाँ बराबरको सामग्री सहयोग गर्ने घोषणा गरे ! जयरामा मिडिया प्रालिका अध्यक्ष जयप्रकाश यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ पत्रकार प्रभातकुमार झा, पत्रकार राकेश कुमार यादव, दिनेश यादव संगम, अभिमन्यु कुमार पटेलले स्वर्गीय रामा यादवको योगदानको चर्चा गर्दै संवेदन प्रकट गरेका थिए ।

२०७७ सालमा सञ्चालनमा आएका रेड टेलिभिजनका सञ्चालिका रामा यादवको २०७८ सालमा कायम रहेको कोरोना भाइरसको दोस्रो लहरमा वैशाख २८ गते कोरोनाको संक्रमणबाट ३० वर्षकै अल्पायुमै निधन भएको थियो । रामा यादवको निधन भएपछि उनको श्रीमान जयप्रकाश यादवले आफ्नो पत्नीको नाममा रामादेवी स्मृति प्रतिष्ठान स्थापना गरी स्वास्थ्य क्षेत्रमा कलम चलाउने महिला पत्रकारलाई रामा यादव पत्रकारिता पुरस्कार वितरण गर्दै आएका हुन ।

२६ हजार १ रुपैयाँ नगद राशि भएको सो पुरस्कार स्वास्थ्य क्षेत्रमा सुधारको लागि लेख्ने महिला पत्रकारलाइ प्रदान गरिने अध्यक्ष यादवले बताए । स्वास्थ्य उपचारको आभावमा कसैको जीवन अन्त्य नहोस्, स्तरीय स्वास्थ्य सेवा उपलब्ध होस् भन्ने विषयमा कलम चलाउने महिला पत्रकारलाई प्राथमिकता दिएको बताउँदै यस वर्ष जेठ १९ गतेका दिन यो पुरस्कार प्रदान गरिने उनले बताए ।

प्रतिक्रिया