‘सरकारको कारण बैंकहरूको नाफामा असर पर्यो’

काठमाडौँ । राज्यले बैंकको कोर क्यापिटल बिनाकारण राज्यले खोसेर लैजाँदा बैंकहरूको नाफा नकारात्मक हुन पुगेको बैंकर्सहरूले बताएका छन् । बिहीबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले काठमाडौँमा आयोजना गरेको वर्तमान आर्थिक संकट र अबको सम्भावना विषयमा राष्ट्रिय सम्मेलमा बोल्दै बैंकर्सहरूले यस्तो बताएका हुन् । उनीहरूले सरकारले बिनाकारण अनावश्यक नीति लिएर बैंकहरूबाट ३१ अर्ब रुपैयाँ लिएकाले बैंकहरू दबाबमा रहेको बताए । उनीहरूले सरकारले लिने नीतिहरूको कारण पछिल्लो समय बैंकिङ क्षेत्रको समेत मनोबल कमजोर भएको र लगानी गर्ने आत्मबलसमेत घटेको बताए । बैंकर्सहरूले सरकारले बैंकिङ क्षेत्रलाई स्थायित्व र बलियो बनाउनका लागि सरकारले जथाभावी नीति अपनाउन नहुने बताए । उनीहरूले बैंकमा खर्बौं लगानीयोग्य रकम हुँदा पनि कर्जा विस्तार हुन नसक्नु निजी क्षेत्रको कमजोर मनोबलका कारण रहेको उल्लेख गरे ।

उनीहरूले बैंकहरूले अर्बमा नाफा गर्ने भाष्य कायम भए पनि चालु आवमा बैंकहरूको नाफा उच्च रूपमा गिरावट भएको भन्दै त्यसले बैंकहरू अप्ठ्यारो अवस्थामा रहेको बताए । नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले नेपालमा बैंकहरूमा कर्जाको ब्याजदर घटेर १ महिनाअघिको एभरेज लेन्डिङ रेट १० दशमलव ७८ रहेको बताए । उनले एभरेज लेन्डिङ रेट १० दशमलव ७८ रेट प्रि–कोभिडभन्दा कम भएको दाबी गरे ।

उनले १ वर्ष अघिसम्म बैंकको ब्याजदर बढी भएर व्यापार व्यवसाय चलायमान हुन सकेको भनिए पनि अहिले बैंकको ब्याजदर कम हुँदा पनि व्यापार व्यवसाय चलायमान हुन नसक्नु ठूलो प्रश्न खडा भएको बताए । अध्यक्ष केसीले ब्याजदर एकल अंकमा आइसक्दा रियल स्टेट, सेयर मार्केटमा सुधार आउन नसक्नु निजी क्षेत्रको मनोबल कमजोर हुनु रहेको दाबी गरे । उनले पछिल्लो २० वर्षमा पहिलोपटक निजी क्षेत्रको आत्मबल कमजोर भएको बताए । उनले निजी क्षेत्रको आत्मविश्वास नभएपछि बैंकिङ क्षेत्रलाई असर गर्न थालेको उल्लेख गरे ।

उनले अहिले बैंकको रिटर्न इक्विटी ८ दशमलव ८५ प्रतिशत रहेको बताए । उनले ६१ सय अर्ब जति निक्षेप लगानी गरेको र ५१ सय अर्ब कर्जा विस्तार भएको बताए । उनले चालु आवको अन्त्यसम्ममा ६ प्रतिशतको मात्रै कर्जा बिस्तार हुने अपेक्षा रहेको बताए । उनले ५ खर्बको लगानीयोग्य रकम बैंकहरूले लिएर बस्दासमेत कर्जा माग हुन नसकेको बताए । अध्यक्ष केसीले हरेक दिनको निक्षेपलाई राष्ट्र बैंकमा ३ प्रतिशत ब्याजमा राख्न बैंकहरूले दैनिक घाटा बेहोर्नुपरिरहेको गुनासो गरे । उनले निजी क्षेत्रका मुद्दाहरू र सरकारले नीतिगत रूपमा गरेका कामले निजी क्षेत्र मात्रै नभएर बैंकिङ क्षेत्रको पनि मनोबल कमजोर भएको दाबी गरे ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाली बैंकहरूको कर्जा बिस्तार तल्लो तहसम्म अझै पुग्न नसकेको बताए । उनले सबै मानिसहरूमा वित्तीय पहुँच पुग्न नसकेको अवस्था बैंकहरूले स्वीकार गर्न सक्नुपर्ने बताए । उनले नेपालको जिडिपीमा वृद्धि हुन नसक्नुको दोष कर्जा बिस्तारलाई दिनु नहुने बताए । उनले कर्जा बिस्तार १० प्रतिशतसम्म निरन्तर हुँदा पनि जिडिपी ग्रोथ ५ प्रतिशतमा सीमित रहेको बताए । उनले जिडिपीभन्दा बैंकको कर्जाको विस्तार बढी भए पनि नेपाली सबैमा बैंकको कर्जा पहुँचमा नपुगेको उल्लेख गरे । उनले चालु आवमा १२ बैंकको नाफा नकारात्मक रहेको बताए ।

उनले सरकारले बैंकहरूको बिनाकारण कोर क्यापिटलको ३१ अर्ब रुपैयाँ खोसेर लैजाँदा समस्या भएको बताए । उनले बैंकहरूको कोर क्यापिटलबाट ३१ अर्ब रुपैयाँ खोसेर लैजाँदा नाफामा असर परेको बताए । बज्रचार्यले सरकारले हुँदै नभएको नीति ल्याउँदा बैंकहरूलाई दबाब परेको उल्लेख गरे । उनले अर्थतन्त्र चलायमान भएन मात्रै भनिरहेको तर के कारणले भयो भनेर विश्लेषण गर्न नसकेको बताए । उनले असारदेखि चैत मसान्तसम्म १० बिलियन प्रोभिजन गरिसकेको बताए ।

प्रतिक्रिया