स्विट्जरल्यान्डले ९० लाख डलर अनुदान सहयोग दिने

काठमाडौँ । नेपाल सरकार र स्विट्जरल्यान्ड सरकारबीच पदमार्गमा आधारित पर्यटन विकास परियोजना सुरु गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि स्विट्जरल्यान्ड राजदूत डेनियल मेउलीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता कार्यक्रममा बोल्दै सहसचिव नेपालले यो परियोजनाले कोसी प्रदेशका आकर्षक पदमार्गहरूको स्तरोन्नति गरी स्थानीय आर्थिक विकास र दिगो पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ सम्झौता गरिएको बताए । उनले आयोजना आगामी ४र वर्षमा स्विट्जरल्यान्ड सरकारको ९ दशमलव शून्य १ मिलियन अमेरिकी डलर अनुदान सहयोगमा सञ्चालन हुने बताए ।

उनले १६ मिलियन डलर बराबरको आयोजनामा प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीसमेत रहने बताए । उनले कोसी प्रदेशको २९ स्थानीय सरकार र कोसी प्रदेश सरकारसँगको सहकार्यमा आयोजनाले करिब २ हजार स्थानीय तहलाई रोजगारी सिर्जना गर्ने र ट्रेल निर्माणका क्रममा नगदका लागि काम गरेर ५ लाख व्यक्तिलाई रोजगारी दिने योजना रेहेको बताए । आयोजनाले स्थानीय समुदायहरूलाई बढावा दिन र यस क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्दै वार्षिक रूपमा लगभग ८० हजार आगन्तुकहरूलाई स्वागत गर्ने अपेक्षा गरिएको बताए । उनले कोसी प्रदेशमा दिगो सामाजिक–आर्थिक विकासका लागि नेपाल–स्विस साझेदारीमा अर्को कोसेढुंगा सावित हुने विश्वास रहेको बताए ।

प्रतिक्रिया