उपनिर्वाचनले दिएको सन्देश

इलाम क्षेत्र नं २ मा रिक्त प्रतिनिधिसभा सदस्य र बझाङ १ मा रिक्त प्रदेशसभा सदस्य पदका लागि उपनिर्वाचन सम्पन्न भएको छ । दुवै क्षेत्रमा नेकपा एमालेले जितेको छ । एमालेका सांसद सुवास नेम्वाङको निधनका कारण इलाममा उपनिर्वाचन भएको हो भने नेपाली कांग्रेसका सांसद पृथ्वीबहादुर सिंहको निधन भएका कारण बझाङमा उपनिर्वाचन भएको हो । दुवै क्षेत्रमा नेकपा एमालेले जितेको छ । यो परिणामले प्रतिनिधिसभामा दलहरूको साविक सिट संख्यामा कुनै अन्तर नपेर पनि सुदूरपश्चिम प्रदेशको सिट संख्यामा भने तलमाथि भएको छ । सरकार गठन तथा विघटनका लागि एक–दुई सिटको समेत विशेष महत्व हुने गरेको सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको एक सिट घट्नु र एमालेको एक सिट बढ्नु भनेको अर्थपूर्ण हो । यसबाहेक उपनिर्वाचनको परिणामले खासै ठूलो नयाँ सन्देश दिएको छैन । एक हिसाबले भन्नुपर्दा यो परिणामलाई गत आमनिर्वाचनकै ‘फोटोकपी’ भन्दा हुन्छ । सत्ताको नेतृत्व गरेको माओवादीको साख खस्किए पनि उसले अझै तास पत्तीको जस्तै जोक्करको भूमिका निर्वाह गर्न सक्ने संकेत मत परिणमले देखाएको छ । मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेसलाई चुनाव जित्नका लागि माओवादीको साथ अझै पनि आवश्यक रहेछ भन्ने देखिएको छ । आगामी निर्वाचनमा माओवादीसँग तालमेलका लागि कांग्रेस र एमालेले फेरी प्रयास गर्ने संभावनालाई बढाएको छ ।

विद्यमान प्रमुख राजनीतिक दलहरूको विकल्पमा लोकतान्त्रिक प्रक्रिया भित्रैबाट बलियो नयाँ राजनीतिक शक्तिको उदय हुने संभावनालाई भने उपनिर्वाचनको परिणामले ओझेलमा पारेको छ । यसको उदाहरण हो, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको मत ।’ गत आमनिर्वाचनमा अधिकांश मतदाताले यो पार्टीको नाम सुनेकै थिएनन्, तैपनि इलाम क्षेत्र नं २ बाट समानुपातिकतर्फ मत प्राप्त गरेको थियो । तर, यतिबेला भने सबै मतदाताकहाँ पुग्ने अवसर रास्वपाले पाएको थियो । दोस्रोपटक सत्तारूढ भएको रास्वपाले यो निर्वाचनमा आफ्नो शक्ति र सामथ्र्यलाई हदैसम्म उपयोग गरेको थियो । तर, गत आमनिर्वाचनको भन्दा खासै मत बढेन । जमानतसमेत जोगाउन सकेन । तर, कोसी प्रदेश नामकरणविरुद्ध आन्दोलनरत शक्तिद्वारा पहिचानवादको एजेन्डा अघि सारेर खडा गरिएका डेकेन्द्रसिंह लिम्बु थेगिमले प्राप्त गरेको मतलाई भने प्रमुख राजनीतिक शक्तिहरूले नजरअन्दाज गर्न मिल्दैन । त्यसमा पनि नेकपा एमालेले त झन् मिल्दै मिल्दैन । किनभने गत आमनिर्वाचनमा आफूले प्राप्त गरेको मतलाई नेपाली कांग्रेसले जोगाएको देखियो । तर, कम्युनिस्ट पार्टीहरूको मत भने उल्लेख्य रूपमा घटेको देखियो । चुनाव एमालेले जिते पनि बाजी भने पहिचानवादी पक्षले मारेको छ । पहिचान पक्षधर स्वतन्त्र उम्मेद्वार थेगिमले प्राप्त गररेको मत सम्मानजनक हो । उम्मेद्वारले चुनाव हारे पनि पहिचानवादको एजेन्डाले जितेको विश्लेषण गरिएको छ ।

सम्पन्न उपनिर्वाचनको परिणामले सत्तासमीकरणको अंक गणितमा परिवर्तन नल्याएको कुरा सत्य हो, तर बस्तुगत परिस्थितिमा भने केही न केही परिवर्तन ल्याउने संभावना देखाएको छ । पहिलो कुरा माओवादीका भोट आफ्ना उम्मेद्वारलाई नपरेको प्रतिक्रिया एमालेका जिल्लास्तरीय नेताहरूले दिएका छन् । सत्ता सहयात्री दल एकीकृत समाजवादीका उम्मेद्वारले ल्याएको नगन्य भोटले एमाले अध्यक्ष ओली उसलाई पेल्न अझै बढी उत्साहित देखिनेछन् । यता दोस्रोपटककोे सत्तारोहण पार्टीका लागि घातक भएको र यही पाराले मिसन २०८४ सफल हुन नसक्ने कुरा रास्वपामा उठ्न थालिसकेको छ । उँभोगतिको तुलनामा उँधोगति धेरै छिटो हुन्छ भन्ने कुरा रास्वपाले बुझेको छ । इलामको यो चुनावी परिणामले रास्वपाको भविष्य लामो छैन भन्ने सन्देश दिएको छ । मिसन २०८४ को अभियानका लागि पनि रास्वपा सरकारबाट बाहिरिनुपर्छ भन्ने सन्देश उपचुनावी परिणामले दिएको छ । रास्वपा सरकारबाट बाहिरिनु भनेको प्रचण्डको प्रधानमन्त्री पद धरापमा पर्नु हो ।

प्रतिक्रिया