फेवातालमा डुंगा दुर्घटना

पोखरा । पोखराको फेवातालमा डुंगा दुर्घटना भएको छ । अचानक आएको हावाहुरीका कारण डबल प्याडल बोट दुर्घटना हुँदा बोटिङ गरिरहेका काठमाडौं–२९ का ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षीया आशिफा बानु, ५४ वर्षीया अनैजादिल साह, ८ वर्षीया रजिना खातुन र करिब डेढ वर्षीया मिरा रानी फेवाताल नजिकै रहेको माछापालन केन्द्रको जालमा अड्किएका थिए ।

दुर्घटनामा परेका पाँचै जनालाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । दुर्घटनालगत्तै नम्बर २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा खटिएको विपद् व्यवस्थापन सहितको टोलीले उनीहरूको तत्कालै उद्धार गरेको हो ।

दुर्घटनामा परेकाहरूको अवस्था सामान्य छ । यसअघि चैत २५ र २९ गते पनि फेवातालमा अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिएको थियो । सो दुर्घटनामा परेका १ पुरुष र महिलालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो ।

प्रतिक्रिया