आगलागीपछि बासबिहीन भए अर्घाखाँचीमा १३ परिवार

अर्घाखाँची । भूमिकास्थान नगरपालिका–३ रातामाटाकी वसन्ता मल्ल आइतबार दिउँसो खरानी सोहोर्दै थिइन् । आगलागीबाट घरसहित अन्नपात, लत्ताकपडा खरानी बनाएपछि गहभरि आँसु झार्दै उनले भनिन्, ‘भएको बास खरानी भयो गाँस र वासको पनि टुंगो छैन, कहाँ बस्ने कहाँ खाने ।’ शनिबार दिउँसो वनमा लागेको आगो बस्तीमा सल्किँदा उनको घर जलेर खरानी भएको थियो । त्यही खरानी स्याहार्दै उनले बिलौना गरिन् ।

‘घरमा रहेका अन्न, कपडा, लालपुर्जा, नागरिकता, गरगहना सबै खरानी भए, अहिले त खाने ठाउँ पनि छैन’, गंगाबहादुर विकले सुनाए । आगलागीले उनको पनि घर नष्ट भएको छ । उनले घरमा भएको केही पनि बचाउन नसकिएको बता‘ । “ज्यान जोगियो त्यसैमा चित्त बुझाउनुपर्ने भयो, अरु सबै नष्ट भयो’, उनले भने ।

मल्ल र विक मात्र होइन धारापानीमा शनिबार भएको भीषण आगोलागीका कारण १३ घर परिवार अहिले खुल्ला आकाशमा बस्न बाध्य छन् । आगलागीबाट भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जीलगायतका गाउँका १३ घर र १० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए । बस्तीमा पसेको आगो नियन्त्रण भए पनि वनमा अझै पूर्णरुपमा आगो निभेको छैन ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घटनास्थलमै गएर आगलागीका कारण बास गुमाएका परिवारलाई खाद्यान्न सामग्री प्रदान गरेका छन् । आगलागीले घर गुमाएका रातामाटाका १६ घरपरिवारलाई जिल्ला प्रशासनको पहलमा उद्योग वाणिज्य संघले खाद्यसामग्री राहत उपलब्ध गराएको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष प्रदीप मिश्रले बताए । चामल, दाल, तेल, नुनलगायतका खाद्य सामग्री वितरण गरिएको छ ।

भीषण आगलागीले गाउँनै सखाप भएको छ । जिल्लाका विभिन्न स्थानमा शनिबार लागेको आगलागीमा ४३ घर गोठ जलेर नष्ट भएका छन् । हिजो भूमिकास्थान नगरपालिका, शीतगंगा नगरपालिका र पाणिनि गाउँपालिकामा भएको डढेलोले २० घर, २३ गोठ, ११ बाख्रा र ६ वटा भैँसी जलेर नष्ट भएका हुन् ।

सबै पालिकामा दमकल नहुँदा र आगो नियन्त्रणका सामग्री प्रयाप्त नहुँदा आगोलागीका घटना बढिरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थीले बताए । उनका अनुसार सुरक्षाकर्मीसँग पनि पर्याप्त अग्नि नियन्त्रक साधन छैनन् ।

जिल्लाका ६ वटा स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिकामा मात्र दमकल छ । अन्य पालिकाहरुमा दमकल नभएपछि ट्याक्टरमा पानीको ट्यांकर भए पनि तयारी अवस्थामा राख्ने निर्णय भएको थियो । कार्यान्वयनको प्रक्रियामा आगलागी बढेको प्रशासकीय अधिकृत पन्थीको भनाइ छ ।– रासस

प्रतिक्रिया