सम्झौता कार्यान्वयन नगरेको भन्दै लुम्बिनीका कृषि मन्त्रीले दिए राजीनामा

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मन्त्री अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा) ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि राजीनामा दिएका हुन् ।

मन्त्री अहिरले शनिबार नै राजीनामा बुझाए पनि आइतबार मात्र सार्वजनिक भएको हो । उनले मुख्यमन्त्री जोखबहादुर महराले गत चैत २२ गते आफ्नो पार्टीसँग गरेको लिखित सम्झौता कार्यान्वयन नगरेको भन्दै नेपालको संविधानको धारा १६९ को उपधारा (२) वमोजिम राजीनामा दिएको उल्लेख गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता महरा नेतृत्वको सरकारमा गत चैत २५ गते मा चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर बिना विभागिय मन्त्री नियुक्त भएका थिए । वैशाख ६ गते उनले कृषि तथा भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी पाएका थिए ।

सरकार गठनका क्रममा सरकारलाई समर्थन गरेका दलबिच भएको सझौता अनुसार जसपालाई सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिने लिखित सझौता भएको थियो । प्रदेशसभामा तीन जना सदस्य भएको जसपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको जनाइएको छ ।– रासस

प्रतिक्रिया