आठबिसकोटमा भूकम्प प्रतिरोधी भवन निर्माणका लागि तालिम

आठबिसकोट । भूकम्प प्रभावित क्षेत्रमा भूकम्प प्रतिरोधी भवन निर्माणका लागि सीपयुक्त तालिम सञ्चालन गरिएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा शनिबारदेखि डकर्मीहरुलाई भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी तालिम सञ्चालन गरिएको हो ।

जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा स्विस सरकारको सहयोगमा सीप तथा पुनः निर्माण परियोजनाअन्तर्गत तालिम सञ्चालन भएको छ । जाजरकोट र रुकुम पश्चिमका लागि ५० दिने (तह १) तालिममा ५०० जनाको लागि लेभल– १ तहको तालिम सञ्चालनमा आएको हो ।

सो परियोजनाको कार्यान्वयन हेल्भेटास नेपालले गरेको छ । शनिबादेखि आठबिसकोट नगरपालिका ११, १२, १३ र १४ का वडाहरुमा एकैसाथ सुरु गरिएको छ । उक्त तालिममा २० प्रतिशत महिलासहित स्थानीयवासीन्दा सहभागी छन् ।

आठबिसकोट नगरपालिकाका नगरप्रमुख रवि केसिले शनिबार एक कार्यक्रमबीच तालिमको उद्घाटन गरेका हुन् । डकर्मीहरुका लागि यो तालिम महत्वपूर्ण भएको उल्लेख गर्दै नगरप्रमुख केसीले अबको पुनः निर्माणमा भौतिक पूर्वाधार भूकम्प प्रतिरोधात्मक निर्माण गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

त्यस्तै उक्त परियोजनाका टिम लिडर दिनेश पाण्डेले तालिमको उदेश्यबारे प्रष्ट पार्दै, जाजरकोट र रुकुम पश्चिम अति प्रभावित पालिकाहरुमा तालिम सञ्चालन गरिएको जानकारी दिए । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको समन्वयमा सञ्चालन गरिएको तालिमको सहजिकरण ट्रेस नेपालले गरेको बताइएको छ ।

तालिममा भूकम्पबाट अति प्रभावित विपन्न समुदायको लागि २ कोठे घरसमेत तयार हुने र ढुंगा, इँटाको गारो कसरी लगाउने, घरमा डन्डी कसरी राख्ने, झ्यालढोका कसरी हाल्ने, क्रङ्किटको घर कसरी निर्माण गर्ने भन्ने बारेमा डकर्मीलाई तालिम दिइने छ । उक्त तालिममा महिलाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया