हाम्रो लक्ष्य आगामी एसियाडमा स्वर्ण पदक हो – धमला

अञ्जन धमला, अध्यक्ष, ई–स्पोर्ट्स संघ नेपालका

राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यसमेत रहेका धमला समकालीन खेलकुदका संघ अध्यक्ष तथा नेतृत्व मध्ये भिजनरी व्यक्तित्वको रूपमा परिचित छन् । खेलाडीको रूपमा नेपाल आइटिएफका पहिलो ब्याजका ब्ल्याक बेल्ट धमलाले आफ्नो नेतृत्व क्षमता सोही संस्थाका अध्यक्ष भइसकेपछि पुष्टि गरेका छन् । त्यसो त इन्टरनेटको प्रभाव र पहुँच दुवै बढेको समयमा ई–स्पोर्ट्सकै नेतृत्वदायी भूमिकामा रहनु आफैँमा चुनौती र अवसर दुवै हो । तीनै चुनौती र अवसर तथा नेपालमा ई–स्पोर्ट्सको सम्भावनाका बारे इस्पोर्ट्स संघ नेपालका अध्यक्ष अञ्जन धमलासँग गरिएको कुराकानीको सार संक्षेप :

नेपालका थुप्रै स्थापित र पुराना खेल संघ पनि छन् । यसबीचमा तपाईंले ई–स्पोर्टस नै रोज्नुको कारणचाहिँ के होला ?

विश्वव्यापी र तीव्र रूपमा विकास भएको कारण नेपाललाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धीको रूपमा हामी उभ्याउन सक्छौँ भन्ने लागेको हो । तसर्थ यो खेललाई सबैभन्दा सम्भावना भएको खेलको रूपमा यसको नेतृत्व गरेर नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सोचले मैले यो खेल रोजेको हुँ ।

ई–स्पोर्ट्स प्रविधिमा आधारित खेल हो । प्राविधिक र आर्थिक विकास दुवैका हिसाबले पछि परेको ई–स्पोर्ट्स नेपालमा चाँडो स्थापित हुन्छ भन्ने कुरामा कसरी विश्वास गर्न सकिन्छ ?

बाहिर सतहमा यस्तो लागे पनि वास्तविकता त्यो भन्दा फरक छ । विकासका अन्य सूचक र प्रविधिमा नेपाल पछि परे पनि इन्टरनेटको पहुँच धेरै स्थानमा पुगिसकेको छ । सबैको हातमा अनलाइन पुगेको छ । नेपालमा संस्थागत रूपमा यसको विकास नहुँदा पनि हजारौँ जना यस खेलमा आबद्ध छन् । त्यही सम्भावनालाई टेकेर यस खेलाई अघि बढाउने उद्देश्य हामीले लिएका छौँ ।
पछिल्लो आँकडाअनुसार पब्जीका मात्र ३०० टिम दर्ता भएको प्रतिस्पर्धा भएको छ । अहिले १५ सय जना व्यावसायिक छन् । संस्थाको रूपमा आकार नलिँदै यी खेल व्यापक बिस्तार भएका छन् । नेपालजस्तो भौगोलिक संरचना भएको देशमा अनलाइन गेमिङको सम्भावना अझ बढी हो । अन्य खेलको सम्भावना नभएको स्थानमा पनि यस खेलको सम्भावना छ । साथै नेपालले देशको ई–स्पोर्ट्ससँग प्रतिस्पर्धा गर्ने सम्भावना पनि रहेको छ ।

खेलकुद स्वास्थ्यका लागि भनिन्छ । तर, स्मार्ट फोनको धेरै प्रयोग स्वास्थ्यका लागि घातक हो नि, होइन र ?

विश्वव्यापी रूपमा जत्ति खेल छन् त्यसमा फिजिकल र मेन्टल पाटा छन् । यो खेल विश्वव्यापी नै छ । यसका पनि फिजिकल र मेन्टल लाभ र हानिका पाटा छन् । यसको बारे विश्वव्यापी नै बहस चलेको छ । प्रविधिको नकारात्मक र सकारात्मक पाटा छन् । यसको नकारात्मक पाटाभन्दा पनि सकारात्मक पाटा बढी छन् । स्पोर्ट्सको रूपमा लिइएको कारण यसले चलाएर बेफाइदा हुनेभन्दा पनि फाइदा बढी देखिन्छ ।

ई–स्पोर्ट्सको विकासमा आवश्यक पर्ने सबै मापदण्डहरू पूरा गर्न के तयारी छ ?

नयाँ संघ हो । यसका केही व्यावसायिक पक्ष पनि भएका कारण सबै व्यवस्थापनमा केही कठिनाइ छन् । सुरुआतबाट नै व्यावसायिक पूर्वाधार, प्रतियोगिता र विभिन्न भर्टिकलहरूमा योजना बनाएर हामीले काम गरिरहेका छौँ ।
हामीलाई के सहज छ भने मौजुदा संरचना व्यवस्थित गरे मात्र पनि हाम्रो बाटो धेरै सहज हुन सक्छ । किनकि यो खेल्नका लागि आवश्यक एउटा डिभाइस र इन्टरनेट हो । यो धेरै नेपालीको पहुँचमा छ । खेल्ने प्रतिस्पर्धा त इन्टरनेटमै भेटिन्छ । यसकारण अब केही समयमै हामी माथिल्लो तहमा पुग्न सक्छाैं ।

यस खेललाई राज्यले कसरी हेरेको छ ?

हाम्रो संघ बन्दै गर्दा सरकारले खेलकुदको नीतिमै प्राथमिकता दिएर पाँचवटा बुँदा राखेको छ । ई–स्पोर्ट्सको प्रतियोगिता, पूर्वाधारलगायत विषय खेलकुद नीतिमा समावेश छन् । नयाँ खेल भएका कारण यस खेलबाट धेरैको अपेक्षा पनि छ । सम्भावनाको हिसाबले सरकारका धेरै निकायको चासो छ । साथै लगानीका लागि तत्परता पनि छ । हाम्रो खेलप्रति राज्यको भूमिका सकारात्मक छ । हाम्रो संघको टिमले बारम्बार मन्त्रीसँग भेट गर्दा उहाँले पनि मन्त्रालयको नीति तथा कार्यक्रममा नीतिमै ई–स्पोर्ट्सलाई समावेश गर्ने बताउनुभएको छ । यसले उच्च प्राथमिकता दिइएको पुष्टि हुन्छ । ई–स्पोर्ट्सको क्रममा राज्यको नीति हेर्दा प्राथमिकता पाएको देखिन्छ । हाम्रो लक्ष्य भनेको सन् २०२६ मा जापानमा हुने एसियाली खेलकुदमा स्वर्ण पदक नै हो ।

नेपालमा कुनै व्यवस्थित स्वरूप नहुँदा पनि गएको एसियाली खेलकुदमा नेपाली खेलाडीको प्रदर्शन राम्रो थियो । तसर्थ सबै विषय व्यवस्थित बनाएर लगेमा सन् २०२६ एसियाली खेलकुदमा स्वर्ण पदकको लक्ष्यको नजिक हामी पुग्न सक्छौँ ।


कुनै आन्तरिक र बाह्य अनावश्यक अवरोधको सम्भावना पनि छ होला नि ?


काम गर्दै जाँदा आउने जटिलताको फेस गर्नुको अन्य विकल्प नै छैन । राज्यको खेलकुद हेर्ने निकायले हामीलाई मान्यता दिएका कारण यसमा समस्या होलाजस्तो लाग्दैन । जो कोही पनि राज्यको कानुनको बर्खिलाप जान्छ भने यसबापत कदम उठाउनुको विकल्प नै छैन ।

हामीले आफ्नो काम भने तदारुकताका साथ गर्नु पर्छ । देशमा असंगठित क्लब तथा खेलाडीलाई व्यवस्थित गर्ने तयारी पनि हामीले गरेका छौँ । हरेक खेलको आधार भनेकै क्लब र खेलाडीहरू हुन् । जसले काम गरेको छ उसैसँग सहकार्य गरेर अगाडि बढ्दा सही हुन्छ । यसका हरेक स्टक होल्डरसँग बसेर हामी आगामी दिनको तयारी गर्ने जमर्को गरिसकेका छाैं ।

अन्त्यमा राखेप बोर्डको तर्फबाट अथवा ई–स्पोर्ट्स परिवारको तर्फबाट केही भन्नु छ ?

हाम्रो लक्ष्य भनेको आगामी एसियाडमा स्वर्ण पदक नै हो । अबको दुई वर्ष यसमा केन्द्रित हुन्छौँ । राज्यको तर्फबाट संघ नभए पनि यस खेललाई एसियाडमा समावेश गरेको थियो । प्रचुर सम्भावना रहेका कारण हिजोको दिनमा भन्दा राष्ट्रिय खेलकुद परिषद्ले प्राथमिकतामा राखेर प्रशिक्षण गरे आगामी एसियाडमा स्वर्ण पदकको सम्भावना अझ बढी छ । यसका लागि म अनुरोध गर्न चाहन्छु ।

प्रतिक्रिया