पद छाड्दिनँ, बरु सर्वदलीय सरकार बनाऔैँ– मुख्यमन्त्री

कोसीमा संकल्प प्रस्ताव पारित

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिने विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दर्ता गरेको संकल्प प्रस्ताव प्रदेशसभाबाट पारित भएको छ ।

शुक्रबार बसेको प्रदेशसभाको बैठकमा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव टेबल गरिएकामा ध्वनि मतले पारित भएको हो । प्रस्तावको पक्षमा ५२ सांसदले मत दिएको प्रदेश सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।

संकल्प प्रस्ताव पारित भएपछि नेकपा एमालेका सांसदले संकल्प प्रस्तावको पक्ष विपक्षमा मत विभाजन गर्न माग गरेपछि सभामुखले मत गणना गर्न निर्देशन दिएका थिए । संकल्प प्रस्तावको पक्षमा ५२ सांसद थिए भने कांग्रेसका सांसदले मतविभाजनमा भाग लिएनन् । त्यस्तै मत दिन्न भन्ने पक्षमा भने ३ सांसद थिए ।
पारित भएको संकल्प प्रस्तावमा भनिएको छ, ‘चैत्र २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस् ।’

यस्तै, बहुमत सांसदले समर्थन फिर्ता लिएकाले नियमित कार्यबाहेक दीर्घकालीन महत्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेशसभाको बैठकबाट निर्देशन गर्न पनि प्रस्तावमा माग गरिएको छ । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई विश्वासको मत लिन बाध्य पार्न एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव ल्याएका हुन् ।

यसैबीच, मुख्यमन्त्री कार्कीले भने संकल्प प्रस्तावकै आधारमा आफूले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अडान लिएका छन् । सभामा संकल्प प्रस्तावमाथि जबाफ दिँदै उनले आफू संविधानअनुसार मुख्यमन्त्री भएको र अन्य कुनै विकल्पबाट आफू नहट्ने अडान लिएका हुन् ।

‘म संविधानअनुसार मुख्यमन्त्री भएको हुँ । संविधानकै धारामा नुहाउँछु, संविधानको धाराको पानीले भएन भनेर आहाल बसेको पोखरीको पानी ल्याएर हामी संसद्लाई अपवित्र नबनाऔं, संसदमा किटाणु नछरौँ,’ उनले भने ।
उनले आफ्नो नेतृत्वमा सर्वदलीय सरकार बनाउन प्रस्ताव गरे । यसअघि एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री भएका बेला पनि सर्वदलीय सरकार बनाउन आह्वान गरेको भन्दै उनले अहिले आफू नेतृत्वको सरकारलाई सर्वदलीय बनाउन आग्रह गरे । ‘सर्वसम्मतिको सर्वदलीय सरकार बनाऔँ, प्रदेशलाई अनिश्चिततामा नधकेलौँ,’ उनले भने ।

प्रतिक्रिया