लमजुङमा जलवायु परिवर्तन तथा जैविक विविधता संरक्षणसम्बन्धी तालिम

लमजुङ । लमजुङको बेसीशहरमा जलवायु परिवर्तन अनुकुलन तथा जैविक विविधता संरक्षणसम्बन्धी तालिम सञ्चालन भएको छ । मनाङको नासो गाउँपालिका, लमजुङको सुन्दरबजार नगरपालिका, तनहुँको भानु नगरपालिका, तथा व्यास नगरपालिकाका पदाधिकारीहरूका लागि सो तालिम सञ्चालन भएको हो ।

यूएसएआईडी जल जंगल चितवन– अन्नपूर्ण भूपरिधी पोखराको आयोजनामा यहाँ सुरु गरिएको तीन दिने जलवायु अनुकुलन परिवर्तन तथा जैविक विविधता संरक्षणसम्बन्धी तालिममा सहभागी हुन उनीहरू वैशाख ७ गते बेसीशहरमा भेला भएका हुन् ।

सो तालिमको भानु नगरपालिकाकी उपमेयर उमा गोतामे, राइनास नगरपालिकाका उपमेयर पुष्पराज खनाल र वन डिभिजन कार्यालय लमजुङका प्रमुख दीपकप्रसाद पण्डितले संयुक्तरूपमा गमलामा पानी राखेर उक्त तालिमको उद्घाटन गरेका थिए । आयोजक संस्थाका ल्याण्डस्केप टिम लिडर मानबहादुर विकले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै तालिमको विषयमा सम्पूर्ण जानकारी दिएका थिए ।

युएसएआइडिका सोहनलाल श्रेष्ठ, रेविका गुरुङ, सोभित कोइराला र मानबहादुर बिकले तालिममा सहजिकरण गरेका थिए । आयोजक संस्था जल जंगल अनुगमन मूल्यांकन शाखाका प्रमुख किरण न्यौपानेका अनुसार मनाङ, तनहुँ र लमजुङ जिल्लास्थित चार पालिकाका उपमेयर, उपाध्यक्ष, कार्यपालिकाका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकृत एवं पालिकामा रहेको शाखाका प्रमुख कर्मचारीहरू गरी प्रति पालिका सात जनाका दरले र सञ्चारकर्मीसहित ३० जनाले सो तालिममा भाग लिएका छन् ।

तालिममा जलवायु परिवर्तन असर तथा प्रभावहरूका बारेमा प्रकाश पारिएको थियो । त्यसैगरी सो अवसरमा जलवायु परिवर्तन असर तथा प्रभावहरू के कसरी कम गर्न सकिन्छ भन्ने बारेमा पनि समूहगत छलफल गरी निचोड प्रस्तुत गर्न लगाइएको थियो ।

यो तालिम स्थानीय तहको योजना निर्माणको बेलासमेत भएकाले यो विषयमा पनि स्थानीय सरकारले आफ्नो योजनामा समावेश गर्ने र सहकार्यको लागि सहज वातावरण बन्न सकोस् भन्ने र तालिमको लक्ष्य भएको कार्यक्रमका संयोजक एवं अध्यक्ष मानबहादुर बिकले बताए ।

शुक्रबार कार्यक्रमको अन्त्यमा पालिकाहरूले आफ्नो ठाउँमा आफूले सञ्चालन गरेको पाँचवटा कार्यक्रमलाई लिपिबद्ध गर्न लगाइएको थियो । त्यसैगरी शनिबार (आज) दुई सामुदायिक वनको स्थलगत भ्रमण गरी जलवायु परिवर्तनको असर र प्रभावका बारेमा प्रतिवेदन तयार गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया