इलामको विकासका लागि सुहाङले चुनाव जित्नुपर्छ : अध्यक्ष ओली

इलाम । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले इलामको विकास गर्नका लागि उपनिर्वाचनमा इलामबाट साझा उम्मेद्वार सुहाङ नेम्बाङलाई जिताउन आह्वान गरेका छन् ।

बुधबार इलामको क्षेत्र नं. २ अन्तर्गत मंगलबारे बजारमा भएको एमाले र माओवादी केन्द्रको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै ओलीले इलामको समग्र विकास गर्नका लागि सुहाङलाई जिताएर पठाउन मतादातालाई आह्वान गरे ।

‘अहिलेसम्मको सबै विकासको कामको नेतृत्व एमालेले गरेको छ । अब पनि यहाँको विकास गर्न चाहनुहुन्छ भने एमालेलाई भोट दिनुहोस्, सुहाङलाई भोट दिनुहोस्, ‘सुहाङले हारे भने इलामले हार्नेछ । त्यसैले इलामले जित्नका लागि पनि सुहाङले जित्नुपर्छ ।’

अध्यक्ष ओलीले स्वर्गीय सुवासचन्द्र नेम्बाङले थालेको विकासको अभियानलाई पूर्णता दिनका लागि पनि सुहाङले जित्नुपर्ने बताए । ‘सुवास नेम्बाङ जीको संकल्प पूरा गर्न हामी आएका छौँ, उहाँले थाल्नुभएको विकासको अभियानलाई पूरा गर्न पनि सुहाङले जित्नुपर्छ,’ उनले भने, ‘त्यसैले यहाँबाट सुहाङलाई जिताएर पठाउनुहोस्, विकासको जिम्मा एमालेले लिन्छ ।’

अध्यक्ष ओलीले आफू तीन वर्ष प्रधानमन्त्री हुँदा एमालेले कस्तो विकास गर्न भन्ने कुरा आमजनतालाई देखाइसकेको बताउँदै अर्को निर्वाचनसम्म सबै पालिकामा कालोपत्रे सडक र अस्पताल पु¥याउने दावी गरे । ‘म प्रधानमन्त्री हुँदा २१० वटा पालिकादेखि सदरमुकाम जोड्ने सडक र ३९६ वटा पालिकामा अस्पताल बनाउन शिलान्यास गरेको थिए, तर सरकारबाट बाहिरिएपछि अलपत्र ती सबै काम अलपत्र प¥यो’, उनले भने, ‘अधुरा र अलपत्र कामहरूलाई आउँदो निर्वाचनसम्ममा पूरा गर्नुपर्छ, हामी लागिरहेका छौँ, त्यसका लागि पनि यहाँबाट सुहाङलाई जिताएर पठाउनुपर्छ ।’

कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले एकल जातीय पहिचानको कुराले जातीय सद्भावलाई खण्डन गर्ने बताए । उनले एमालेले साझा अधिकार र साझा कुरा गरेकाले एमाले–माओवादी गठबन्धनका साझा उम्मेद्वार सुहाङलाई जिताउनुपर्ने बताए ।

माओवादी केन्द्र कोसी प्रदेश अध्यक्ष हर्क नेम्बाङ मिक्सोले कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउनका लागि सुहाङलाई जिताउनुपर्ने बताए । उनले देशमा विकास र समृद्धि चाहिएकाले बामपन्थीहरूको एकता आवश्यकता रहेको बताए । उनले सुहाङ बामपन्थीहरूको साझा उम्मेद्वार भएकाले सबैले उनलाई मतदान गर्न आह्वान गरे ।

उम्मेद्वार सुहाङ नेम्बाङले विगतका निर्वाचनमा आफ्ना बुबालाई गरेको विश्वास शिरमा राखेर आफूले सधैँ काम गर्ने बताए । उनले इलामी जनताको कामका लागि सधैँ आफ्ना बुबाले काम गरेको दाबी गर्दे आफूले पनि त्यसरी नै काम गर्ने बताए ।

‘बुबाले गर्न नसकेका र देखेका सपना पूरा गर्न कुनै पनि कमी हुन दिन्न । यहीबाट प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने । उनले इलामको विकासमा बुबाले देखेको सपना र बनाएको योजना पूरा गर्न कुनै पनि कमी कमजोरी नगर्ने बताए ।

इलाम–२ मा एमालेका उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्बाङको निधन भएपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन हुन लागेको हो । एमालेका उम्मेद्वार सुहाङ स्वर्गीय नेम्बाङका कान्छा छोरा हुन् । सुहाङलाई नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी (विप्लव) र नेपाल परिवार दलको समर्थन छ ।

सो क्षेत्रमा १२ राजनीतिक दल र ७ स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिष्पर्धामा छन् । एमालेसँग मुख्य प्रतिष्पर्धीका रूपमा नेपाली कांग्रेसका इलाम सभापति डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादीका साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू (थेगिम) लाई हेरिएको छ ।

प्रतिक्रिया