एमाले बाराको नवनिर्वाचित जिल्ला कमिटीको शपथ ग्रहण

कलैया । नेकपा एमाले बाराको नवनिर्वाचित जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बुधबार कलैयास्थित जानकी चलचित्र मन्दिरको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अध्यानन्द पाण्डेले पार्टी पंक्तिलाई इमानदारीपूर्वक काम गरी पार्टीको विधि विधानभित्र रही सबैलाई जोड्दै पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले नेकपा एमाले पार्टीले मात्र देश र जनताको हकमा काम गर्ने भएकोले यो पार्टीको केन्द्रबाट गरिने हरेक निर्देशनलाई शिरोधार्य गरी अगाडि बढ्ने र मिसन ८४ लाई सफल बनाउन सबैको साथ र सहयोग लिएर पार्टीलाई मजबुत बनाउन काम गरिनेसमेत बताएका थिए ।

आफ्नोे टिमले एकजुट भएर काम गर्ने र कसैलाई काखा कसैलाई पाखा नगर्नेेसमेत उनले प्रतिबद्धता व्यक्त गरेका थिए । साथै उनले निर्वाचित गराउन सहयोग गरिने सम्पूर्ण पार्टी पंक्तिका अग्रज नेता कार्यकर्ताहरूलाई धन्यवाद दिएका थिए ।

उनले दुई महिनाभित्र बारा जिल्लाको सम्पूर्ण पालिकाको अधिवेशन सम्पन्न गरिने जानकारीसमेत गराएका थिए । नेकपा एमाले केन्द्रीय कमिटीका सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सविधानसभा सदस्य बलबिर चौधरी, पूर्वखेलकुद मन्त्री पुरुषोत्तम पौडेल, केन्द्रीय कमिटी सदस्य सरस्वती चौधरी, कलैया उपमहानगरपालिकाका नगर अध्यक्ष तथा जिल्लाका पूर्वअध्यक्ष विनोद साह, मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल लगायतकाले नवनिर्वाचित कमिटीलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

नेकपा एमाले मधेस प्रदेशका अध्यक्ष एवं बाराको इन्चार्ज दिन दयाल मन्डलको अध्यक्षता सम्पन्न उक्त कार्यक्रमको सञ्चालन निर्वाचन समितिका गोकुल घोरासाइनेले गरेका थिए ।

प्रतिक्रिया