इलाम–२ मा थपिए ५४७ मतदाता

इलाम । आउँदो १५ वैशाखमा हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको संख्या १ लाख १५ हजार ८ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष मतदाता संख्या, ५६ हजार ८६९ र दुई जना महिला मतदाता संख्या र दुई जना तेस्रो लिंगी मतदाता रहेका छन् ।

यो अघिल्लो निर्वाचनको मतदाता संख्याभन्दा ५४७ ले बढी हो । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा १ लाख १५ हजार ३४२ मतदाता थिए । १४ वैशाखसम्म १८ वर्ष पूरा गर्ने व्यक्तिले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

इलाम–२ मा ६ वटा पालिकाका ४२ वटा वडा पर्दछन् । सो क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र देउमाई नगरपालिका पूरै तथा इलाम नगरपालिका (१० वडा बाहेक) र माई नगरपालिकाका ६, ७ र ८ वडा पर्दछन् ।

चुलाचुलीमा १८ हजार ५४५, माङसेबुङमा १२ हजार ५३६, फाकफोकथुममा १६ हजार ३०२, देउमाईमा २६ हजार ३६५, इलाममा (१० वडा बाहेक) ३४ हजार ४५ र माईका ६, ७ र ८ मा ८ हजार ९६ मतदात रहेको आयोगको तथ्यांकमा उल्लेख छ ।

उपनिर्वाचनका लागि इलाममा ७९ मतदानस्थालमा १४९ मतदान केन्द्र निर्धारण गरिएको छ । सुरक्षा निकायले सबै मतदानस्थललाई ‘अति संवेदनशील’ भनेको छ । प्रतिनिधिसभा उपनिर्वाचन हुन लागेको देशभरको एउटै मात्र निर्वाचन क्षेत्र भएकाले यहाँका सबै मतदानस्थल ‘अति संवेदनशील’ को सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । उनीहरूले मतदाता फकाउन चुनावी अभियान लिएर टोलटोलमा पुगिरहेका छन् । सो क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत २६ भदौमा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया