सर्लाहीमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

लालबन्दी । १६ देखि २९ वैशाखसम्म सञ्चालन हुने हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानअन्तर्गत सर्लाहीमा आठ लाख बढी व्यक्तिलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ ।

स्वास्थ्य कार्यालय सर्लाहीले जिल्लाका २० वटा पालिकामा ८ लाख २४ हजार ६७१ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य लिइएको जनाएको हो । मंगलबार दिउँसो जिल्ला सदरमुकामस्थित स्वास्थ्य कार्यालयमा भएको हात्तीपाइले रोगको औषधि सेवन अभियानको जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममार्फत स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले त्यस्तो जानकारी गराएका हुन् ।

कार्यक्रममा प्रादेशिक अस्पताल मलंगवामा निमित्त मेडिकल सुपरिटेन्डेन्टसमेत रहेका स्वास्थ्य कार्यालय प्रमुख डा.झाले आआफूले औषधि सेवन गरेर यो अभियानलाई सफल बनाइदिन पत्रकारमार्फत सबैसँग आग्रहसमेत गरे ।

हात्तीपाइले रोगविरुद्धको औषधि दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, सिकिस्त बिरामी, अस्पताल भर्ना भएका बिरामी र जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका बिरामी र मिर्गौला रोगको लागि डायलाइसिस गरिरहेका बिरामीले सेवन गर्न हुँदैन ।

गाउँ, बस्तीमा एक व्यक्तिले औषधि नखाइदिँदा अन्य व्यक्तिमा संक्रमित लामखुट्टेको टोकाइबाट हात्तीपाइले सार्ने जोखिम हुने भएकाले आफू र आफ्ना छरछिमेकी सबैलाई औषधि खान प्रोत्साहन गर्नुपर्ने चिकित्सकको भनाइ छ । हात्तीपाइले रोगविरुद्ध आइभरमेक्टिन, डाइइथाइल कार्वामाजिन र अल्बेन्डाजोल गरी तीनप्रकारका औषधि प्रयोग हुन्छन् ।

अभियानका लागि जिल्लाभर ५२५ जना स्वास्थ्यकर्मी र १ हजार ३५६ महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुने बताइएको छ । औषधि खुवाउने अभियानभर प्रत्येक क्षेत्रमा डाक्टरसमेत परिचालन गर्ने स्वास्थ्य कार्यालयको योजना छ ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सुशील कुमार झाले हात्तीपाइलेविरुद्धको औषधि खाएपछि केही व्यक्तिमा ज्वरो आउने, वान्ता हुने, रिंगटा लाग्नेजस्ता सामान्य स्वास्थ्य समस्या देखिए पनि डराउनु नपर्ने बताए ।

जिल्लामा हात्तीपाइले रोगका बिरामिको संख्या कति छ भन्ने बारेमा यकिन तथ्यांक भने नभएको स्वास्थ्य कार्यालय प्रमुख डा. झाले जानकारी दिए ।

प्रतिक्रिया