सलमानको घरमा गोली प्रहार गर्नेको तस्बिर सार्वजनिक

नयाँ दिल्ली । बलिउड नायक सलमान खानको घर ‘ग्यालेक्सी अपार्टमेन्टमा’ गोलीकाण्ड गर्ने दुई आक्रमणकारीको तस्बिर सार्वजनिक भएको छ । उनीहरूको सिसिटिभी क्यामेरामा कैद भएको तस्बिर सार्वजनिक भएको हो ।

सो तस्बिरमा एक आक्रमणकारीले सेतो टिसर्ट र कालो ज्याकेट ल्याएका छन् भने अर्का एक जना रातो टिसर्टमा छन् । प्रहरीले यो तस्बिरबाट अनुसन्धानमा ठूलो मद्दत पुग्ने बताइएको छ ।
भारतीय मिडियाका अनुसार ती दुई मध्ये एक विशाल उर्फ कालु भएको हुनसक्ने प्रहरीको अनुमान छ । उनी राजस्थानका कुख्यात गुण्डा रोहित गोदारका सुटर हुन् । कालु भर्खरै हरियाणाको एक गोलीकाण्डमा मुछिएका व्यक्ति हुन् । सो काण्डमा एक जनाको मृत्यु भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

कालु सो हत्याकाण्डका फरार अभियुक्त हुन् । यही तस्बिरका आधारमा प्रहरीले दुवै जनाको अनुसन्धान तीव्र पारेको छ । यस घटनाबारे प्रहरीले महत्त्वपूर्ण सुराक पाइसकेको भारतीय मिडियाहरुको दाबी छ ।

यस घटनाका सुटर हरियाणा र राजस्थानसँग सम्बन्धित हुन सक्ने प्रहरीको अनुमान छ । लरेन्स बिश्नोई गिरोहसँग सम्बद्ध राजस्थानका कुख्यात गुण्डानाइके रोहित गोदारको गिरोहले गोली प्रहार गरेको हुन सक्ने आशंका छ ।

योसँगै रोहित गोदारविरुद्ध इन्टरपोलले नोटिस पनि जारी गरेको छ । यस घटनामा मुम्बई प्रहरीपछि दिल्ली प्रहरी पनि सक्रिय भएको छ ।

सलमानको घरमा आइतबार बिहानै गोली प्रहार भएको थियो । यस घटनामा मानवीय क्षति नभए पनि सलमानको सुरक्षामाथि खतरा बढेको छ । अहिले प्रहरीले उनको सुरक्षामा थप कडाइ गरेको छ ।

प्रतिक्रिया