सन्तान प्राप्तिका लागि पतारी पोखरीमा डुबुल्की लगाउने महिलाहरुको घुइँचो

सिराहा । सिराहाको दक्षीण सिमावर्ती राजमार्गदेखि १० किलोमिटरमा पर्ने लक्ष्मीपुर–पतारी गाउँपालिकामा प्रत्येक वर्ष वैशाख २ गते लाग्ने मेला अनुसार आज (आइतबार) पनि श्रद्धालु तथा वर्तालु महिलाहरुको निकै ठूलो घुइँचो लागेको छ ।

सिरहाको पतारी पोखरीमा निसन्तान अर्थात बाँझो रहेका महिलाहरूले आज पोखरीमा डुबुल्की लगाएर निसन्तानलाई सन्तान प्राप्तिको लागि सो मेलामा श्रद्धालु तथा वर्तालु महिलाहरुको निकै ठूलो घुइँचो लागेको हो ।

मेला प्रसिद्ध भएकाले सिरहा, सप्तरी, धनुषा, सुनसरीलगायत भारतको दरभंगा, पटना, जयनगर, लदनियाँ , खुटौनासम्मका श्रद्धालुहरुको घुइँचो लागेको छ । उक्त मेलामा आएका श्रद्धालु तथा वर्तालु महिलाहरुले सन्तान प्राप्तिको लागि पोखरीमा डुबल्की लगाउने, भाकल गर्ने, लड्डु, पान सुपारी चढाउने, खसीबोका चढाउनेलगायत गरेका छ्न् ।

प्रत्येक वर्ष वैशाख २ गतेका दिन लाग्ने मेलामा श्रद्धालु एवंम वर्तालु महिलाहरुले पतारी पोखरीमा डुबुल्की लगाएर सन्तान प्राप्तिका लागि राजा हरसिंह देव ठाकुर (बाबा) सँग कामना गरी पोखरीमा डुबुल्की लगाउने गरिन्छ । पहिलो डुबुल्कीमा जे आउँछ सर्प, ढुंगा, माटो, डोकासितुवा इत्यादिद्वारा सन्तान प्रप्ति हुने र भइरहने जनविश्वास रहेको छ ।

त्यहाँका स्थानीयहरु यो पतारी पोखरीको महिमा शक्तिशाली र अपरम्पार रहेको बताउँछन् । पहिला–पहिला पतारी पोखरीको पानी स्थानीयलाई सेवन गर्ने अवस्था थियो अर्थात खानामा कम्तीमा १ थोपा पानी दिनुपर्ने अवस्था थियो । नत्र खाना गन्हाउने, स्वादहीन हुने गरेको स्थानीय बुढापाका बताउँछन् ।

पतारी पोखरीले निसन्तान महिलाले डुबुल्की लगाए पश्चात् छोराछोरीमध्ये कुनैकुनै एक सन्तान हुने नै गरेको जनविश्वास रहेको छ । पौराणिककालदेखि नै यहाँ हरेक वर्ष वैशाख २ गते भाकल गर्न र बली चढाउन धर्मावलम्बीहरू आउने गरेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया