इलाममा सुरु भयो ‘अन्तु पर्यटन महोत्सव’

इलाम । इलामको सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा शुक्रबारदेखि दुई दिने ‘अन्तु पर्यटन महोत्सव’ सुरु भएको छ । नयाँ वर्ष २०८१ को अवसरमा सूर्योदय नगरपालिकाले आयोजना गरेको महोत्सवको साँस्कृतिक तथा सांगीतिक कार्यक्रमसहित सुरु भएको हो ।
पर्यटकीय नगरी सूर्योदयलाई सर्वकालीन पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यले आयोजित महोत्सवको उद्घाटन नगर प्रमुख रणबहादुर राईले गरे । उनले स्वदेशी पर्यटकले रुचाएको अन्तुमा भारतीय र तेस्रो देशका पर्यटकलाई लक्षित गरेर महोत्सव आयोजना गरिकएको बताए ।

नगर उपप्रमुख एवम् आयोजक समिति संयोजक दुर्गाकुमार बरालले अन्तुमा विदेशी पर्यटकहरुलाई समेत भित्र्याउन र नयाँ वर्षलाई थप उल्लासमय बनाउन महोत्सव आयोजना गरिएको बताए ।
महोत्सवमा लोपोन्मुख लाप्चा जातिसहित विभिन्न स्थानीय खाद्य परिकार र हस्तकलाहरुको स्टल राखिएका छन् । त्यस्तै स्थानीय महिलाले उत्पादन गरेका कृषिजन्य वस्तुका उत्पादनसहित खानाका परिकारका स्टलहरु राखिएका छन् ।

पहिलो दिन ‘सूर्योदय आइडल’ का आठ जना प्रतिष्पर्धीको ग्रान्ट फिनाले प्रस्तुति सकिएको छ । साँझ दीपावली गरी साँगीतिक कार्यक्रम आयोजना गरिएको छ ।

दोस्रो दिन शनिबार अन्तुडाँडाबाट सूर्योदय दृश्यावलोकन, शुभकामना आदानप्रदान, लोपोन्मुख लाप्चा जातिको भेषभूषा प्रदर्शन, विभिन्न जातजातिको साँस्कृतिक झाँकी प्रदर्शन, ‘सूर्योदय आइडल’को विजेता घोषणा, पुरस्कार वितरण र साँगीतिक कार्यक्रमलगायत राखिएको बरालले जानकारी दिए । त्यस्तै लागू पदार्थ दुव्र्यसनी, मदिरा तथा सूर्तीजन्य वस्तुहरुको नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी सन्देशमूलक कार्यक्रम समेत रहेको उनले जनाए ।

महोत्सवमा आउने पर्यटकका लागि अन्तुमा रहेका ६६ वटा घरबास (होमस्टे), नीजि ढंगले चलेका होटल र कटेजहरुमा समेत गरेर पाँच हजार जनाले रात बिताउन सक्ने गरी व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ । महोत्सवमा १० हजार पर्यटक भित्रिने अपेक्षा राखिएको बरालको भनाइ छ ।

अन्तु पुग्ने पर्यटकले अन्तुडाँडाबाट सूर्योदयको दृश्यावलोकन, विभिन्न हिमश्रृंखलाको दृश्यावलोकन, अन्तु पोखरीमा डुंगा सयर, हरियाली चियाबारी र सल्लाघारीको आनन्द लिएर फर्कने गरेका छन् । यसका साथै चियाबगान बीचमा बनाइएका कटेज तथा होमस्टे, स्थानीय श्रोत साधनको प्रयोग गरी थुम्काथुम्कामा बनाइएका घर, विभिन्न जातजातिहरुको कला–संस्कृति समेत पर्यटकको रोजाइ बन्ने गर्दछ । समुद्री सहतदेखि दुई हजार तीन सय मिटर उचाईमा अवस्थित अन्तुडाँडा सूर्योदय दृश्यावलोकनका लागि प्रसिद्ध छ । यहाँ नेपाल, भारत तथा तेस्रो मुलुकबाट पर्यटकहरु आउने गरेका छन् ।

यातायातको सुविधाका कारण धेरै पर्यटकहरु एक रात बस्नकै लागि भएपनि अन्तु पुग्ने गरेका छन् । पहिलो पटक अन्तु पुग्ने जो कोहीले स्वर्गीय आनन्द प्राप्त गरेर फर्कन्छन् । अन्तुसम्म पुग्न मोटरसाइकल तथा चारपांग्रे सवारी समेत सञ्चालनमा आएपछि पर्यटकलाई थप सहजता मिलेको छ । सूर्योदय नगरपालिको प्रशासनिक केन्द्र फिक्कल बजारबाट १३ किलोमिटर पक्की सडकको यात्रापछि अन्तु पुग्न सकिन्छ ।

प्रतिक्रिया