सुखीपुर नगरपालिकाको स्थापना दिवस मनाइयो

सिरहा । सिरहाको सुखीपुर नगरपालिकाको ७ औँ स्थापना दिवस मनाइएको छ । सो अवसरमा स्वतन्त्र युवा संगठनले विभिन्न कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।

संगठनका अध्यक्ष गुमस्ता कुमार यादवको आयोजनामा सुखीपुरमा आयोजित स्थापना दिवसमा आमरण अनशनकारी लगायतकालाई सम्मान, स्वास्थ्य शिविर, स्लो मोटर साइकल रेस र सांस्कृतिक कार्यक्रम गरी मनाइएको छ ।

बुधबार श्री राम जानकी वृज नारायण जनता बहुमुखी क्यापस सुखीपुरको प्रांगणमा आयोजित स्थापना दिवस कार्यक्रममा सहभागी वक्ताहरुले नगरपालिकामाथि आक्रोश पोखेका थिए । कार्यक्रमका प्रमुख अतिथि स्थानीय समाज सेवी राम प्रसाद चौधरीले नगरपालिकाले मनाउने कार्यक्रम अन्य संस्थाले मनाउनुपर्ने बाध्यता अबका दिनमा हुन नदिन नगरप्रमुखलाई आग्रह गरे ।
सुखीपुर नगरपालिका–८ का वडाध्यक्ष किशोरी प्रसाद चौधरीले सुखीपुर नगरपालिकाका नगरप्रमुखलाई आगामी दिनमा परिवर्तन गरेपछि मात्रै भव्य कार्यक्रम हुने भन्दै आफूहरुले गर्ने कार्यअरुले गरिदिएकाले लाज लागिरहेको बताए ।

सुखीपुर नगरपालिका बचाउ संघर्षमा अहम भूमिका निर्वाह गरेका कर्मचारीमध्ये एक हाल सुखीपुर नगरपालिकाका इन्जिनियर डोमी यादवले आजको दिन एकदमै खुशीको दिन भएको तर यस कार्यक्रममा उपस्थित हुँदा आफ्नो परिवारको सामर्थ्य नभएको खण्डमा छिमेकीले जन्मदिन मनाइदिएको अनुभूती भएको बताए ।

सुखीपुर नगरपालिकामा करिब ५६ करोडको बजेटमा यस्ता अमूल्य सम्मानयोग्य कार्यक्रमको लागि ठाउँ नमिल्नुमा यो सरासर गल्ती सम्पूर्ण कार्यपालिकाका सदस्यलगायत नगरप्रमुखको भएकाले यसमा सुधार गर्ने उनले प्रतिक्रिया दिए । यादवले आगामी दिनमा अझै भव्यता रुपमा दिवस मनाउन वजेट विनियोजन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्ने बताए ।

त्यस्तै कार्यक्रममा सुखीपुर नगरपालिका– ३ का वडाध्यक्ष तथा तत्कालिन आमरण अनशनकारी हरेराम यादव, तत्कालिन आमरण अनशनकारी विपी भुवन यादव, आमरण अनशनकारी विन्देश्वर पजियारलगायतले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रमको संचालन श्याम कुमार यादव, स्वागत मन्तव्य रोयाण्टर मण्डलले राखेका थिए । कार्यक्रमको अध्यक्षता स्वतन्त्र युवा संगठनका संयोजक गुमस्ता कुमार यादवले गरेका थिए ।

सुखीपुर नगरपालिकालाई तत्कालिन सरकारले गाउँपालिकामा परिवर्तन गरेपछि विभिन्न प्रकारको दबाबमूलक आन्दोलन र ६ दिनदेखि आमरण अनशनमा बसेपछि २०७२ चैत २८ गते तत्कालिन नेपाल सरकारले मन्त्रिपरिषद्को बैठकबाट सुखीपुर गाउँपालिकालाई परिवर्तन गरी पुनः सुखीपुर नगरपालिका घोषणा गरेपछि सोही दिनलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । सुखीपुर नगरपालिका स्थापना दिवस चैत २८ गते मनाउने गरिन्छ । सुखीपुर गाउँपालिकाबाट नगरपालिका परिवर्तन भई सुखीपुर नगरपालिका स्थापना भएको हाल ८ वर्ष पुरा भइसकेको छ ।

प्रतिक्रिया