चैती छठ : निरन्तर बढ्दो लोकविश्वास

आरके श्रीवास्तव

चैत महिनाको शुक्ल पक्षमा लोकआस्थाको छठ मान्ने चलन बिस्तार भइरहेको छ । हरेक वर्ष चैती छठ मान्ने व्रतालुको संख्यामा वृद्धि हुँदै गएको हो । पहिले निकै कम संख्यामा मानिने गरिएको चैती छठप्रति आस्था वृद्धि हुँदै गएको देखिएको छ ।

कात्तिक महिनामा हुने लोकआस्थाको पर्वकै सम्पूर्ण विधि विधान तथा पद्धति चैती छठको रहेको छ । चैती छठ गाउँदेखि सहरसम्म बिस्तार भइरहँदा यसप्रति चासोमा पनि वृद्धि हुँदै गएको छ । यस वर्ष संयोगले चैती छठ नयाँ सालसँगै परेको छ । नयाँ वर्ष २०८१ आरम्भ भएको दिन चैती छठको मुख्य दिन खरना परेको छ । यसैले नयाँ वर्ष केवल अलंकारमा सीमित हुने र निकै कम उत्साहपूर्ण हुने देखिएको छ ।

छठप्रति आस्था र श्रद्धाको कारण जुन घरपरिवारमा चैती छठ हुँदैन त्यस घरपरिवारका पनि अधिकांश मानिसले छठको नियम र निष्ठालाई मानेर पहिलेका वर्षहरूजस्तो उत्साहपूर्ण नयाँ वर्षको स्वागत गर्नुभन्दा पृथक शैलीमा स्वागत गर्दैछन् । छठको खरनाको दिन नै नयाँ वर्षको स्वागत गर्नुपरेकोले अधिकांश घरमा माछा, मासु पस्ने कुरा त परै जाओस्, खिर र पुरी पनि नपाक्ने देखिएको छ । शुक्रबार नुहाएर पवित्र भोजन गरेका व्रतालु परिवारले शनिबार नयाँ वर्षको दिन अबेर साँझ छठीमाईको पूजा गर्दै खिर र रोटी चढाउने भएकाले नयाँ वर्षका दिन बिहान सायदै कसैको घरमा खिर र पुरी पाक्छ । साथै मधेसको लोकजीवनमा अत्यन्तै प्रिय मानिने तरुवा पनि नपाक्ने देखिएको छ । नयाँ वर्षको उत्साहभन्दा छठपर्वको आस्था र श्रद्धाले विस्तार पाइरहँदा हरेक वर्ष व्रतालुहरू बढिरहेका छन् ।

Oplus_0

रौतहटको गढीमाई नगरपालिकाको समनपुरस्थित बागमती नदीबाट छठ पर्वको उद्भव भएको मानिएको छ । महाभारत कालमा द्रौपदीले १२ वर्षको बनवासपछि एक वर्षको गुप्तवासको कामना गर्दै पहिलोपटक समनपुरस्थित बागमती नदीमा छठपर्व गरेको किंवदन्ती रहेको छ । पाण्डवहरूले गुप्तवासको प्रारम्भ समनपुरमा गरेको ठाउँमा खनिएको सुरुङमाथि राखिएको पत्थरलाई भीमेश्वर महादेव मानेर शताब्दियौँदेखि स्थानीय पूजाआजा गर्दै आएका छन् । अहिले पनि उक्त महादेवमा जतिसुकै जलार्पण गरे पनि धरतीभित्र जल पसेर जाने गरेको देखिन्छ ।

Oplus_0

गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवले बागमती नदीमा द्वापर युगमा सुरु भएको लोकआस्थाको पर्व छठले निरन्तर बिस्तार पाइरहेको बताउँदै आस्था र श्रद्धाको कुनै सीमा नहुने बताउँछन् । पहिले कात्तिक महिनाको छठ पनि धेरै कम मानिसले मान्ने गरेकोमा अहिले विश्व बिस्तार भइसकेको बताउँदै नगरप्रमुख यादवले अहिले केही दशकदेखि चैती छठ मान्ने व्रतालुहरूको संख्यामा व्यापक विस्तार भइरहेको बताउँछन् । चैती छठ होओस् कि कात्तिक महिनामा मनाइने छठ होओस्, संख्या ठुलो नभई आस्था र श्रद्धा ठुलो भएको र सम्पूर्ण व्रतालुहरूले आस्थाको आधारमा मान्ने गरेको यादव बताउँछन् । अधिकांश व्रतालुहरूले गरेको भाकल पूरा भएपछि छठ व्रतको उठान गर्ने गरेको र हरेक वर्ष यसरी भाकल पूरा हुँदै जाँदा छठ व्रत गर्नेको संख्यामा निरन्तर बिस्तार भइरहेको यादवको भनाइ छ ।

Oplus_0

छठपर्वको सुरुआत चैत शुक्ल पक्षको चतुर्थी तिथिका दिन पवित्र स्नान गरेर घर आँगनलाई पवित्र पारेर हुन्छ । यसै अनुसार शुक्रबार सम्पूर्ण व्रतालुहरूले नुहाएर अर्बाअबाइन खाएका छन् र सम्पूर्ण घर तथा परिवारलाई पवित्र छठमय बनाएका छन् । पञ्चमीको दिन दिनभर निराहार व्रत बसी साँझमा छठीमाईको लागि खरना गर्दछन् । खरनामा खिर र रोटी अनिवार्य मानिन्छ । अन्य फलफूल उपलब्धता र स्थानीय उत्पादनको आधारमा चढाउने गरिन्छ । खरनालाई छठ पर्वको सबैभन्दा महत्त्वपूर्ण पूजा मानिन्छ । छठपर्व गर्ने तर अशक्त वा बिरामी वा बुढो भएर सम्पूर्ण व्रत गर्न नसके पनि खरना मात्र गरे छठ व्रत गरेको सरह मानिन्छ । खरनाबिना छठपर्व हुन नसक्ने भएकोले यस पूजालाई नै सबैभन्दा महत्त्वपूर्ण मानिएको हो । विश्वव्यापी रूपमा छठको विस्तार हुँदै गएको अवस्थामा विभिन्न ठाउँबाट आएका स्वास्थ्यानुकूल फलफूल पनि छठ पबनी तथा खरनामा चढाउन थालिएको छ । यसले गर्दा चैती छठमा फलफूलको व्यापारले पनि राम्रो बिस्तार पाउन थालेको छ ।

Oplus_0

खरनाको भोलिपल्ट छठको तेस्रो दिन सँझियाघाट हो । यस दिन साँझमा नदी वा पोखरीको किनारमा वा कृत्रिम जलाशय निर्माण गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । छठीमाईको श्रीमान् अर्थात् पति सूर्य देवता भएको लोकविश्वास रहेको छ । छठीमाईको व्रत गर्दा श्रीमानलाई पनि अघ्र्य दिइन्छ । यसपटक चैती छठको सँझियाघाट आइतबार परेको छ । सँझियाघाटको राति पनि छठीमाईको पूजा गरिन्छ । कतिपयले कोसिया पूजा गर्दछन् । कोसिया पूजामा पनि छठीमाईको पूजा गरिन्छ । खरनाको रात र सँझियाघाटको रातमा छठीमाईको मुख्य पूजा हुने गर्दछ । राति पूजा गरेर कतै रातभर जाग्राम बस्दछन् त कतै रात बिताउन व्रतालुहरू आ–आफ्ना घर पुग्दछन् । भोलिपल्ट बिहान सप्तमी तिथिको दिन जहाँबाट अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको हुन्छ, त्यहीँको जलाशयबाट उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि श्रीसप्तालाई जलार्पण गर्दै छठपर्व समापन गरिन्छ । छठपर्वको समापनलाई पारन भन्ने गरिन्छ । नेपालमा उद्भव भएको लोक महाआस्थाको छठपर्वको समयमा सम्पूर्ण समाज नै छठमय हुने गरेको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया