प्रदेश अस्पताल सुर्खेतको लापरवाहीले युवतीको मृत्यु, आफन्त आन्दोलित

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ । आठबिस नगरपालिका–५ पिपलकोट दैलेखकी २२ वर्षीया भिमा गुरुङ बलामीको उपचारकै क्रममा मृत्यु भएको हो । उनी बिहीबार पेट दुखेको भन्दै उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा भर्ना भएकी थिइन् ।

भिमा केही दिनदेखि पेट दुखेपछि जाँच गर्न सुर्खेत आएकी थिइन् । निजी अस्पतालमा पाठेघरको समस्या देखिएपछि भिमा प्रदेश अस्पताल भर्ना भइन् । सामान्य पेट दुखेर आफैँ हिँडेर अस्पताल आएकी उनलाई अस्पतालले मृत घोषणा गरिदिएको आफन्तले बताएका छन् ।

भिमालाई प्रसुति गराउँदा उनको पाठेघरमा केही सालनाल रहेकाले पाठेघरको अप्रेशन गरेर सफा गर्ने चिकित्सकले जानकारी गराएको उनका जेठाजु हर्कबहादुर बलामीले बताए । मृतक भिमाको पेटमा केही महिनाको बच्चासमेत रहेको बुझिएको छ ।

अप्रेशनका लागि रगत अभाव भयो भन्दै डाक्टरले जानकारी गराएपछि केही छिनमै मृतक घोषणा गरे हर्क बलामी भन्छन्, ‘सामान्य पेट दुखेको मान्छेको कसरी मृत्यु भयो ? अस्पतालले यतिसम्मको लापरवाही गर्न मिल्छ ? कर्णाली प्रदेश अस्पताल देशकै उत्कृष्ट अस्पतालका रुपमा चिनिन्छ ।’

अहिले उनका आफन्तहरुले अस्पतालको कम्जोरीले गर्दा भिमाको ज्यान गएको भन्दै आन्दोलन गरिरहेका छन् । तत्काल घटनाको छानबीन गरेर उपचारमा खटिएका डाक्टरलाई कानुन बमोजिम कारवाही गर्नुपर्ने मागसहित उनीहरु आन्दोलनमा उत्रिएका छन् ।

यता अस्पताल प्रशासनले भने घटनाको बारेमा अहिले नै केही भन्न नसकिने बताएको छ । अनुसन्धान भइरहेकाले अहिले नै घटना कसरी भएको भन्नेबारे खुल्न नसकेको बताइएको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया