मधेसमा नहाए खाए विधिसँगै चैती छठ सुरु

Oplus_0

रौतहट । मधेस प्रदेशमा निष्ठापूर्वक चैती छठ पर्व मनाउन सुरु भएको छ । चैत्र शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने गरिन्छ । छठ पर्वको मुख्य दिन आइतबार व्रतालुले निराहार व्रत बस्नेछन् । आज शुक्रबार पहिलो दिन नहाए खाए विधि गरिँदै छ ।
जबकि दोस्रो दिन शनिबार खर्ना विधि गरिनेछ । खर्नाका दिन व्रतालुले दिनभरि उपवास निराहार बसेर राति अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाने गर्छन् । त्यस्तै आइतबार षष्टी तिथिका दिन निराहार व्रत रही साँझ पवित्र जलाशयमा बनाइएको घाटमा गई अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिने परम्परा रहेको छ ।

अघ्र्य दिइने क्रममा फलफूल र ठेकुवा, कसार लगायतका परिकार राखिएको अघ्र्य उठाई सूर्यदेवलाई देखाइन्छ । सो दिन गरिने विधिलाई मधेसमा ‘सझिआ अरख’ भनिन्छ । सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई यिनै प्रसाद सामग्री देखाएर अघ्र्य दिई व्रत समापन गरिन्छ । यो विधिलाई बोलीचालीमा ‘भोरवा अरख’ भनिन्छ ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन सोमबार रौतहट, बारा, पर्सा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाहीलगायत मधेस प्रदेशभरिको सहरी र ग्रामीण क्षेत्रको जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै धूमधामका साथ चैती छठपर्व सम्पन्न गरिनेछ ।

छठपर्वको बारेमा पौराणिक कथाअनुसार सत्ययुगमा भगवान् श्रीराम, द्वापर युगमा दानवीर कर्ण र पाँच पाण्डवको पत्नी द्रौपदीले सूर्यको उपासना गरेकी थिइन् भन्ने छ । छठी माताको पूजासँग जोडिएको एउटा कथाअनुसार राजा प्रियवंदको रहेको छ । जसले सर्वप्रथम छठी माताको पूजा गरेको भनिन्छ ।

प्रतिक्रिया