अमेरिकी डलर ठगी मुद्दामा अर्बपति ट्रुओङलाई भियतनाममा मृत्युदण्ड

एजेन्सी । रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको वित्तीय धोकाधडीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको अल जजिराले बताएको छ ।

सन् २०१२ र २०२२ को बीचमा ६७ वर्षीया ल्यानले गैरकानूनीरूपमा साइगोन ज्वाइन्ट स्टक कमर्सियल बैंकको व्यवस्थापन गर्दा हजारौँ फर्जी फर्महरूमार्फत रकम लुटिन् र सरकारी अधिकारीहरूलाई घुस खुवाइन् ।

अभियोजकहरूले उनको एक हजारभन्दा धेरै सम्पत्ति जफत गरेको दाबी गर्दै संदिग्ध सम्पत्तिको विनियोजन राशि सन् २०२२ मा भियतनामको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब तीन प्रतिशत बराबर रहेको बताएका छन् ।

ल्यानले आफूमाथि लगाइएको आरोपहरूको खण्डन गरेकी थिइन् र आरोप आफू मातहतलाई लगाएकी थिइन् । अल जजिराका अनुसार उनले गत साता अदालतमा आफ्नो अन्तिम बयानमा आत्महत्याको विचार आएको कुरा स्वीकार गरेकी थिइन् ।

सरकारी सञ्चारमाध्यमका अनुसार उनले भनिन्, ‘मेरो निराशामा मैले मृत्युको बारेमा सोचेँ, मलाई थोरै ज्ञान भएको अत्यन्त प्रतिस्पर्धी उद्योग बैंकिङ क्षेत्रमा प्रवेश गर्ने साहस गरेकामा मलाई अत्यन्त रिस उठेको छ ।’

प्रमुख डेभलपर वान थिन्ह फाटका अध्यक्ष ल्यानलाई बिहीबार हो चि मिन्ह सिटीमा सुनुवाइको अन्त्यमा घोटाला, घुसखोरी र बैंकिङ नियमहरूको उल्लंघन गरेको दोषी पाइएको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अल जजिराले बताएको छ ।

गत वर्ष सन् २०२२ मा ल्यानको गिरफ्तारी सन् २०१६ मा सुरु भएको भ्रष्टाचारविरोधी अभियानमा सबैभन्दा हाई–प्रोफाइल गिरफ्तारीमध्येको एक थियो । सन् २०२२ पछि उक्त अभियानले गति लिएको छ ।

कथित ब्लेजिङ फर्नेस अभियानको परिणामस्वरूप सयौँ अधिकारीहरूलाई दण्डित वा कारागार सजाय गरिएको छ । यसबाट भियतनामी राजनीतिमा उच्च तहलाई असर गरेको छ । यसमा दुई राष्ट्रपति र दुई प्रधानमन्त्रीको राजीनामा पनि समावेश छ ।– रासस एएफपी

प्रतिक्रिया