मिहिनेतीलाई बाधक बन्दैन अपांगता !

काठमाडौँ । नेपाली समाजमा शारीरिक अपांगता भएका व्यक्तिलाई हेर्ने नजर अझै बदलिन सकेको छैन । शारीरिक रूपमा कुनै अपांगता भएका व्यक्ति देख्नासाथ हेयको दृष्टिले हेर्ने, ‘यसले के काम गर्न सक्छ र !’ भन्ने, कुनै अवसर दिन नखोज्ने समस्या अझै यथावत् देखिन्छ ।
समाजको त परको कुरा, अपांगता भएका व्यक्तिले आफ्नो घरबाटै भेदभाव भोग्नुपरेका घटना हामीले देख्दै–सुन्दै आएका विषय हुन् । अपांगता भएका र सबलांग बच्चाबीच नै हरेक कुरामा भेदभाव परिवारबाटै हुन्छ । खानेकुरा, कपडा, शिक्षादीक्षालगायत कुरामा जन्मदेखि नै भेदभावको सिकार बन्छन् अपांगता भएका व्यक्तिहरू ।

तर, इच्छाशक्ति, मिहिनेत र साथसहयोग पाउने हो भने शारीरिक रूपमा अशक्तता भएका व्यक्तिहरू पनि सबलांगभन्दा कम छैनन् भन्ने उदाहरण बनेका छन्– खोटाङका भक्तबहादुर विश्वकर्मा, उमेश राई र सूर्यमाया लिम्बू । उनीहरू तीनै जनाको आँखाको दृष्टि छैन । तर, उनीहरू दृष्टि भएका अन्य व्यक्तिहरूसँग प्रतिस्पर्धा गरेरै अब्बल ठहरिए । उमेश र सूर्यमाया पति–पत्नी हुन् ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३० वर्षीय भक्तबहादुर विश्वकर्माले ८ वर्षको उमेरमा दृष्टि गुमाएका थिए । टाउकोमा आएको पिलोका कारण उनको दृष्टि गुमेको परिवार बताउँछन । पिलो आएपछि स्वास्थ्यचौकी बाक्सिलामा गएर पिलो फुटाउने क्रममा आँखाको नसा बिग्रेर उनी कहिल्यै बाहिरी संसार देख्न नसक्ने भए ।

दिक्तेल बहुमुखी क्याम्पसमा इपिएम (एजुकेसन म्यानेजमेन्ट प्लान)मा स्नातकोत्तर पढिरहेका उनले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणीको परीक्षामा खुला, दलित र अपांग गरी ३ वटै समूहमा नाम निकालेका छन् ।

पहिलो पटक शिक्षक सेवा आयोगको परीक्षा दिएका विश्वकर्माले शिक्षा विकास तथा समन्वय एकाइबाट मंगलबार नियुक्तिपत्रसमेत बुझिसकेका छन् ।

कक्षा १० मा अध्ययनरत नवराज भट्टराईलाई लेखक सहयोगी राखेर परीक्षा दिएका विश्वकर्माले दोस्रो पेपरमा ११० जनाले परीक्षा दिएकामा ७८ जना उत्तीर्ण हुँदा ४९औँ नम्बरमा नाम निकालेका थिए । अरूले पढेर सुनाएको भरमा आयोगको परीक्षा उत्तीर्ण गरेका उनी दिक्तेलस्थित सुर्केडाँडा आधारभूत विद्यालय बाम्राङमा सिफारिस भएका छन् ।

२०६९ सालमा आफ्नै गाउँ खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका विश्वकर्मा २ वर्षअघिदेखि दिक्तेल इंग्लिस बोर्डिङ स्कुलमा संगीत शिक्षकका रूपमा कार्यरत छन् । २०६५–६६ र २०६७ सालसम्म ३ वर्ष श्री संगीत पाठशाला डिल्लीबजार काठमाडौँमा बसेर संगीत सिकेका अहिले साइनो कला केन्द्र खोटाङका अध्यक्ष छन् ।

२०७१ सालदेखि संगीतमा लागेका विश्वकर्माका ६ वटा गीत रेकर्ड पनि भएका छन् । गीतसंगीतसँगै अध्ययनलाई समेत निरन्तरता दिँदै आएका विश्वकर्मा दृष्टिविहीन भएर पनि शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर स्थायी शिक्षक बनेर धेरैका लागि प्रेरणाका स्रोत बनेका छन् ।
कक्षा ८ मा अध्ययन गर्दै गर्दा वैवाहिक जीवनमा बाँधिएका विश्वकर्माको श्रीमतीसहित १ छोरा र १ छोरी छन् । वाद्यवादनमा समेत उत्तिकै दखल राख्ने विश्वकर्माले साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी वेदना राईसँग १२ वर्षअघि अन्तरजातीय विवाह गरेका हुन् ।

आँखामा दृष्टि नभए पनि व्याख्यान, प्रश्नोत्तर र छलफल विधिबाट कक्षा शिक्षण गर्ने विश्वकर्माले बताएका छन् । ‘घरमा पूर्वतयारी गरेर कक्षामा प्रवेश गर्छु । कक्षामा विद्यार्थीलाई पाठ वाचन गर्न लगाएर पनि सिकाउनेछु,’ उनले भने, ‘मसँग ट्युसन पढाएको अनुभव पनि छ । जस्तै बोटबिरुवाको विषयमा पढाउने हो भने बोटबिरुवा लगेर जरा, काण्ड, पात, फूललगायत देखाएर पढाउन सकिन्छ ।’

यस्तै, खोटाङकै केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका दृष्टिविहीन उमेश राई र उनकी पत्नी सूर्यमाया लिम्बूले पनि विश्वकर्मासँगै स्थायी शिक्षकमा नाम निकालेका छन् । उनीहरू दुवै जनाले शिक्षा विकास तथा समन्वय एकाइको कार्यालय खोटाङबाट सोमबार नियुक्ति पत्र बुझेका छन् ।
जन्मजात दृष्टिविहीन राई दम्पतीले मंगलबार केपिलासगढी गाउँपालिकाबाट पदस्थापना पत्रसमेत लिइसकेका छन् । राई केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित शुक्रजित मावि र लिम्बू केपिलासगढी गाउँपालिका–३ बास्पानीको मनोकामना आधारभूत विद्यालयमा सिफारिस भएका हुन् ।

स्थायी शिक्षकमा नाम निकाल्न सफल दृष्टिविहीन राई दम्पती दुवै जनाले सहयोगी राखेर परीक्षा दिएका थिए । राई १ वर्षदेखि भगवती मावि बेलबारीमा मावि राहत शिक्षकमा कार्यरत थिए । उनकी श्रीमती लिम्बू भने हालसम्म पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा अध्यापन गरिरहेकी थिइन् । खोटाङबाट धरान झरेका राई र बराहक्षेत्र नगरपालिका चक्रघट्टी, सुनसरी निवासी लिम्बूबीच २०७७ सालमा विवाह भएको थियो ।

राई आँखाको उपचारका सिलसिलामा बाल्यवस्थामै धरान झरेको सुनाउँछन् । धरानले राईको आँखाको ज्योति त फर्काउन सकेन, तर उनलाई उचित शिक्षा दिलायो । स्थायी शिक्षकमा नाम निस्केपछि राई श्रीमतीसहित गाउँ फर्किएका छन् । दृष्टिविहीन विश्वकर्मा र राई दम्पतीको सफलताले सबलाांग व्यक्तिका लागि चुनौती थपिएको छ । मिहिनेत गर्नेका लागि सफलता चुम्न शारीरिक अपांगताले नछेक्ने विश्वकर्मा र राई दम्पतीको सफलता उदाहरणीय बनेको छ ।
गत जेठ २० गते पहिलो पेपर, असोज १३ गते दोस्रो पेपरको लिखित परीक्षा तथा फागुन २९ गते अन्तर्वार्ता भएको शिक्षक सेवा आयोगको परीक्षामा विश्वकर्मा र राई दम्पतीसँगै ७८ जना स्थायी शिक्षक भएका छन् । १० स्थानीय तह रहेको जिल्लामा ९२ जना माग भएकामा ७८ जनाले मात्र नाम निकाल्न सफल भए ।

प्रतिक्रिया