रौतहट । मुस्लिम धर्मावलम्वीले बिहीबार इद–ऊल–फित्र मनाउँदै छन् । एक महिना लामो पवित्र रोजा व्रत बसेर मुस्लिम धर्मावलम्वीले बुधबार साँझ चन्द्रमाको दर्शन गरी बिहीबार मुख्य पर्व इद–ऊल–फित्र मनाउँदै छन् ।
२९ दिन लामो रोजापछि मनाइने पवित्र इद–ऊल–फित्रको दिन मुस्लिम धर्मावलम्बीले मस्जिदमा सामूहिक नमाज पढ्ने गर्दछन् । कतिपय ठाउँमा इदगाहमा सामूहिक रूपमा नमाज पढ्ने चलन पनि रहेको छ । मुस्लिम समुदायले दुई रिकात नमाज पढेपछि पवित्र रमजान महिनाको समापन भएको भन्दै इद–ऊल–फित्रको शुभकामना आदानप्रदान गर्दछन् । उर्दु पात्रोअनुसार रमजानलाई नवौँ महिनाको रूपमा लिइएको छ ।
नमाज पढेपछि एकापसमा अंकमाल गर्दै खुसी साटासाट गर्ने मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व इद–ऊल–फित्रको अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । यसै गरी मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पवित्र रमजान महिनाको समापनसँगै बिहीबार मनाइने इद–ऊल–फित्रको शुभकामना दिएका छन् ।
मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व इद–ऊल–फित्रको अवसरमा नेपाल टेलिकम र एनसेलले आफ्नो कलर ट्युनमा इदको धुन बजाएर पर्वको सम्मान गरेका छन् ।
देशको सबैभन्दा बढी मुस्लिम जनसंख्या रहेको रौतहटमा इद–ऊल–फित्रको भव्य तयारी गरिएको छ । मस्जिद तथा इदगाहहरू सजाइएका छन् भने घरघरमा पर्वको तयारी गरिएको छ । नयाँ लुगा लगाएर नमाज पढ्ने मुस्लिम धर्मावलम्बीले पर्वमा सामूहिक एकता देखाउने गर्दछन् ।
प्रतिक्रिया